लुम्बिनीमा श्रीलंकाली पञ्चै बाजा

मनोज पौडेल

लुम्बिनी — बुद्धस्थल लुम्बिनी श्रीलंकाली बाजागाजाले यसरी तरंगित भइरहेको थियो, श्रीलंकाली बाहेकका आगन्तुकहरूको अनुहार कौतूहल सजिलै पढ्न सकिन्थ्यो ।

लुम्बिनीमा कठिनदान पूजाका क्रममा बाजागाजा बजाउँदै श्रीलंकाली कलाकार । तस्बिर : मनोज पौडेल/कान्तिपुर



श्रीलंकाबाट कठिनदान पूजा गर्न आएको सयभन्दा बढी श्रद्धालुको टोलीमा यो कलाकार समूह पनि थियो । श्रीलंकाली उपासक–उपासिकाहरू कलाकार समूहलाई अघि लगाउँदै सोमबार बिहान मायादेवी मन्दिर दर्शन गर्न पुगेका थिए । उनीहरूसँग सानो बुद्धमूर्ति र अष्टधातु थिए ।

आकर्षक पहिरनका कलाकारहरूको धुनमा नतानिने बुद्ध अनुयायी देखिएनन् । कलाकार चार जना थिए । तर, पाँच बाजा बजाएका थिए— आतत, वितत, वितत्तातल, धन र सुषिर । सहनाई जस्तो सुषिरको धुन भावुक सुनिइरहेको थियो ।


‘भगवान् गौतम बुद्धको मृत्यु हुँद देवलोकमा यिनै बाजा बजाएर स्वागत गरिएको जनविश्वास छ,’ लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीवजिर प्रेमले भने, ‘त्यही भएर श्रीलंकामा यी बाजालाई धेरै सम्मान गरिन्छ ।’


उपप्राध्यापक प्रेमका अनुसार श्रीलंकाको सबैभन्दा ठूलो पर्व असार पूर्णिमा क्यान्डीमा निकालिने शोभायात्रामा यिनै बाजा बजाइन्छन् । ‘यी बाजा श्रीलंकामा विषेश गरी उत्सव, शुभकार्य, भोजनदान र खुसीको बेला श्रीलंकामा बजाइन्छन्,’ श्रीलंकामा पढेर आएका उनले भने, ‘नेपालमा पञ्चै बाजाजस्तै लोकप्रिय छ त्यहाँ ।’


‘यी बाजा र बजाउने कलाकारको श्रीलंकामा धेरै माग छ,’ कोलम्बो सौन्दर्य विश्वविद्यालयका सहायक प्राध्यापक एसए रवीनन्दनले भने, ‘त्यही भएर यो पवित्र बाजासमूह भगवान् बुद्धप्रति समर्पित छ । यी बाजाका धुनले खुसी, उमंग र उत्हास थप्छ ।’

कलाकार एचटीएस दिसानायकेका अनुसार, बुद्धसम्बन्धी हरेक गतिविधिमा श्रीलंकामा यी बाजा बजाइन्छन् । ‘भगवान् बुद्धको जन्मस्थललाई पवित्र धुनले तरंगित गर्न पाउँदा निकै खुसी छु,’ उनले भने, ‘साँच्चिकै आत्मिक शान्ति सञ्चय गरेँ ।’


नव मैत्रीमहाविहारबाट बाजा बजाउँदै निस्केको र्‍याली मायादेवी मन्दिरमा पूजाआजा गरी पुष्कराणी पोखरी परिक्रमा गरेर फेरि उक्त विहारमा फर्केको थियो । बुद्ध धर्मावलम्वीको महत्त्वपूर्व पर्व तीनमहिने वर्षावास हो । असारदेखि असोज पूर्णिमा ३ महिनासम्मलाई वर्षावास भनिन्छ । वर्षावास सकिएको एक महिनाभित्र कठिनदान गरिन्छ । प्रकाशित : कार्तिक २१, २०७५ १०:३१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भाग्यवादमा देवकोटाको विश्वास

सन्दर्भ : देवकोटा जयन्ती
ज्ञाननिष्ठ ज्ञवाली

काठमाडौँ — भाग्यवादका विविध रूप देखाएर देवकोटाले पूर्वीय दर्शनमा आधारित भाग्यवादी जीवन चिन्तनलाई शाकुन्तलमार्फत प्रस्तुत गरेका छन् ।

पूर्वीय दर्शनमा कर्म सम्बन्धी चिन्तन पाइन्छ । कर्मलाई भाग्य, प्रारब्ध, नियति, तकदिर, विधि, कर्मरेखा, कर्मलेखा, विधिको विधान, नियतिगति, भावीको लेखा, लेखान्त, हुनेहुनामी जस्ता शब्दबाट बुझिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा भाग्यवादी जीवन चिन्तनलाई महत्त्व दिएका छन् । आफू जन्मे–हुर्केको माइती देश छाडेर पराईको नौलो घर
जानुपर्ने नारी (शकुन्तला) जीवनको स्थितिलाई कुठारकर्मका कारण यसो भएको हो भन्ने मान्यता यसरी प्रस्तुत भएको छ :
भन चारु सखे प्रियम्वदा
म बढो एक लता बनी यता
तर आज कुठार कर्मको
पर लैजान्छ हरे † कता कता †
(सर्ग १९, श्लोक ७७)
प्रस्तुत अंशमा शकुन्तला आफ्ना प्रिय सखीहरूसँग टाढिनुपर्ने, आफ्नो जन्मघर छाड्नुपर्ने, अन्त कतै पराई घर जानुपर्ने कुरालाई कर्म वा भाग्यको खेल मानिएको छ ।
शकुन्तला राजा दुष्यन्तको दरबारमा पुगेपछि राजाले उनलाई नचिन्नु पनि भाग्य (विधि) कै खेल भएको कुरा तलका हरफहरूमा पाइन्छ :

झन्–झन् त्रास बढेर आस नहुँदी त्यक्ता तिनी कामिनी
झन्–झन् क्रोध उठेर निष्करुण भई हेर्छिन् अभागी बनी
(सर्ग २१, श्लोक १०७)
आफ्नै नेत्र अगाडि छन्, सुख तिनी लागी मिहीं बादल
देख्दैनन् विधि खेलले जुन थिइन् संसारकी मोहिनी
आत्माझैं विषयादि आवरणले ढाकेर अन्धा हुँदा
आफ्नो दौलतबाट वञ्चित बने टुना बनी निर्दयी
(सर्ग २१, श्लोक ११२)
हा † उल्टो विधिको प्रपञ्चकटुता लीला अहो धन्य छ
(सर्ग २१, श्लोक ११३)
ज्युँदो राख्नुछ क्रूर कर्मविधिको संसार कस्तो अहो †
(सर्ग २१, श्लोक १३२)
यौटा शापविषे क्रिया छ, विधिको खुल्नेछ सारा हरे †
(सर्ग २१ श्लोक १३५)
यो हो निर्दयता र ? हैन विधिले खेल्दो छ माया रची
(सर्ग २१, श्लोक १३६)
यस्तो चाल छ, कालको र विधिको भन्ने बुझे यै क्षण
(सर्ग २१, श्लोक १३८)
माथिका हरफहरूमा शकुन्तलाकै भाग्यका कारण यस्तो परिस्थिति आएको कुरा उल्लेख छ । शकुन्तला जस्ती सुन्दर पत्नीलाई दुष्यन्तले नचिन्नु पनि विधिकै खेल हो । जसरी विषय वासनामा भुलेर मानिस आत्मालाई चिन्न सक्दैन वा आत्मामा विषयको आवरण लागेर अन्धो हुन्छ, त्यस्तै दुष्यन्त पनि विधिकामा परेकाले यस्तो भएको छ । विधिको विधान लीलामय छ । यो संसारमा मानिस कर्मविधिकै वशमा छ । यसले माया रचेर मानिसलाई उथल–पुथल पारेको छ । यो मानौं कालकै जस्तो स्वरूप भएको छ भन्ने भाग्यको स्थिति यहाँ देखाइएको छ । यहाँका सन्दर्भमा दुर्वासाको श्राप एक प्रकारले दुष्यन्त र शकुन्तलाको भाग्य निर्माण गर्ने कारण बनेको उल्लेख छ ।
शकुन्तलाको औंठी नियतिसरि हराउनु (सर्ग २१, श्लोक २०९), रानी बन्नुपर्ने शकुन्तलाको अभागी जीवन देखिनु (सर्ग २१, श्लाक २१०), शकुन्तला पथरा (अलपत्र, निराश्रय) बन्नु (सर्ग २१, श्लोक २१६), कर्मले वैलिनु (सर्ग २१, श्लोक २२५), क्रूर कर्मकै निठुरता सहन गर्नु (सर्ग २१, श्लोक २२७), शकुन्तलाले कर्म फुटेर मृत्युको पुकारा गर्नु (सर्ग २१, श्लोक २२८) यी सबै स्थितिलाई देवकोटाले भाग्यवादी जीवन चिन्तनका सन्दर्भमै प्रस्तुत गरेको पाइन्छ । फेरि सर्ग बाइसमा जब दुष्यन्तलाई किसानमार्फत हराएको औंठी प्राप्त हुन्छ, त्यतिबेला दुष्यन्त पनि दैव (भाग्य) लाई नै जीवनको मूल तत्त्व ठान्छन् । ‘हा † हा † दैव बनाउँछस् तँ सपनाजस्तो त्यसै जीवन’ (सर्ग २२, श्लोक १९) । दुष्यन्तले शकुन्तलालाई अभागी देख्नु (सर्ग २२, श्लोक २२), किसानले बेइमानी दैवका कारण शकुन्तला रानी नबनेकाले पीडा व्यक्त गर्नु (सर्ग २२, श्लोक ३८) पनि भाग्यवादी
जीवनका प्रसङ्ग हुन् ।

यता दुष्यन्तले स्वर्गमा भएको दानव र देवताको युद्धमा विजय प्राप्त गर्दा नियतिलाई अमर मान्नुचाहिँ सांसारिक क्षणिक सुखमा भाग्य पनि राम्रो मानिने र त्यो पनि प्रारब्ध वा कर्मफलबाट प्राप्त भएको हो भन्ने भाग्यवादी जीवन चिन्तन उल्लेख गरिएको छ । दुष्यन्तले शकुन्तलालाई खोज्दै हिँड्दा दैवलाई पुकारा गर्नु (सर्ग २४, श्लोक १०), शकुन्तलासँग वियोग हुनुपर्दा भाग्यलाई दुष्यन्तले उल्टो, कडा र निष्ठुर देख्नु (सर्ग २४, श्लोक २१), आफूले शकुन्तलालाई बिर्सनु विधिको सिकार भएको कारण दुष्यन्तले व्यक्त गर्नु (सर्ग २४, श्लोक ५१), फेरि आफू बाँचेको श्रेय पनि विधि (भाग्य) लाई नै मान्नु (सर्ग २४, श्लोक ५६) शाकुन्तल महाकाव्यमा व्यक्त गरिएका भाग्यवादी दृष्टिकोण हुन् । भाग्यवादका विविध रूप देखाएर देवकोटाले पूर्वीय दर्शनमा आधारित भाग्यवादी जीवनचिन्तनलाई शाकुन्तलमार्फत प्रस्तुत गरेका छन् ।शाकुन्तलमा आशावादी जीवन चिन्तनलाई पनिमहत्त्व साथ प्रस्तुत गरिएको छ । उनी सर्ग एकमा यसको सङ्केत यसरी गर्छन् :
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्भिँmदै
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै

प्रस्तुत अंशमा जाडोयाममा कोइलीले फूलका वासना सम्भँmदै उत्तर (वसन्त ऋतुका दिन) दिन सम्भँmदै चिसोलेकठ्याङ्ग्रिए पनि सुखको कल्पना गर्दै आशावादी बन्ने प्रसङ्ग छ । उही प्रसङ्गलाई देवकोटाले एकैपटक सर्ग १९ मा पुगेर दुष्यन्त र शकुन्तलाको वियोग, त्यसपछि शकुन्तला दुष्यन्तको दरबारतिर जाने प्रसङ्गमा जोडेका छन् ।
उदास पत्ती अब झर्न थाले
वसन्त आशातरुमा फुलेर
रूँरूँ गरेको अवरुद्ध बल्ली
झल्की सफा शीत झिलझिल हल्ली
(सर्ग १९, श्लोक ५)
आशा छ, बोल्दी वनका चरामा
आशा छ, खुल्दी सुन–टाकुरामा
आशा रूँदी जो दिलभित्र बस्थी
झल्केर चक्की जलका कणामा
(सर्ग १९, श्लोक ६)
माथिका पद्यमा एकातिर ऋतु परिवर्तनको स्वाभाविक प्रक्रियालाई देखाइएको छ भने दु:खपछि सुखको आशा गरिने र सुखदु:ख चक्रवत् हुन् भन्ने कुरालाई अर्कातिर सङ्केत गरिएको छ । यही सुखको आशामा मानिस यो संसारमा बाँचिरहेको छ, बाँच्ने चाहना गर्छ भन्ने आशावादी जीवनको कुरा छ । यो आशा फेरि केवल दु:खपूर्ण छ, क्षणिक छ, त्यसले एउटा तहसम्म पुर्‍याउला, तर वास्तविक सुख हुँदैन भन्ने पूर्वीय दर्शनको चिन्तन पनि छ ।

शकुन्तला दुष्यन्तको दरबारमा पुगेपछि पनि दुष्यन्तले नचिन्दा र वास्ता नगर्दा आफ्नो नाम लिएर बोलाउँछन् कि भनी आशा गर्नु (सर्ग २१, श्लोक ३८), दरबारको ढोकामा पर्खनु (सर्ग २१, श्लोक ४९) अन्त्यमा सबैले छाडेर जाँदा निकै पीडादायी अवस्था हुँदा आशामा बाँधिनु र मन सम्हाल्नु (सर्ग २१, श्लोक १२५), राजाले आफूलाई छक्काएको होला भनेर अझै आशामा बाँधिनु (सर्ग २१, श्लोक १५२), जति निष्ठुर राजा भए पनि पुन: शकुन्तलाले मृदुल–शब्द–सुभाष–धारा (कोमल शब्दमय मिठो बोलीका धारा) का साथ आशापूर्वक आफूलाई आश्रय देलान् भन्नु (सर्ग २१, श्लोक १६६) यी सबै आशाका लक्षण हुन् ।

आफ्ना पतिसँग विछोड भएर कश्यप ऋषिका आश्रममा छोरो भरतसहित गेरुवस्त्र लगाएर शकुन्तला बसेकी छन् । उनले अझै छोरो भरतलाई हेरेर जति कष्ट भए पनि जीवन बाँच्ने आशा गर्नु आशावादी जीवन चिन्तनको पराकाष्ठा मान्न सकिन्छ । मानवीय जीवनमा विश्वासले ठूलो महत्त्व राख्छ । विश्वासका भरमा मान्छेको जीवन अडेको छ । कतिपय विश्वास लोकव्यवहारका हुन्छन् भने कतिपय विश्वास यसभन्दा पृथक हुन्छन् । कतिपय लोकविश्वास लोकव्यवहारमा रहेको पाइन्छ ।

महाकवि देवकोटाले शाकुन्तल महाकाव्यको १६ औं सर्गको अन्त्यमा एउटा सन्दर्भमा मात्र लोकविश्वास सम्बन्धी धारणा प्रस्तुत गरेका छन् । यो विश्वास स्वर्गका अप्सरा मेनकाका माध्यमबाट व्यक्त गरे पनि यो वस्तुत: पृथ्वीका मानिसमै हुने विश्वास हो । निम्नलिखित पङ्क्तिहरूमा विश्वास केन्द्रित जीवन चिन्तनलाई व्यक्त गरिएको छ :
दृश्य त्यो तर झलक्क भएर
अल्पियो तनु निमेष हुँदैन
पत्रदार गिरिमा जलजस्तो
एक शुभ्र कुइरो हुनआयो
(सर्ग १६, श्लोक ५६)
के अलच्छिन भयो कुइरो यो
के भविष्य तिनको बदलिन्छ
यो विचारसित चिन्तित चार
अप्सरा महलतर्फ सिधारिन्
(सर्ग १६, श्लोक ५७)
माथिका हरफहरूमा प्रकृतिकै काखमा प्रकृति नै व्यवस्थापक भएर दुष्यन्त र शकुन्तलाको विवाह हुन्छ । त्यसपछि मेनकाले आफ्नै छोरी शकुन्तलाको बिहे हेरेका समयमा कुइरोले छेकिदिन्छ । स्वर्गबाट पृथ्वीमा हेर्दा जलजस्तो कुइरोले छेकेपछि आफ्नी छोरी शकुन्तलाको भविष्य बदलिन्छ कि वा जीवनमा अनिष्ट आउँछ कि भनी शङ्का र चिन्ता व्यक्त गरेकी मेनकाका माध्यमबाट यहाँ विश्वासकेन्द्री जीवन चिन्तन व्यक्त गरिएको छ ।
लेखक त्रिवि पद्मकन्या बहुमुखीक्याम्पसका उपप्राध्यापक हुन् ।

प्रकाशित : कार्तिक २१, २०७५ ०९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×