पारिजातको त्यो कोठा

कान्तिपुर संवाददाता

ललितपुर — पारिजातको कोठामा छिर्नेमध्ये अधिकांशको ध्यान उनको सिरानीछेउ राखिएका किताबको लहरमा पर्छ ।

त्यहाँ टोनी मरिसनको ‘सङ अफ सोलमन’, सलमान रुस्दिको ‘मिडनाइट्स चिल्ड्रेन’, फ्रेड्रिक एन्जेल्सको ‘एन्टी–दुरिङ’, डोरिस लेसिङको‘द गोल्डेन नोटबुक’, डेनिस लिभर्टपको ‘रिलर्निङ द अल्फाबेट’, कजु इसिंगुरोको ‘एन आर्टिस्ट अन अ फ्लोटिङ वल्र्ड’ लगायत तीन दर्जन किताब छन् ।


‘पारिजात केपढ्दिरहिछन् भन्ने कुरामा धेरैको चासो छ,’ पारिजातको कोठा रुग्न बसेकी एलिना व्यञ्जनकारले भनिन्, ‘उहाँका साथीहरू आउनुभयो भनेचाहिँ यो टेबुल यता थियो, यो दराज उता थियो, यो सामान यस्तो थियो भन्न थाल्नुहुन्छ । पारिजातको कोठा सबैलाई आकर्षण बनिरहेको छ ।’


पाटनको नागबहालस्थित सामुदायिक स्वास्थ्य सेवा केन्द्रको पहिलो तला उक्लिनासाथ सिधै पारिजातको कोठामा पुगिन्छ अचेल । निश्चय नै, यो उनकै कोठा चाहिँ होइन । कात्तिक ३० पछि यो कोठा स्वास्थ्य केन्द्रको पुरानै स्वरूपमा फर्किनेछ ।


फोटो काठमाडौं इन्टरनेसनल फोटो फेस्टिभलका लागि आयोजक फोटो सर्कलले नागबहालमा पारिजातको कोठा रिक्रिएट (पुनर्निर्माण) गरेको हो । ‘आफ्नै एउटा कोठा’ शीर्षक प्रदर्शनीमार्फत महिला स्वतन्त्रताका लागि उनको छुट्टै स्थान हुनु कत्तिको आवश्यक छ भन्नेबारे प्रश्न उठाउन खोजेको आयोजकले जनायो । पारिजातको कोठा छिर्नुअघि ढोकामै टाँसिएको भर्जिनिया वुल्फको यो भनाइ नपढी सुख छैन— ‘महिलालाई बाहिरी संसारसँग सम्बन्ध स्थापना गर्न बन्देज लगाइन्छ भने उनलाई घरभित्रै पनि आफ्नो मात्र भन्न मिल्ने कोठा उपलब्ध हुँदैन ।’


कोठाभित्र एक जना मात्र अट्ने खाट छ, छेउमा टेबुल–कुर्सी छन् । तह–तह भएको काठको भित्ते सो–केसमा खत्र्याङमत्र्याङ सामान छन् । पारिजातका तस्बिर, सम्मान–पत्र र ऐना पनि भुन्डयाइएका छन् । उनले आयोजना गरेको लेखिकाहरूको सम्मेलनका तस्बिर एउटा कुनामा राखिएको छ । सिरानीछेऊको टेबुलमा रातो रङको ल्यान्डलाइन टेलिफोन, रेड लेभलको बोत्तल, गिलास र जीर्ण अवस्थाको रेडियो देखिन्छ । खाटमुन्तिर प्लास्टिकका एक जोडी चप्पल छन् ।


‘यी सबै सामान पारिजातकी बहिनी सुकन्या वाइबामार्फत लिएका हौं,’ फोटो फेस्टिभलमा पारिजातको कोठा हेर्ने जिम्मा पाएकी एलिनाले भनिन्, ‘कार्यक्रम सकिएपछि पारिजात स्मृति केन्द्रमै फर्काउँछौँ ।’


कोठाभित्र पस्नेहरूले पारिजातले संगालेका पुस्तकसँगै उनको हस्तलिपिमा विशेष चासो दिने गरेको एलिनाले जनाइन् । त्यहाँ ‘अनिदो पहाडसँगै’ उपन्यासको हस्तलिखित पाण्डुलिपि उपलब्ध छ । रजिस्टरजस्तो लामो कापीमा नीलो मसीले लेखिएको पाण्डुलिपि हेर्नेहरू दंग पर्ने गरेका छन् ।


फेस्टिभलको ‘सार्वजनिक जीवनमा महिला’ विधाअन्र्तगत पारिजातको कोठा रचना गरिएको हो । यसलाई विम्बका रूपमा प्रयोग गरिरहँदा स्वास्थ्य केन्द्रका अन्य दुई कोठामा भने नेपालमा महिला शिक्षाको विकास क्रम देखाउन खोजिएको छ । शिक्षाका लागि महिलाले गरेको पहल र संघर्षका कथा तस्बिरमार्फत देख्न सकिन्छ । नागबहालमै अर्को विधाको प्रदर्शनी पनि चलिहरेको छ । स्वास्थ्य केन्द्रको ठीक सामुन्ने रहेको ‘कालो १०१’ ग्यालरीमा ‘आइल्यान्ड्स अफ आवर बडिज’ शीर्षकको मल्टिमिडिया कला प्रदर्शनी अवलोकन गर्न सकिन्छ ।


आफ्नो भौतिक शरीरलाई लिएर महिलाहरूका अवधारणालाई फोटो, टेक्स्ट, साउन्ड, भिडियो, साउन्ड इफेक्टहरूमार्फत देखाउन खोजिएको छ । किपा मास्के, सोनम छयोकी लामा र इरिना गिरीको संयुक्त सिर्जना यसमा एकाकार गराइएको छ । विभिन्न विवरणमार्फत शरीर र व्यक्तिबारे बुझ्न/बुझाउन खोजिएको छ । ‘यो फोटो काठमाडौंले नै निर्माण गरेको प्रोजेक्ट हो,’ कार्यक्रममा सुश्रुत आयार्चले भने, ‘शरीरसँगको हाम्रो सम्बन्ध के हो भन्ने थिममा बनाइएको हो ।’

फोटो काठमाडौंअन्तर्गत पुलचोकको लाबिम मल, मंगलबजार, ठमेलको छाया सेन्टर, वसन्तपुरलगायत अनेक प्रदर्शनी चलिरहेका छन् । प्रकाशित : कार्तिक २१, २०७५ १०:५४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खबरदारी देउसीमा हाँसे नेता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा कलाकारहरूले यसरी ‘खबरदारी देउसी’ गीत गाउँदै गर्दा अघिल्तिर स्क्रिनमा मन्त्रीहरू रवीन्द्र अधिकारी, लालबाबु पण्डित, गोकर्ण विष्ट मुसुमुसु हाँस्दै थिए ।

प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित सिस्नुपानी देउसीमा कलाकार । तस्बिर : सुरवीन्द्रकुमार पुन/कान्तिपुर

बालुवाटार छिर्छन् मन्त्री जोस बोकेर जुरुक्क
फर्की आउँदा पर्छन् तिनै किन लुरुक्क
केही गर्न खोज्छन् मन्त्री
सल्लाहकारले छेक्छन् रे
पीएम एक्लै समृद्धिको सपना देख्छन् रे

स्वास्थ्यका कारण प्रधानमन्त्री केपी ओली अनुपस्थित रहे पनि सल्लाहकार टिम भने देउसी हेर्न आइपुगेको थियो । कलाकारको यस्तो कटाक्ष गर्दैगर्दा उनीहरू पनि हाँस्दै थिए ।

तिहारको सन्दर्भ पारेर हाँस्दै र हँसाउँदै मुलुकका विकृति–विसंगतिमाथि झटारो हान्ने ‘प्रज्ञा सिस्नुपानी खबरदारी देउसी’ यसपटक पनि कुकुर तिहारको दिन मंगलबार राजधानीमा सम्पन्न भयो । प्राय: राजनीतिक व्यंग्यमै केन्द्रित हुने देउसीमा यसपटक हाँस्न आउने नेताहरूमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालदेखि प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व उपप्रधानमन्त्री वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा,
कांग्रेस नेता रामचन्द्र पौडेल, गगन थापासम्म थिए ।

सिस्नुपानीका कलाकारहरूलेसरकारदेखि प्राय: सबै पार्टी, सरकारी कर्मचारी र नागरिकसम्मलाई व्यंग्य कसे । आफ्नो नाम लिएर कलाकारहरूले व्यंग्य गर्दा नेताहरू हाँस्थे । अघिल्तिर स्क्रिनका लागि तयार क्यामेराले कैद गरिहाल्थ्यो । यही क्रममा कलाकारहरूले वामदेव गौतमका लागि सिट छोडिदिने रामवीरको प्रसंग निकाले–
देखाउन त खोज्या थे
रामवीर कमरेड दानवीर भै
वामदेवलाई हरियो काँक्रो कसले देला खै
हलमा ताली बज्यो, तर वामदेव अरूजस्तो खुलेर हाँसेनन् । चिउँडोमा हात राखी कलाकारको प्रस्तुति हेरिरहेका वामदेव मुसुमुसु हाँस्न मात्रै खोजे, उनको हाँसोमा कूटनीति देखियो । अलिकति खुलेर तर यस्तै कूटनीतिक हाँसो हाँसे माधवकुमार नेपालले । जब कलाकार गाउँदै थिए–
ल्याङ ल्याङ गदै बिन्ती गर्छन्
माधव र झलनाथ
हाम्रो पालो आउँछ आउन्न भन्देऊ भोलेनाथ

धेरैजसो सरकारप्रतिको व्यंग्यमा केन्द्रित कलाकारहरूले देउसी गीतको सुरुमा भने सकारात्मक पक्षको प्रशंसा गरे । लामो समयपछि मुलुकमा स्थिरता आएको र नौ–नौ महिनामा सरकार बदल्नुपर्ने नियतिबाट जनता मुक्त भएको आशय भट्टयाउँदै सिस्नुपानीका महासचिव टंक आचार्यले भने, ‘आउँदा दिनमा हामीले यसरी देउसी भन्न नपरोस् भन्ने कामना हो । राम्रो काम भए कलाकारले भटारो हानिरहनै पर्दैन ।’
यसपछि देउसी गीत प्रधानमन्त्रीतिर सोझियो । केही महिनाअघि मात्रै प्रधानमन्त्रीले कार्यकर्तालाई ‘अरिंगालजस्तै जाइलाग्न’ दिएको निर्देशनप्रति कलाकारले व्यंग्य कसे–
यसपालि त हाम्लाई देउसीखेल्न मनै थिएनअरिंगालले चिलेर बस्नै दिएनकलाकारहरूले सुनकाण्डमा सुस्ताएको छानबिन, निर्मला हत्याकाण्डको ढिलासुस्ती, सिन्डिकेट, रेलमार्ग, ग्यास पाइपलाइन, ठेकेदारको दबदबा, आफ्नै डोजरलाई बाटोको जिम्मा लाउने वडाध्यक्ष, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यप्रति पनि झटारो हाने । प्रतिपक्षको भूमिकाभन्दा पनि विरोधका लागि विरोध गर्ने कांग्रेसको कार्यशैलीमाथि व्यंग्य गर्दा गगन थापाले कूटनीतिक हाँसो हाँसे । कलाकार भन्दै थिए–
केसी अनसन बस्नाले कांग्रेसले पायो काम
तिनले जुस खाएपछि कांग्रेस ठन्डाराम
देउसीको सुरु भने मुलुकका विभिन्न समुदायको मौलिकता झल्किने नृत्यबाट गरिएको थियो । संस्कृतबाट सुरु गीतहरू पूर्व, पश्चिम, तराई हुँदै पहाड उक्ले पनि हिमाल भने चढ्न सकेनन् । हिमाली स्वादको संगीत र नृत्य नसमेट्दा खल्लोपन महसुस हुन्थ्यो । यसपछि राजा राजेन्द्रले पाका गायक जेबी टुहुरेको ‘आमा दिदीबहिनी हो...’ बोलको गीतलाई नेता र मुलुकको राजनीतिसित जोडेर सानदार प्यारोडी पस्के । यो गीतमा पनि प्राय: नेताहरू हाँसे ।

कार्यक्रमको मध्यमा प्रस्तुत गरिएको प्रहसन ‘फराँस’ अघिल्ला वर्षहरूको भन्दा केही कमजोर देखिन्थ्यो । यद्यपि प्रधानमन्त्री ओलीको रूपमा सीताराम कट्टेल ‘धुर्मुस’, प्रचण्डको रूपमा मनोज गजुरेल र शेरबहादुर देउवाको रूपमा दमन रुपाखेतीले गरेको नक्कल प्रशंसायोग्य थियो । स्वर्गकी दूतको रूपमा यो प्रहसनमा प्रस्तुत भएकी कुञ्जना घिमिरे ‘सुन्तली’ प्रति भने दर्शकले ‘बढी नै चिच्याएको’ प्रतिक्रिया दिए । विषयगत हिसाबले यो प्रहसन तीन शीर्ष नेताको चलखेल, सत्ताका लागि गरिने अवाञ्छित प्रयत्नहरू र कुर्सीप्रतिको छिनाझपटीमा केन्द्रित थियो । आशिष दिने क्रममा कलाकारहरूले राष्ट्रपतिलाई पनि छाडेनन् । गाए–
एम्बुलेन्स जाममा नपरोस्,
जुवाडे झयालबाट नझरोस्
टिको थाप्दा लम्पसार पर्नु नपरोस्...

प्रकाशित : कार्तिक २१, २०७५ १०:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×