कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलेका चित्र

कान्तिपुर संवाददाता

धनकुटा — सरकारी जागिरबाट निवृत्त ६२ वर्षीय कलाकार डिल्लीकृष्ण आले रंग र कुचीसँग रमाउन थालेको पनि धेरै भइसक्यो । बाल्यकालदेखि चित्रकलामा रमाउने आले जागिरे जीवनमा समेत चित्रकलामा सक्रिय नै थिए ।

आलेका चित्र

उनै आलेले यति बेला धनकुटा बजारमा आफ्नो एकल चित्रकला प्रदर्शनी सुरु गरेका छन् ।

धनकुटा ७ सिरवनीका आले एक वर्षदेखि दिनहुँ विभिन्न स्थानमा गई बनाएका ल्यान्डस्केपका साथै गाउँ, बस्तीका जीवनशैली, मुहार चित्रलाई उनले प्रदर्शनीमा राखेका छन् । आलेले पानी चित्र, पेन्सिल र अन्य माध्यमका गरी ५६ वटा चित्र प्रदर्शनीमा राखेका छन् । कलाकारिताको माध्यमले राष्ट्रियस्तरको सम्मान तथा पदक प्राप्त गरिसकेका उनी सकुन्जेल सक्रिय रूपमा चित्रकला क्षेत्रमा लागिरहने बताउँछन् ।

‘रंग र कुचीसँगै भाव पक्षलाई समेटेर चित्र उतार्नुको मज्जा नै बेग्लै हुन्छ,’ उनले भने, ‘जीवनसँग जोडिएको चित्र धेरैले मन पराउने हुँदा यसैलाई प्राथमिकतामा राख्ने गर्छु ।’ अग्रज कलाकार लैनसिंह वाङदेल, लेखबहादुर रानामगर लगायतबाट प्रभावित भएर यस क्षेत्रमा क्रियासिल भएको उनले बताए ।


हाम्रो बहुमुखी पाठशालाले संयोजन गरेको उक्त साताव्यापी प्रदर्शनी आलेको पहिलो एकल चित्रकला प्रदर्शनी हो । प्रदर्शनीको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेका थिए । मदन चोक नजिक पाठशालाको भवनमा राखिएको प्रदर्शनीमा दैनिक दर्जनांै सर्वसाधारणले कक्षको अवलोकन गर्दै आएको संयोजक सरोज भुजेलले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?