कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

एजेन्सी

अंकारा — टर्कीको राष्ट्रपति चुनावमा रेसेप तैय्यप इर्दोगान पुनः निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६ विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । इर्दोगानले कुल खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरे भने उनको प्रतिस्पर्धी केमालले ४७.८६ प्रतिशत मत पाएका छन् । मे १४ को पहिलो चरणको निर्वाचनबाट राष्ट्रपतिको टुंगो नलागेपछि दोस्रो चरणको मतदान भएको हो । उक्त चरणमा राष्ट्रपतिका कुनै पनि प्रतिस्पर्धीले ५० प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् ।

इर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

इर्दोगानले २० वर्षयता टर्कीमा शासन गर्दै आएका छन् । यो निर्वाचनले आगामी ५ वर्षका लागि उनलाई झनै शक्तिशाली बनाएको छ । सन् २००३ मा उनले प्रधानमन्त्री सम्हालेका थिए । सन् २०१४ पहिलो पटक टर्कीको राष्ट्रपति भएका उनी तेस्रो पटक उक्त पदमा निर्वाचित भएका हुन् । चुनावी परिणामपछि राजधानी अंकारामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै इर्दोगानले यो निर्वाचनबाट ‘८ करोड ५० लाख जनसंख्या भएको देशले नै जित हासिल’ गरेको बताए । उनले अहिले टर्कीको मुख्य समस्या मूल्यवृद्धि भएको बताए । उनले ‘राष्ट्रिय सपना’ पूरा गर्न एकजुट हुने दाबी गरे । तर, विपक्षी दलप्रति आक्रामक हुँदै उनले आफ्ना प्रतिस्पर्धी केमालमाथि आतंकवादीलाई साथ दिएको आरोप पनि लगाए ।

विपक्षी दलले भने गलत ढंगबाट चुनाव भएको आरोप लगाएको छ । राष्ट्रपतिका प्रतिस्पर्धी केमालले चुनावमा ‘धाँधली’ भएको आरोप लगाउँदै आफ्नो जितका लागि इर्दोगानले सरकारी संयन्त्रको दुरुपयोग गरेको टिप्पणी गरे । उनले टर्कीमा ‘वास्तविक प्रजातन्त्र’ नआएसम्म लडाइँ जारी राख्ने पनि बताए । अघिल्ला कार्यकालमा शिक्षा, स्वास्थ्य र संरचनामा उल्लेखनीय विकास गर्दै देशको अर्थतन्त्रलाई सुदृढ बनाएका इर्दोगान पछिल्लो समय भने ‘निरंकुश’ बन्दै गएको आरोप छ । आगामी दिनमा उनलाई समस्याग्रस्त टर्कीको अर्थतन्त्र सुधार्ने मुख्य चुनौती हुनेछ । टर्कीमा मूल्यवृद्धि बढिरहेको छ भने यही वर्ष भूकम्प आएको क्षेत्रका स्थानीयको जीवनस्तर पुरानै अवस्थामा फर्किन सकेको छैन ।

प्रकाशित : जेष्ठ १६, २०८० ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?