नवजोतसिंह सिद्धू जेलमुक्त

नयाँ दिल्ली — भारतीय कंग्रेस नेता एवं पूर्वक्रिकेटर नवजोत सिंह सिद्धू शनिबार जेलमुक्त भएका छन् । १० महिनाको करागार बसाइपछि उनी बाहिरिएका हुन् ।

सन् १९८८ मै सडकमा पार्किङका क्रममा भएको विवाद र झडपको घटनाका कारण उनी जेल परेका थिए ।
झडपमा चोट लागेका गुरनाम सिंहको निधन भएको थियो । त्यही मुद्दामा गत वर्ष सर्वोच्च अदालतले सिद्धूलाई एक वर्षको जेल र एक हजार जरिवानाको सजाय सुनाएको थियो ।
सुरुमा जिला अदालतले सिद्धूलाई दोषमुक्त गरेको थियो । क्रमशः उक्त मुद्दा माथिल्लो अदालतमा पुग्दै गएर उनलाई एक वर्षको सजाय भएको हो । गत वर्ष १९ मे २०२२ मा सुनाइएको फैसलापछि उनी जेल गएका थिए । जेलभित्र राम्रो व्यवहारका कारण दुई महिना अगाडि उनको रिहाइ गरिएको बताइएको छ ।
प्रकाशित : चैत्र १८, २०७९ १९:३८