फ्रान्ससँगै स्पेन, जर्मनी र बेलायतमा पनि कर्मचारी हडताल : विमान, रेल र बस सेवा प्रभावित- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्ससँगै स्पेन, जर्मनी र बेलायतमा पनि कर्मचारी हडताल : विमान, रेल र बस सेवा प्रभावित

ददि सापकोटा

पेरिस — फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंको सेवा निवृत्तिभरण विधेयकविरुद्ध फ्रान्समा हडताल भैरहेकै बेला युरोपका स्पेन, जर्मनी, बेलायतलगायतका अन्य मुलुकहरुमा पनि हडताल सुरु भएको छ ।

फ्रान्समा कर्मचारीहरूको आन्दोलन । तस्बिर : रोयटर्स

फ्रान्समा फेब्रुअरीदेखि नै हडतालले अवरोध निम्त्याएइरहेका बेला स्पेन, जर्मनी, फ्रान्स र बेलायतमा समेत इस्टर पर्व (अप्रिल ६) लाई दखल पर्ने गरी यातायात मजदुरहरूले औद्योगिक हडताल गर्ने सार्वजनिक गरेका हुन् ।

स्पेनका केही व्यस्त एयरपोर्टहरूले अहिलेनै ग्राउन्ड सेवाहरू र कार्गो ह्यान्डलिङ कम्पनी खासगरी स्विसपोर्टमा युनियनका कामदारहरूले हडतालको सामना गरिरहेका छन् । त्यसलाई इस्टरसम्म पुग्दा झनै चर्काउने उनीहरूले बताएका छन् । प्रत्येक सोमबार, मंगलबार र बिहीबार २४-घण्टा कामबाट बाहिरिनका लागि आम कर्मचारीहरुलाई आह्वान गरेका छन्।

स्विसपोर्ट ह्यान्डलिङले स्पेनको राजधानी म्याड्रिडदेखि बाराजास, बार्सिलोनादेखि एल प्राट, आलिकान्ते, भ्यालेन्सिया, ग्रेन्ड क्यानारिया लगायत २७ वटा एयरपोर्टहरूमा सेवाहरू प्रदान गर्दछ ।

हडताल जारी राखेपनि युनियनहरुले न्यूनतम सेवा भने प्रदान गर्नुपर्ने छ । त्यसलाई स्पेनी कानुनले निर्दिष्ट गरेको छ । तर कानुनत : न्यूनतम सेवा दिने भनिएकाले बाँकी सेवा हडतालले प्रभाव पार्ने र त्यसले कति असर गर्छ भन्ने स्पष्ठ हुन बाँकी रहेको स्पेनको अल्पाइस अखबारले उल्लेख गरेको छ ।

फ्रान्समा पेन्सन हडताल जारी

फ्रान्सभरका मजदुर युनियनहरूले कानुनी सेवानिवृत्तिको उमेर ६२ बाट ६४ सम्म बढाउने योजनाविरुद्ध हडताल मंगलवारपनि जारि राखेका छन् । बुधबार झनै कडा रुपमा प्रस्तुत हुने फ्रान्सको सर्वाधिक ठूलो मजदुर युनियन सिजिटीले उल्लेख गरेको छ । यो हडतालमा सुरुमा रेलवे कर्मचारी र एयरपोर्ट कर्मचारीहरू थिए जसमा पेरिसको ओर्ली एयरपोर्टबाट ३० प्रतिशत उडानहरू हडतालको अन्तिम दिन रद्द गरिएको थियो ।

बुधवार (१५ मार्च) हडतालको आठौं दिनका दिन झन कडा हडताल गर्ने भनिएको छ र यसैदिन संयुक्त अधिराज्य (बेलायत) का सीमा सुरक्षा कर्मचारीहरुले पनि औद्योगिक कारबाही गर्ने सार्वजनिक गरेका छन् । युरोपभरि तीव्र गतिको रेल चलाउँदै आएको युरोस्टारले यहि हडतालका कारण केही सेवाहरु रद्द गर्दै आएको छ ।

यसैबीच युरोपकै अति व्यस्त विमानस्थलमध्ये एक बेलायतको हिथ्रो विमानस्थलका कामदारहरूले इस्टर हडताललाई मध्यनजर गर्दै हडतालका विषयमा मतदान गर्ने भएका छन् । हिथ्रो एयरपोर्टमा काम गर्ने ३ तीन हजारभन्दा बढी सुरक्षा गार्ड, इन्जिनियर र अग्निनियन्त्रकहरूले हाल कम तलबमा काम गरिरहेकाले हडताल गर्ने कि नगर्ने भन्नेमा मतदान गर्ने भएका हुन् । कामदारहरुले तलब र सेवासुविधा कम रहेकाले हडताल गर्ने सम्भावना बढी रहेको र हडताल भएमा त्यसले आगामी इस्टर पर्वामा यातायातलाई असर गर्ने सामाचारमा जनाइएको छ ।

बुधबार बेलायत आइपुगेका यात्रुहरूले एयरपोर्ट, रेल स्टेसन र फेरी (समुद्री डुंगा) पोर्ट राहदानीको जाँचमा लामो लाइन बस्नुपर्ने छ । किनभने बुधबार बेलायतमा सार्वजनिक तथा वाणिज्य सेवा संघले हडताल आह्वान गरेको छ । यसमा सीमा बलका कर्मचारीहरू समावेश छन् र करिब एक लाख कर्मचारीले हडताल गर्ने बेलायती मिडियाले उल्लेख गरेका छन् । उनीहरुको हडतालले १५ मार्च दिनभर अवरोध सिर्जना गर्ने छ ।

सैनिक कर्मचारी, निजामती कर्मचारी र सरकारी स्वयम्सेवकहरूलाई बेलायतभरका विमानस्थल र बन्दरगाहहरूमा सीमा बललाई सहयोग गर्न तालिम दिइँदैछ। सरकारी कर्मचारीहरुले हडताल गरेको गर्‍यै गरिरहँदा सरकारले विकल्प सोचेको छ । कर्मचारीहरुले गत क्रिसमस पर्वमा पनि हडताल गरेका थिए ।

फ्रान्सेली कर्मचारीहरुको हडतालले बेलायतमा पनि निकै ठूलो अवरोध निम्त्याउन सक्ने बेलायती गृह मन्त्रालयले चेतावनी दिएको फ्रान्स २४ टिभीले मंगलबार साँझ उल्लेख गरेको छ । फ्रान्सेली सीमा रक्षकहरुले हडताल गरिदिँदा फ्रान्सबाट बेलायततिर धेरै आप्रवाशी अवैध रूपमा प्रवेश गर्न सक्ने सम्भावना रहेको औंल्याइएको छ ।

यसैगरी जर्मन एयरपोर्टका कामदारहरूले तलब कम भएको र काम गर्ने समय र तरिका असजिलो भएको भन्दै हडताल सुरु गरेका छन् । सोमबार १३ मार्चमा उनीहरुले बर्लिन, ह्याम्बर्ग र ब्रेमेनमा हडताल गरेका थिए जसबाट ४५ हजार यात्रु प्रभावित हुनेगरि उडान रद्द गरिएको थियो । उनीहरुले यो हडताल जारी राख्ने चेतावनी दिएको जर्मनीको डि डब्ल्यु न्युजले उल्लेख गरेको छ ।

कर्मचारी युनियनहरूले हालसम्म रोजगारदाताहरूले गरेका प्रस्तावहरू अपर्याप्त रहेको भन्दै हडताल फिर्ता लिन अस्वीकार गरेका छन्। अर्को चरणको वार्ता मार्च २७ मा हुने तय भएको छ र त्यस दिनसम्म हडताल जारि रहने उल्लेख छ । वार्ता असफल भए थप हडताल हुने सम्भावना छ । त्यसैगरी इटालीको बिभिन्न एयरपोर्टका कर्मचारीहरू पनि राष्ट्रव्यापी हड्तालमा सहभागी हुने भएका छन् । जोर्नाली इटालियानी अखबारका अनुसार १७ मार्चमा इटालीका एयरपोर्टहरूमा सामान ह्यान्डलिङ, सुरक्षा र मर्मतसम्भार कर्मचारीहरूले हडताल गर्ने घोषणा गरेका छन् ।

यस औद्योगिक हडतालको समय र प्रभाव एयरपोर्टहरू अनुसार फरक फरक समयमा हुनसक्ने उल्लेख गरिएको छ । इटालीको औध्योगिक सहर मिलानको एयरपोर्टका कर्मचारीले भने मिलानको लिनेट एयरपोर्टमा सुरक्षा कर्मचारीहरूसहित २४ घण्टा हडताल गर्ने बताएका छन् ।

प्रकाशित : चैत्र १, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

चोटपीडित मछिन्द्रको जित

मछिन्द्रले १० दिनभित्र चौथो खेल खेल्यो, जुन लिगमा पहिलो जित थियो
राजु घिसिङ

काठमाडौँ — मोफसलमा आयोजित गोल्डकपहरूलाई नेपालमा ‘प्रि–सिजन’ मान्न सकिन्छ । किनकि राजधानीमा लिग सुरु हुनुअघि यहाँका क्लबहरू मोफसलका नकआउट प्रतियोगिता खेल्न व्यस्त हुन्छन् । यस्तो परम्पराले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० अघि पनि निरन्तरता पायो ।

खेलाडीहरू यतिसम्म व्यस्त हुन्छन् कि उनीहरूले प्रत्येक दिन प्रतिस्पर्धात्मक खेल खेल्नैपर्छ । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले यसपालि त्यस्तै गर्‍यो ।

चन्द्रगढीमा भद्रपुर झापा गोल्डकप र उपत्यकामा केपी ओली कपमा प्रतिस्पर्धा गर्न मछिन्द्रका खेलाडीहरूले हरेक दिन मैदानमा उत्रिएपछि हवाई यात्रा गरेका थिए । आज चन्द्रगढीमा खेल्यो भने भोलि एन्फा कम्प्लेक्स वा दशरथ रंगशालामा खेल्नैपर्थ्यो । फागुन १६ गते मेची रंगशाला फाइनलको नतिजा टाइब्रेकरमा आर्मीलाई सुम्पिएको मछिन्द्रले त्यसको भोलिपल्ट (फागुन १७) दशरथ रंगशालामा सातदोबाटो युवा क्लबलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै केपी ओली कप जितेको थियो ।

त्यसको चार दिनपछि (फागुन २१) लिग उपाधि रक्षाको अभियानमा उत्रिएको मछिन्द्र नयाँ सिजनको पहिलो खेलमै जावलाखेल युवा क्लबसँग ३–१ ले स्तब्ध भयो, जुन नसोचिएको नतिजा थियो । अघिल्लो सिजन बेहोरेको दुई गोललाई मछिन्द्रले यसपालि पहिलो खेलमै विपक्षी टिमको खातामा ३ गोल दिनुपर्‍यो ।

शीर्ष श्रेणीको लिगमा अपराजित यात्रा १९ खेलमा समाप्त भएपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले लगातार गाल्डकपमा सहभागी हुँदा खेलाडीहरू थकित भएको र पहिलो रोजाइकै ६–७ जना खेलाडी घाइते भएको बताएका थिए । लगातार दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रले खेलाडीलाई मोफसलका प्रतियोगितामा कुनै यन्त्रजस्तै प्रयोग गरे । त्यसको चोट लिगमा पर्ने नै भयो । डिफेन्डर देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, स्ट्राइकर विमल घर्तीमगरसहितका खेलाडीलाई उनीहरूको करिअरलाई धरापमा राख्दै मछिन्द्रले मैदान उतार्‍यो । त्यसैले हुनसक्छ मछिन्द्रले दोस्रो खेलमा आर्मीसँग च्यासल मैदानमा २–० को हार बेहोर्‍यो । मछिन्द्रलाई एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङदीलाई गोलरहित रोक्दै अंकको खाता खोल्नु ठूलै उपलब्धि रह्यो ।

मछिन्द्रका खेलाडीहरूका लागि ‘ए’ डिभिजन लिग २०७९–८० को सुरुआत पनि दिन्दिनै खेल्नुपर्ने गोल्डकपहरूभन्दा कम भएन । लिगको फरक यत्ति हो कि प्रत्येक दिनको सट्टा एक दिन बिराएर पनि प्रतिस्पर्धा गर्न पाइयो । मछिन्द्रले १० दिनभित्र चौथो खेल मंगलबार खेल्यो । संयोगले दशरथ रंगशालामा भएको खेल अंकतालिकाको अन्तिम दुई स्थान अर्थात् रेलिगेसन क्षेत्रका रहेका टिमबीचका प्रतिस्पर्धा बनेको थियो । यसमा मछिन्द्रले २–१ ले बाजी मार्दै जारी लिगमा पहिलो जित हात पार्‍यो ।

रेलिगेसन टार्ने चुनौतीबाट गुज्रिएको पुलिसविरुद्ध ३ अंक जोड्न मछिन्द्रलाई सहज भएन । जापानी मिडफिल्डर युता सुजुकी र नाइजेरियन स्ट्राइकर ओलावाले ओलाडिपो आफिजलाई उतारेपछि मछिन्द्रले बल्ल लय समाते जस्तो देखियो । तर, खेलमा अग्रता भने पुलिसले लियो । रवि पासवानको क्रसमा अञ्जन राईले हेडर गोल गर्दै नवौं मिनेटमै पुलिसलाई १–० ले अगाडि बढाए । त्यसपछि आफिजले पहिलो हाफमै दुई गोल गरेर मछिन्द्रको संकटमोचन गरेका हुन् ।

युताको पासमा पेनाल्टी क्षेत्रमा खुला रूपमा रहेका उत्सव राईले प्रहार गरेको बल डिफेन्डर सन्तोष हेमरनले रोकेका थिए । त्यसैमा अभिषेक गुरुङले प्रहार गरेपछि गोलकिपर सन्जित श्रेष्ठले रोकेको बल गोललाइन नजिकबाट आफिजले सहजै खाली पोस्टमा गोल गर्दै २० औं मिनेटमा खेल १–१ को स्थितिमा पुर्‍याए । उनले युताको क्रसमा ४० औं मिनेटमा उत्कृष्ट फिनिसिङ देखाउँदै मछिन्द्रलाई २–१ ले अघि बढाइदिए । उनले बल नियन्त्रण गर्ने क्रममै गोलकिपर सन्जितलाई पन्छाएपछि आकर्षक गोल गरेका थिए । आफिजले ४३ औं मिनेटमा पाएको ह्याट्रिक गर्नै अवसर भने उपयोग गर्न सकेनन् । उनले अभिषेकको क्रसमा गरेको हेडरमा सन्जितले उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफमा पुलिसले राम्रो प्रदर्शन गरे पनि चाहिएको गोल गर्न सकेन । प्रताप गुरुङको फ्रिकिकमा ८५ औं मिनेटमा पोस्टनजिक अञ्जनले बल छुन सकेको भए खेलका कथा फेरिन सक्थ्यो । त्यसअघि सौरभ लिम्बु र विमलले मछिन्द्रको अग्रता बढाउने मौका गुमाइसकेका थिए । सौरभले ८९ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट हानेको बलमा भने सन्जितले राम्रो बचाउ गरेका थिए ।

‘रेलिगेसनको युद्धमा छौं । खेल जितेर त्योभन्दा माथि उठ्दै उपाधिका लागि खेल्ने गरी आएको हो,’ ४ खेलमा ४ अंक बनाएर रेलिगेसन क्षेत्र छाडेपछि मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले भने, ‘पहिला अधिकतम खेलाडी घाइते थिए, बिस्तारै ठीक हुँदै छ । गल्ती सुधारेर निरन्तर अगाडि बढ्ने छौं । ओलावाले लयमा छन्, मोफसलमा पनि राम्रो गरेका थिए । श्रम स्वीकृतिले उनलाई खेलाउन ढिलाइ भएको हो । मिडफिल्डमा समस्या थियो, जापानी खेलाडी आएपछि समाधान भएको छ । हामी उपाधि जित्नकै लागि खेल्ने छौं । पुलिसविरुद्ध अन्त्यतिर दबाबमा परे पनि अनुशासित खेल्दै जित हासिल गरेका छौं ।’ उनको

टिमले शीर्षस्थानमा रहेको चर्च ब्वाइजविरुद्ध चैत ३ मा प्रतिस्पर्धा गर्नेछ ।

लगातार चौथो हार बेहोर्दै अंकतालिकाको पुछारमा रहेपछि पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरेले भने, ‘केही जुनियर खेलाडीलाई लिएर टिम बनाएका छौं । हामीलाई गाह्रो छ । तर, विदेशी खेलाडी ल्याउने निर्णय व्यवस्थापनले गर्‍यो भने जुनियरसहित टिम राम्रो हुनेछ । हाम्रो टिममा स्कोरिङको समस्या छ । हामीलाई डिफेन्स, मिडफिल्डर र फरवार्डमा विदेशी खेलाडी चाहिएको छ ।’ चौथो चरणसम्म अंकविहीन रहेको एक्लो टिम पुलिस नै हो । उसले यसअघि चर्च ब्वाइज, हिमालयन शेर्पा र संकटाविरुद्ध हार बेहोरेको थियो ।

फ्रेन्ड्सको पहिलो जित

दशरथ रंशगालामा भएको दिनको पहिलो खेलमा फ्रेन्ड्सले छिमेकी जावलाखेल युवा क्लबलाई २–१ ले पन्छाउँदै पहिलो जित हात पारेको छ ।

रफिक अमिनुको गोलमा १९ औं मिनेटमा अग्रता लिएको फ्रेन्ड्सलाई कप्तान प्रकाश बुढाथोकीले ४० औं मिनेटमा २–० ले अगाडि बढाएका थिए । जावलाखेलको लागि फोडे फोफनाले ८७ औं मिनेटमा गोल गरे । राम्रो लयमा रहेका कप्तान सीमान्त थापाले ९५ औं मिनेट (इन्ज्युरी समय) मा दोस्रो पहेँलो कार्ड (रातो) बेहोर्दै मैदान छाडेपछि जावालखेल १० खेलाडीमा सीमित भएको थियो ।

पेनाल्टीमा प्रिसो उत्कृष्ट

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा इन्ज्युरी समयमा मनीष डाँगीको पेनाल्टी गोलकिपर येभेस प्रिसोले रोकेपछि संकटाले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्न असफल रह्यो । खेल गोलरहित टुंगिएपछि चर्च ब्वाइजको जित यात्रा तीन खेलमा रोकिएको छ ।

मनीषले ९६ औं मिनेटमा पेनाल्टीमा दायाँतर्फ प्रहार गरेको बल प्रिसोले रोकेका थिए । त्यसैमा पोस्टनजिकै पुगेर नेल्सन कोन्फोरले प्रहार गरेको बल आकासिँदै बाहिरिँदा संकटा जितबाट वञ्चित भयो । आई लिग क्लब मुम्बई क्रेन्केबाट फर्किएका अञ्जन विष्टलाई उतारेको चर्च ब्वाइजले पहिलो हाफमा राम्रो प्रभाव देखायो । अञ्जनको पासमा १५ औं मिनेटमा प्रशान्त लक्समको प्रहारमा बल पोलमा लागेर फर्कियो । संकटाका जुनियर एन्केन्गेले १८ औं मिनेटमा हानेको बलमा पनि क्रसबार बाधक बन्यो । दोस्रो हाफमा भने संकटा बलियो देखिएको थियो । अपराजित चर्च ब्वाइज १० अंकसहित शीर्षस्थानमा छ भने ५ अंक पछाडि छ संकटा ।

प्रकाशित : चैत्र १, २०७९ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×