निर्दोष डराउनु पर्दैन, दोषीलाई जहाँ गए पनि छोड्दैनौँ : गृहमन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरेका हुन् ।

कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने उनको भनाइ छ । खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको उनले बताए । साथै निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको पनि उनको भनाइ छ ।

‘हाम्रो देशमा अरु थुप्रै समस्याहरु छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । र सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ । खाडी मुलुकमा भएको ३० लाख नेपाली जनता जो आमाबुबाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरूलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ । भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रूपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गए पनि छोड्दैनौँ, यो हाम्रो प्रतिबद्धता हो,’ उनले भने ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको पनि बताए ।

प्रकाशित : वैशाख २७, २०८० १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

दाहाल, देउवा र ओलीबीच संसद् सञ्चालनबारे छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गरी भीआईपीहरू पक्राउ पर्न थालेपछि प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच निरन्तर भेटघाट भइरहेको छ ।

दाहाल, देउवा र ओलीबीचको भेटलाई सर्वसाधारणले भ्रष्टाचारीलाई बचाउमा केन्द्रित भएको हुनसक्ने आशंका गरिरहेका बेला नेताहरूले संसद् सञ्चालनका विषयमा मात्रै छलफल भएको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा भएको भेटमा तीन नेताहरूबीच संसद् सञ्चालनका विविध विषयहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । ‘बजेटको तयारी छ, नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गर्नुपर्नेछ । संसदीय समितिका सभापतिहरू चयन गर्नुपर्नेछ,’ उनले भने, ‘आजको छलफल अचानक होइन, पूर्वनिर्धारित हो । भेटमा संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने विषयहरुमै छलफल भयो ।’

उनले भेटमा भुटानी शरणार्थी प्रकरणबारे भने कुनै पनि छलफल नभएको दाबी गरे । मंगलबार पनि सिंहदरबारमै भेटवार्ता गरेका दाहाल, देउवा र ओलीबीच बुधबार पनि घण्टौँसम्म छलफल भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहानमात्रै कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

प्रकाशित : वैशाख २७, २०८० १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×