२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

कसैका धाकधम्की, गालीगलौज सुन्न हामी राजनीतिमा आएका होइनौँ : नेपाल

'हामी सहज मानिरहेका छैनौँ, सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं ।'

काठमाडौँ — सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठन्बन्धनमा आफूलाई सहज नलागेको बताएका छन् । उनले यो सत्ता गठबन्धन कति दिन टिक्ने हो भनेर प्रश्न उठिरहेको पनि बताए ।

कसैका धाकधम्की, गालीगलौज सुन्न हामी राजनीतिमा आएका होइनौँ : नेपाल

एमाले केन्द्रीय कार्यालयमा सोमबार आयोजित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को कार्यक्रममा नेपालले धाक, धम्की र गाालीगलौज भइरहेकाले असहज भएको पनि बताए ।

नेपालको वर्तमान राजनीति जटिल रहेको पनि अध्यक्ष नेपालको भनाइ थियो । छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेका बताए ।

‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीले दिनुहुनेछ, मैले दिन सक्दिनँ,' नेपालले भने ।

गठबन्धनमा आफूलाई किन असहज लागिरहेको छ भन्ने कुरा पनि नेपालले खोलेका थिए । उनले भने, 'परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवाल, समानता र न्याय, रोजगारीका समस्या, आर्थिक उन्नतिको कुरामा कम्युनिस्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने धारणा पनि राखेका थिए ।

प्रकाशित : वैशाख १०, २०८१ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?