कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

आयरल्यान्ड उल्भसद्वारा नेपाली टोली पराजित

काठमाडौँ — आयरल्यान्ड उल्भस (ए) ले दोस्रो ट्वान्टी २० क्रिकेटमा नेपाल ‘ए’ लाई ४० रनले पराजित गरी तीन खेलको शृंखला जितेको छ । पिटर मुर र निल रकको अर्धशतकमा आयरल्यान्ड उल्भस (ए) ले शनिबार नेपाल ‘ए’ माथि विजय हात पार्दै एक खेल अगावै शृंखला जितेको हो ।

आयरल्यान्ड उल्भसद्वारा नेपाली टोली पराजित

टस हारेपछि ब्याटिङमा आएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २४ रन बनाएको थियो । त्रिवि क्रिकेट मैदानमा जवाफमा आएको नेपाल ‘ए’ १७.५ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले २१ रनको विजय हात पारेको थियो ।

पावर प्लेको पहिलो ६ ओभरमा ८७–१ को स्कोर बनाए पनि नेपाल ‘ए’ ले त्यसको फाइदा उठान सकेन र लगातार दोस्रो हार बेहोर्न बाध्य रह्यो । ओपनर लोकेश बम र देव खनालले पहिलो ३ ओभरमा ४७ रन जोडेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । चौथो ओभरको पहिलो बलमा लोकेश स्लोर बाउन्स बलमा टप एज लागेर विकेटकिपरलाई क्याच दिन पुगे । अघिल्लो खेलमा शतक बनाएका उनले १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए ।

देवले नेपालबाट सर्वाधिक ४७ रन बनाए । उनले २५ बल खेली ७ चौका प्रहार गरे । कप्तान विनोद भण्डारीले आक्रामक ब्याटिङ गरे । उनले १३ बल खेली १ चौका र ३ छक्कासहित २६ रन बनाए । किरण ठगुन्ना ३, आरिफ शेख १४, पवन सर्राफ १० तथा रशिद खान र विपिन खत्री समान १ रनमा आउट भए ।

बसिर अहमदले २३ बल खेली ३ चौकासहित २७ रन बनाए । कमलसिंह ऐरीले ७ बल खेली समान १ चौका र छक्कासहित ११ रन बनाए । आयरल्यान्ड ‘ए’ बाट बेन हृवाइटले ३ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चेका थिए । फिओन हृयान्डले ३ ओभरमा २५ र थोमस मेयसले ३.५ ओभरमा ४२ रन खर्चेर २–२ तथा म्याथ्यु फोस्टर र ग्यारेथ डेलानीले १–१ विकेट लिए ।

यसअघि मुरले २१ र कप्तान रकले २६ बलमा अर्धशतक पुरा गरेपछि आयरल्यान्ड उल्भसले लगातार दोस्रो खेलमा विशाल स्कोर बनाएको थियो । पहिलो खेलमा पनि आयरल्यान्ड उल्भसले २ सय २२ रन बनाएको थियो । शुक्रबार पहिलो खेलमा पनि ४९ रन बनाएका मुरले कुल ६५ रन बनाए । जिम्बावे र आयरल्यान्ड दुबैबाट टेस्ट खेलिसकेका मुरले २६ बल खेली ३ चौका र ७ छक्का प्रहार गरे ।

ओपनरद्धय जेम्स म्याकलमले १३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ र रस एडेयरले २० बलमा समान १ चौका र छक्कासहित १७ रन बनाए । स्टेफन डहनी ४, केड केरमाइकल १, ग्यारेथ डेलानी १० रनमा आउट भएका थिए ।

प्लेयर अफ द म्याच रक ७१ रनमा अविजित रहे । अन्तिम ओभरमा विपिन खत्रीको बलमा ३ छक्का प्रहार गरेका रकले कुल ३४ बल खेली १ चौका र ७ छक्का प्रहार गरे । अर्का अविजित ब्याटर हृयान्डले ११ बल खेली २ छक्कासहित १९ रन बनाए । यी दुईले २६ बलमा ७७ रनको अविजित साझेदारी गरे । आयरल्यान्डले अन्तिम १० ओभरमा १ सय ३२ रन जोडेको थियो ।

नेपालबाट सागर ढकालले ३ विकेट लिए । देव्रेहाते स्पिनर उनले ४ ओभरमा ३३ रन खर्चे । कमलसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिए । पहिलो खेल खेलेको नेपाली टोलीबाट पवन सर्राफ र विपिन खत्रीलाई हेमन्त धामी र अर्जुन घर्तीको स्थानमा ल्याइएको छ ।

प्रकाशित : चैत्र १७, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?