कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
महिला विश्वकप

विश्वकपमा फिलिपिन्सको छलाङ, नेपाललाई पीडा

नेपाली टिम सुरुमै गोल गरेपनि फिलिपिन्सविरुद्ध २–१ ले हारेपछि एसियन कप २०२२ को छनोटमै रोकिएको थियो । त्यही जितले अगाडि बढेको फिलिपिन्सले अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरिरहेको छ । उसले नकआउट प्रवेशको लागि आज नर्वेविरुद्ध खेल्दैछ ।
राजु घिसिङ

महिला विश्वकप फुटबलको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा चलिरहेको छ । नयाँ आठ टिमको डेब्यु, ठूला टिममाथि थपिएका चुनौती र दर्शकको कीर्तिमान उपस्थितिमा विश्वकपले सबैको ध्यान तानेको छ । यसले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा नेपाली फुटबललाई विश्वकपसँग नजिक्याएको छ ।

विश्वकपमा फिलिपिन्सको छलाङ, नेपाललाई पीडा

एउटा च्याम्पियनसिपको रुपमा ३२ वर्षअघि चीनबाट प्रारम्भ भएको महिला फुटबलको सबभन्दा प्रतिष्ठित प्रतियोगिताले नेपालमा ठूलै चहलपहल ल्याएको छ । त्यसको एउटै कारण हो– अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिक्री गरेको विश्वकपका खेलका टिकट । टिकट खरिद गर्न एन्फाभित्रै हारलुछ नै चल्यो । तर, एन्फाले कागज गराएर दुई सय ३० वटा टिकट बिक्री गरेपनि अधिकांश खरिदकर्ताले भिसा पाएनन् । एन्फा पदाधिकारीलाई पनि अस्ट्रेलियाले पत्याएन । न्युजिल्यान्ड त काण्डै बन्यो, भिसा लिएर त्यहाँ पुगेका पनि निष्कासित (डिपोर्ट) भए । विश्वकप हेर्न न्युजिल्यान्ड हिँडेका केही नेपाली सिंगापुरमै रोकिए, खादा लगाएर बिदाइ भएका केहीलाई त्रिभुवन विमानस्थलबाटै फर्काइयो । त्यसैले खेलभन्दा बढी नेपाली दर्शकको यात्राले महिला विश्वकपले यहाँ चर्चा पाइरहेको छ ।

खासमा यसबेला चर्चा गर्नलायक विषयचाहिँ दुई वर्षअघिको खेल हो– एसियन कप छनोटमा नेपालविरुद्ध फिलिपन्सको । उज्वेकिस्तानको तास्कन्दमा भएको छनोटमा नेपाल जितनजिक पुगेर पनि हारेको थियो । त्यो हारले नेपाललाई छनोट भएर पहिलोपल्ट महादेशीय च्याम्पियनसिप खेल्ने अवसरबाट रोकिदियो । फिलिपिन्सलाई भने त्यही नाटकीय जितबाट सुरु गरेको यात्राले विश्वकपमसम्मै पुर्‍यायो । र, उसले विश्वकपको दोस्रो खेलमा बिहीबार सह–आयोजक न्युजिल्यान्डलाई १–० ले हराएर सनसनी फैलाएको छ । विश्वकपमा पहिलो जितबाट फिलिपन्सको महिला फुटबलले सर्वत्र चर्च पाइरहेको छ । फिलिपिन्समामात्रै होइन, विश्वभरि छरिएर रहेका फिलिपिनो डायस्पोराले ऐतिहासिक जितको खुशियाली मनाइरहेको छ ।

नेपाल र फिलिपिन्सविरुद्धको खेलमा सरु लिम्बू र फिलिपिनो खेलाडी बल रोक्ने क्रममा । तस्बिर : एनएसजेएफ

‘केही महिनाअघि यो टिम फिफा वरीयताको ६०–७० स्थानमा थियो । छनोटमा नेपाल र हङकङलाई पराजित गर्न पनि संघर्ष गर्नुपरेको थियो,’ विश्वकपमा घरेलु टिमलाई पराजित गरेपछि फिलिपिन्सका प्रशिक्षक एलेन स्टासिचले पत्रकार सम्मेलनमै भनेका छन्, ‘चकित पनि छु । चमात्कार र अविश्वसनीय लागिरहेको छ । खेलाडीहरूले सोचेभन्दा माथिको मन जित्ने काम गरेका छन् ।’ लगभग समान हैसियतको टिम दुई वर्षबीचमै कसरी विश्व फुटबलमै माथिल्लो स्तरमा पुग्यो त ? अहिले नेपाली फुटबलमा सोच्नुपर्ने यसैको जवाफ हो ।

पहिलो खेलमा स्वीट्जरल्यान्डविरुद्ध २–० ले हारेको फिलिपिन्सले नकआउट प्रवेशको निर्णायक खेलमा सन् १९९५ को विश्वकप च्याम्पियन तथा सिड्नी ओलम्पिक २००० को स्वर्णपदक विजेता नर्वेविरुद्ध इडन पार्क, अकल्यान्डमा आज आइतबार प्रतिस्पर्धा गर्दैछ । यथार्थमा साह्रै कठिन भएपनि छनोटमा सफलता हात पारेको भए नेपालको लागि पनि विश्वकपको ढोका खुल्न सक्थ्यो ।

तास्कन्दमा भएको महिला एसियन कप छनोटमा नेपालले फिलिपिन्स र हङकङविरुद्ध खेलेको थियो । पहिलो खेल फिलिपिन्सविरुद्ध (१८ सेप्टेम्बर २०२१) । त्यो खेललाई लिएर मिडफिल्डर रेनुका नगरकोटे अहिले पनि पश्चत्ताप गर्छिन् । त्यो बेला नेपाली टिमकी कप्तान रहेकी उनी भन्छिन्, ‘हामी ८९ मिनेटसम्म १–० ले अगाडि थियौं । जितनजिक पुगेका थियौं । हामीलाई अवसर थियो । तर, अन्त्यमा आफ्नै गल्तीले दुई गोल खायौं । त्यो खेल जितेको भए हामी एसियन कपमा पुग्थ्यौं । अहिले पनि त्यो खेल सम्झेर एकदमै धेरै पश्चत्ताप महसुस हुन्छ । हामी पनि वर्ल्डकप खेल्थ्यौं होला भन्ने लाग्छ ।’

उनलाई यतिसम्म गाह्रो भएको छ कि त्यो खेलको भिडियो हेर्ने हिम्मत पनि गर्न सकेकी छैनन् । ‘रिभ्युको लागि मैले खेलेको हाम्रो टिमको सबै खेलको भिडियो हेर्ने गरेकी छु तर फिलिपिन्सविरुद्ध हारेको त्यो खेल अहिलेसम्म हेरेकी छैन,’ उनी भन्छिन्, ‘एकदमै नराम्रो लाग्छ । जित्यो भनेको खेल हारियो । हामीले इतिहासकै सबभन्दा ठूलो अवसर गुमाएको खेल हो त्यो ।’ उनको दिमागमा उक्त खेलको दृश्य झल्झली आइरहन्छ । हाम्रा खेलाडीहरू भेला भएको बेला उक्त खेलको बारेमा कुरा भइरहन्छ । ‘अहिले त झन् वर्ल्डकप चलिरहेको छ, त्यै खेल (फिलिपिन्सविरुद्ध) मात्रै आइरहन्छ (सम्झना),’ उनले भनिन् ।

विमलाको हेडर गोल

हुन पनि हो । दुई वर्षअअघिको फिलिपिनो टिम अहिलेजस्तो राम्रो थिएन, बलियो थिएन । शारीरिक रुपमा अग्ला र बलिया खेलाडी भएपनि मैदानमा उनीहरू प्रभावशाली थिएनन् । जेएआर रंगशालामा भएको छनोटमा नेपालले विमला चौधरीको गोलमा दशौं मिनेटमै अग्रता लिएको थियो । उनले सविता रानाको क्रसमा हेडर गोल गरेकी थिइन् । उनले गोलकिपर एन्जिला तुम्बापो सुब्बासँग ठोक्किएपछि चोट बोक्दै ३९ औं मिनेटमा मैदान छाड्नुपर्‍यो । डिफेन्डर पूजा राना पनि चोटकै कारण ६३ औं मिनेटमा बाहिरिइन् । त्यसबेलासम्म प्रतिस्पर्धा राम्रै चलिरहेको थियो ।

घुँडाको शल्यक्रिया गराएकी ‘गोल मेसिन’ सावित्रा भण्डारी बिना पनि नेपाली टिम २२ वर्षपछि फिलिपिन्सविरुद्धको भेटमा जितनजिक पुगेको थियो । तर, चान्डलर म्याक्डानिएलको क्रसमा तहनाई एनिसले गोल गरेपछि फिलिपिन्सले ९० औं मिनेटमा १–१ को बराबरी गर्‍यो । चान्डलरकै चलाखीपूर्ण ‘ब्याकहिल’ पासमा केमिली विल्सनले ९२ औं मिनेट (इन्ज्युरी समय) मा गोल गर्दै फिलिपिन्सले २–१ को जित दिलाएकी थिइन् । त्यसपछि हङकङलाई पनि २–१ ले हराएर समूहमा शीर्षस्थान हासिल गर्दै एसियन कपमा छनोट भएको फिलिपिन्सले चार महिनापछि भारत (एसियन कप २०२२) मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल नै पुग्यो, जसले उसलाई विश्वकपमा स्थान दिलायो । किनभने एसियन कपका शीर्ष पाँच टिमलाई विश्वकप खेल्ने अवसर थियो ।

‘हामीले खेल्नुपर्ने विश्वकप’

‘त्यै फिलिपिन्सले वर्ल्डकप खेलिरहँदा त्यै (छनोट) खेलेको कुरा उठिरहन्छ । त्यो ठाउँमा नेपालले खेल्नुपर्ने हामी सबै खेलाडीलाई लाग्छ,’ रेनुका फेरि चुक्चुकाउँछिन्, ‘हाम्रो टिमले फिलिपिन्ससँग राम्रो खेलेको थियो । पहिलो हाफ धेरै राम्रो । दोस्रो हाफमा खेलाडी परिवर्तन हुँदै गएपछि टिमको सन्तुलन मिलेन । एकैपल्ट टिममा परिवर्तन हुँदा गाह्रो भयो । राम्रो खेलिरहेका विमला र पूजा इन्ज्युर्ड भए । विंग्सका खेलाडी पनि फेरिएपछि पूरा टिमकै तालमेल मिलेन र हारियो ।’ उनले थपिन्, ‘बल पोजेसनमा फिलिपिन्स राम्रो थियो । आक्रमण पनि उसैले बढी गरेको थियो । तर, खेलाडी परिवर्तनपछि हामीले बढी नै दबाब झेल्नुपर्‍यो । गीता (राना) चेत नभएको अवस्थामै खेलिरहेकी रहिछन् । विंगरलाई निकालेपछि मैदानमा प्रवेश गरेका खेलाडी कहाँ खेल्ने, कहाँ खेल्ने हुँदाहुँदै गोल खायौं ।’

एसियाली फुटबल महासंघ (एएफसी) का अनुसार छनोटमा नेपाली टिमका प्रशिक्षक थिइन् अरुणा गुरुङ । टिममा चार जना सहायक प्रशिक्षक थिए– चेतकुमार घिमिरे, अस्ट्रेलियन ग्यारी फिलिप्स, हरि खड्का र श्रीप्रकाश वैद्य । यसलाई रहस्यमय मान्नुपर्छ । त्यसबेलाका एन्फाका प्राविधिक निर्देशक फिलिप्सको हातमा थियो टिम । उनले विंगर मन्जलीकुमारी योन्जनलाई पहिलो रोजाइको सेन्टर मिडफिल्डरको भूमिकामा उतारेका थिए । विंग्समा खेलिरहेका अनिता बस्नेत र सवितालाई दोस्रो हाफमा परिवर्तन गरिदिए । सेन्टर मिडफिल्डर दीपा राईलाई विंग्समा पठाइएको थियो, यसैमा खेलाडीहरू अलमलिएका थिए, जसको फाइदा फिलिपिन्सले लियो ।

‘हाम्रो सम्भावना धेरै थियो,’ सहायक प्रशिक्षक घिमिरेले भन्छन्, ‘सावित्रा बिना पनि हाम्रो प्रदर्शन राम्रो स्तरको थियो । त्यो खेल जित्नसक्ने अवस्थामा पुगेका थियौं । एउटा सानो गल्तीले सबै सम्भावना गुमायौं । फिलिपिन्स अहिले निक्कै माथिल्लो स्तरमा खेलिरहेको छ । एसियन कपमा पुगेको भए हाम्रो पनि त्यै अनुसारको तयारी हुन्थ्यो होला र त्यस्तो भएको भए विश्वकपमै पुग्नसक्ने सम्भावना थियो । किनभने हाम्रो टिम राम्रो लयमा थियो ।’

अमेरिकी–फिलिपिनोको प्रभाव

कोभिड १९ महामारीको असरलगत्तै ४५ दिनको तयारीमा बंगलादेशविरुद्ध दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टिम छनोट खेल्न तास्कन्द पुगेको थियो । खासमा त्यो तयारी राम्रो थिएन । तर, फिलिपिन्स पनि हाम्रा खेलाडीले सोचेजस्तो बलियो थिएन । जापानको लिग खेलिरहेका प्रमुख दुई खेलाडीबिना फिलिपिनो टिम सहभागी भएको थियो । नेपालले छनोटमा हङकङविरुद्ध लगभग ‘हाफ ग्राउन्ड’ खेलेर पनि जित्न सकेन, नतिजा गोलरहित भयो । तर, त्यो खेलमा तीन अंक जोडेको भएपनि त्यसले नेपाललाई विश्वकप छनोटको बाटोमा (एसियन कप) पुर्‍याउने थिएन । किनभने समूहको समीकरणमा निर्णायक खेल नेपालविरुद्ध फिलिपिन्सकै बन्यो ।

फिलिपिन्समा सबभन्दा लोकप्रिय खेल बास्केटबल हो । त्यसपछि म्यानी पाक्वियोको कारण बक्सिङ प्रिय बनेको छ । एसियन कप छनोट खेलेको फिलिपिनो टिम र अहिले विश्वकप खेलिरहेको टिममा ठूलो भिन्नता छ । प्रशिक्षक फेरियो । विश्वकप र ओलम्पिकमा अस्ट्रेलियालाई क्वाटरफाइनल पुर्‍याएका एलेन स्टासिचले मर्लोन म्यारोको स्थान लिए । दक्षिण पूर्वी एसियाली खेलकुदमा ३७ वर्षपछि पदक (म्यान्मारलाई हराएर कास्य) जितेको फिलिपिन्स जुलाई २०२२ मा भियतनाम (सेमिफाइनल) र थाइल्यान्ड (फाइनल) लाई हराएर आसियन (दक्षिण पूर्वी एसिया) च्याम्पियन नै भयो । उसले जितेको पहिलो उपाधि यही हो ।

प्रतियोगितामा निरन्तर सहभागी फिलिपिन्सले युरोप र दक्षिण अमेरिकी टिमसँग मैत्रीपूर्ण खेलमा नियमित प्रतिस्पर्धा गरिरहेको छ । टिममा आमूल परिवर्तन भएको छ । नेपालसँग बराबरी गोल गरेकी एनिससहित छनोटका २१ मध्ये सात खेलाडीमात्रै अहिलेको विश्वकप टिममा छन् । एनिस अहिले पनि टिमका कप्तान हुन् । अहिलेका २३ मध्ये १८ खेलाडी अमेरिकामा जन्मिएका हुन् । डाययस्पोराको उपस्थितिले फिलिपिन्सलाई विश्वकपमा दरिलो बनाएको हो । न्युजिल्यान्डविरुद्ध १–० को जितमा गोल गरेकी सरिना बोल्देन पनि अमेरिकन–फिलिपिनो नै हुन् ।

घुँडाको चोटपछि फेरि राष्ट्रिय टिममा फर्किएकी रेनुका अहिले १९ औं एसियाली खेलकुदको तयारीमा छिन् । यो विश्वकपलाई नजिकबाट नियालिरहेकी उनी भन्छिन्, ‘फिलिपिन्सले न्युजिल्यान्डविरुद्ध जितेको खेल पनि टेलिभिजनमा हेरेकी थिए । फिलिपिन्सले जित्दा खुशी नै लाग्यो । हामीले कुरा पनि गर्‍यौं, फिलिपिन्सले जित्यो, हामीले पनि नसक्ने भन्ने हुँदैन । हामीले फाइट गरेको टिमले यति गर्नसक्छ भने हामी किन नसक्ने भन्ने लाग्छ ।’ उनी फिलिपिनो टिमबारे जानकार पनि छिन् र भन्छिन्, ‘त्यो टिम (एसियन कप छनोट) र विश्वकपको यो टिममा एकदमै फरक छ । धेरै खेलाडी फेरिएपछि फिलिपिन्स निक्कै राम्रो भएर आएको छ ।’

एसियाली खेलकुदमा अवसर

चीनको हाङचोउमा अर्को महिना हुने एसियाली खेलकुदमा नेपाली महिला फुटबल टिम सन् २०११ को विश्वकप च्याम्पियन जापान, अहिले विश्वकप खेलिरहेको भियतनाम र साफ च्याम्पियन बंगलादेशसँग एउटै समूहमा परेको छ । विश्वकपमा यसैपालि डेब्यु गरेको भियतनामविरुद्ध नेपालले गत वैशाखमा दशरथ रंगशालामा दुई खेल खेलेको थियो । पेरिस ओलम्पिक २०२४ छनोट (पहिलो चरण) का खेल भियतनामले ५–१ र २–० ले जितेको थियो ।

‘अहिले ट्रेनिङ राम्रो भइरहेको छ । तयारी एकदमै राम्रो छ,’ रेनुका भन्छिन्, ‘हाम्रो लागि एसियन गेम्स चुनौतीपूर्ण छ तर अवसर पनि हो । वर्ल्डकप जितिसकेको जापानसँग खेल्न पाउनु ठूलो अवसर हो । भियतनासँग पनि अवसर नै हो । हामीले उनीहरू वर्ल्डकप टिम भनेर डराएर बस्नु हुँदैन । कडा चुनौती दिने गरी संघर्ष गरेर खेल्नुपर्छ ।’ विश्वकप डेब्युमा लगातार दुईपल्टको च्याम्पियन अमेरिकाविरुद्ध ३–० र त्यसपछि युरोपेली टिम पोर्चुगलविरुद्ध २–० ले हारेपछि भियतनामको चुनौती समूह चरणमै सकिने भएको छ । उसले चार वर्षअघिको उपविजेता नेदरल्यान्ड्सविरुद्ध मंगलबार प्रतिस्पर्धा गर्दै विश्वकपबाट बिदाइ लिने छ ।

‘भियतनामले अहिले राम्रो खेलिरहेको छ तर हामी त्यस्तो ५ गोल खाएर हार्ने टिम भने होइन,’ रेनुका भन्छिन्, ‘उसले यहाँ (दशरथ रंगशाला) खतरा गेम खेलेको होइन । पहिलो खेलमा ५ गोल खायौं, त्यो बेग्लै कुरा भयो । हामीले दुवै खेलमा गोलका धेरै अवसर पाएका थियौं । दोस्रो खेलमा हामीले सुरुमै स्कोर गर्नुपर्थ्यो । त्यो मौकामा गोल गरेको भए दबाब झेल्नुपर्दैनथ्यो । हामीले आफ्नै गल्तीमा सात मिनेटभित्र दुई गोल खाएपछि भियतनामले खुला रुपले खेल्न पायो र हामी दबाबमा परेका थियौं ।’

प्रकाशित : श्रावण १४, २०८० ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?