कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुकेश र राजपुरा च्याम्पियन

ध्रुव तुलाधर

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार ११ औं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् ।

मुकेश र राजपुरा च्याम्पियन

‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन (२१.१ किमि) जित्न मुकेशले १ घण्टा ६ मिनेट ४५ सेकेन्ड निकाले । उनी पहिलोपल्ट च्याम्पियन भएका हुन् । अघिल्लो वर्ष उनले तेस्रो स्थानमा चित्त बुझाएका थिए । गत वर्षका विजेता एपीएफका गोपीचन्द्र पार्कीले यसपालि सहभागी थिएनन् ।

थापाथलीस्थित कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाट सुरु कान्तिपुर हाफ म्याराथन दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क आएर टुंगिएको थियो ।

आर्मीकै राजन रोकाय दोस्रो भए । उनको टाइमिङ १ घण्टा ७ मिनेट ५५ सेकेन्ड थियो । भारतीय सेनामा कार्यरत बागलुङका तीर्थ पुन तेस्रो भए । उनले १ घण्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेका थिए । पुरुषतर्फ आर्मीको वर्चस्व हुँदा खड्काबहादुर खड्काले १ घण्टा ९ मिनेट २९ सेकेन्ड र गजेन्द्र राईले १ घण्टा १० मिनेट ५२ सेकेन्डबाट क्रमशः चौथो र पाँचौं स्थान लिए । गजेन्द्र लगातार नवौं र दसौं संस्करणमा चौथो भएका थिए । आर्मीकी प्रेमबहादुर बस्नेत (१ः१५ः३७) छैटौं भए । महिलातर्फ राजपुराले उपाधि रक्षा गरिन् । गत वर्ष कोर्स कीर्तिमान बनाउँदै उपाधि जितेकी राजपुराले यसपालि १ घण्टा १९ मिनेट १६ सेकेन्डबाट उपाधि जितिन् । उनले गत वर्ष १ घण्टा १९ मिनेट १० सेकेन्डबाट कोर्स कीर्तिमान बनाएकी थिइन् । यसअघि २०७५ सालमा कान्छीमाया कोजूले बनाएको १ घण्टा १९ मिनेट ४२ सेकेन्डको कोर्स कीर्तिमान तोडिएको थियो । कान्तिपुर हाफ म्याराथनकी सफल धाविका कान्छीमायाले ५ पटक उपाधि जितेकी छन् ।

पुलिसकी धाविका राममाया बुढा दोस्रो भइन् । उनले १ घण्टा २३ मिनेट ०७ सेकेन्ड लगाइन् । एपीएफकी पुष्पा भण्डारी १ घण्टा २४ मिनेट ३१ सेकेन्डबाट तेस्रो, आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २६ मिनेट २३ सेकेन्डबाट चौथो, आर्मीकै गीता बिक १ घण्टा २९ मिनेट ३६ सेकेन्डबाट पाँचौं र पुलिसकी सुमित्रा चौधरी १ घण्टा ३० मिनेट ०९ सेकेन्डबाट छैटौं भए । हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाए । दुवैतर्फ दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुने खेलाडीले ५ हजार रुपैयाँ पाएका थिए ।

ह्विलचेयर रेस (३ किमि)

कान्तिपुर हाफ म्याराथनअन्तर्गत रमेश खत्रीले ह्विलचेयरको उपाधि जिते । ३ किलोमिटर दूरी उनले ७ मिनेट २६.७४ सेकेन्डमा पार थिए । दान थिङ दोस्रो भए । गत वर्ष तेस्रो भएका उनले ७ मिनेट ३५ सेकेन्ड लगाए । उनी आर्मीका बास्केटबल खेलाडी हुन् । रामकाजी मिजार तेस्रो भए । उनले ८ मिनेट ५२.८४ सेकेन्डबाट दौड पूरा गरे । महिलातर्फ ऐश्वर्य कुमाल विजेता भइन् । उनले १० मिनेट ९.७८ सेकेन्डमा दौड पुरा गरिन् । उनले पहिलो सहभागितामै उपाधि जितिन् । पूर्वविजेता यामी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए । गत वर्ष उपाधिमा

ह्याट्रिक गरेकी यामीले १० मिनेट ५१.०७ सेकेन्ड लगाइन् । पेमाले ११ मिनेट २५.१० सेकेन्ड दौड पूरा गरेकी थिइन् । ह्विलचेयर रेसतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

कर्पोरेट रन (५ किमि)

विकेश घिमिरे र सुनीता महर्जन कर्पोरेट रनतर्फ विजेता बने । ५ किमि दूरी विकेशले १४ मिनेट ३६.३ सेकेन्डमा पूरा गरे । सुनीताले २३ मिनेट २३.९० सेकेन्ड लगाइन् । पुरुषतर्फ १४ मिनेट ४६.७ सेकेन्डबाट विकास पोखरेल दोस्रो र १५ मिनेट ००.६ सेकेन्डबाट अनिश लामा गुरुङ तेस्रो भए । महिलातर्फ विनीता महर्जन २३ मिनेट ३०.२९ सेकेन्डमा दोस्रो र एलिना श्रेष्ठ २६ मिनेट ०७.४९ सेकेन्डमा तेस्रो भए ।

कलेज रन (७ किमि)

पुकारजंग बस्नेत र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको पहिलोपल्ट थपिएको विधा कलेज रन जितेका छन् । ७ किमि दूरी पुकारले २४ मिनेट ४७ सेकेन्डमा पूरा गरे । सुसनले २७ मिनेट २९.५६ सेकेन्डबाट दूरी पूरा गरिन् । पुरुषतर्फ २४ मिनेट ५३ सेकेन्डबाट रिम बुढामगर दोस्रो र २५ मिनेट ३० सेकेन्डबाट समिप थुलुङ राई तेस्रो भए ।

महिलातर्फ निशमहाङ सुब्बा ३१ मिनेट ०७.५० सेकेन्डबाट दोस्रो र मिनिशा पन्त ३२ मिनेट १८.४२ सेकेन्डबाट तेस्रो भए । कर्पोरेट र कलेज रनका शीर्ष तीन स्थानका विजेताले केएफसी रह्याम्स हस्पिटलबाट गिफ्ट ह्याम्पर पाएका थिए ।

सिटी म्याराथनको अवधारणामा २०६७ सालमा कान्तिपुर पब्लिकेशन्स्ले कान्तिपुर हाफ म्याराथन आयोजनाको सुरुआत गरेको हो । यस ११ औं संस्करणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । प्रधानमन्त्री दाहालले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै कर्पोरेट क्षेत्रबाट विभिन्न उद्देश्यमा जनचेतनासहित खेलकुद प्रतियोगिता हुनु सकारात्मक रहेको बताए ।

गत वर्ष जयवायु परिवर्तन जनचेतनाका लागि भएको हाफ म्याराथनको यसपालिको नारा ‘गो ग्रिन’ थियो । विजेता खेलाडीलाई कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियालगायत पुरस्कार तथा ट्रफी प्रदान गरे ।

ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको कान्तिपुर हाफ म्याराथनलाई नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको थियो ।

प्रकाशित : जेष्ठ ७, २०८० ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?