२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

पूर्वी पहाडकै ठूलो म्याराथन हुँदै, विजेताले २ लाख ५० हजार पाउने

विप्लव भट्टराई

इलाम — पर्यटन सम्भावनालाई प्रचार गर्दै पर्यटकीय गतिविधिमा बढावा दिने उद्देश्यले इलाममा पहिलो पटक पूर्वी पहाडकै ठूलो म्याराथन प्रतियोगिता गरिने भएको छ । नयाँ वर्ष वैशाख १ मा हुने प्रतियोगिताको जोडतोडका साथ तयारी भइरहेको आयोजकले जनाएको छ ।

दुवै विधामा हुने प्रतियोगितामा पुरुष म्याराथन विजेताले २ लाख ५० हजार र महिला हाफ म्याराथन विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको पुरस्कार राशिमै ९ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

पुरुषतर्फ इलाम नगरपालिका–१० गोदकको नारायणचोकदेखि सन्दकपुर गाउँपालिकाको माइपोखरी सातखाल्डेसम्म ४२.१९५ किलोमिटर दौडनुपर्नेछ । महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मकै २१.२ किलोमिटर दुरी पार गर्नुपर्नेछ । धावकले साढे ६ किमिबाहेक कालोपत्रे सडकमा दौडनुपर्नेछ ।

पुरुषतर्फ दोस्रोले १ लाख ५० हजार, तेस्रोले १ लाख, चौंथोले ५० हजार, पाँचौंले ४० हजार, छैटौंले ३५ हजार, सातौंले २५ हजार, आठौंले २० हजार, नवौंले १५ हजार र १० औं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

महिलातर्फ दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान पर्यटन प्रवर्द्धन’ नारासहित इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणले प्रतियोगिता आयोजना गरेका हुन् ।

‘यो प्रतियोगिताले खेलकुदको माध्यमबाट यहाँका पर्यटकीयसहित विभिन्न कारणले महत्त्वपूर्ण मानिएको क्षेत्रको प्रचारमा सहयोग मिल्ने ठानेका छौं,’ इलाम नगरपालिकाका प्रमुख केदार थापाले भने, ‘ऐतिहासिक चियाबगानसहित यहाँको संस्कृति, सामाजिक जीवनशैली, जैविक विविधता, पर्यावरणलगायत हरेक क्षेत्रको विशेषता झल्काउने अवसरको रूपमा लिइएर प्रतियोगिता भव्य बनाउने प्रयास छ ।’

चैत्र २९ सम्म धावकले नाम दर्ता गर्ने व्यवस्था रहेको प्रतियोगितामा स्वदेश र विदेशका इच्छुकले सहभागिता जनाउन सक्ने आयोजक समितिका गणेश खतिवडाले जानकारी दिए । सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाबीचको पर्यटनमा साझेदारीका लागि पनि यो प्रतियोगितालाई महत्त्वपूर्ण मानिएको छ । सम्भावना भएर पनि ओझेल परेको पर्यटनलाई उकास्न यस्ता प्रतियोगिता आवश्यक रहेको सन्दकपुर गाउँपालिकाका प्रशासकीय अधिकृत महेश राईले बताए । यही समयमा सन्दकपुर महोत्सवको समेत आयोजना गरिएकाले खेलाडी र दर्शकलाई थप मनोरञ्जन प्राप्त हुने उनले जनाए । दृश्यावलोकनका लागि प्रख्यात कन्काई माईको शिर सन्दकपुर, माइपोखरी, ढापपोखरी, सातखाल्डे, टोड्के झरना, मावुथामलगायतका क्षेत्र यो पालिकाका महत्त्वपूर्ण गन्तव्य हुन् ।

प्रकाशित : चैत्र २२, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?