शशांकको सनसनी

‘एकपल्ट किनिसकेपछि तत्काल फिर्ता गर्न नपाइने’ प्रावधानका कारण ‘भूलवश’ अनुबन्धित भए पनि छत्तीसगढका शशांक सिंह पञ्जाव किंग्सका लागि यसपल्टका विशेष खेलाडी बनेका छन् 

वैशाख १६, २०८१

हिमेश

Shashank's Sensation

काठमाडौँ — यस सिजनमा शशांकले निकै राम्रो खेलेका छन् । उनी निकै भलादमी पनि छन् । उत्तिकै विशेष खेलाडी पनि हुन् । उनी जत्तिको खेलाडी हुनु ठूलै कुरा हो । उनले जसरी खेलिरहेका छन्, त्यो अविश्वसनीय छ ।’ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा शुक्रबार राति पञ्जाव किंग्सले कीर्तिमानी जित निकालिसकेपछि जोनी बियरस्टोले यस्तो प्रतिक्रिया दिएका थिए ।

कोलकाता नाइटराइडर्समाथि पञ्जावको जित आफैंमा अविश्वसनीय रह्यो । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय ६१ रन बनाएको थियो । लागिरहेको थियो, यत्तिको स्कोर भन्नु त ट्वान्टी/२० क्रिकेटमै पनि जितका लागि पर्याप्त छ ।

तर इंग्लिस ब्याटर बियरस्टो र शशांक सिंहले मनमा बेग्लै कथा बुनिरहेका थिए । पञ्जावले प्राप्त गरेको यो विजय, लक्ष्य पछ्याउने क्रममा कुनै टिमले पार गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । अझ पञ्जावले १८.४ ओभर मात्रै उपयोग गरेर दुई विकेटको नोक्सानीमा २ सय ६२ रन बनायो । यसअघि दोस्रो इनिङ्समा सफलतापूर्वक पछ्याएको कीर्तिमान दक्षिण अफ्रिकाका नाममा थियो ।

उसले सन् २०२३ मा वेस्ट इन्डिजविरुद्ध पाँच विकेटमा २ सय ५८ रन बनाएर जित निकालेको थियो । अहिलेको पञ्जावको जितमा बढी चर्चा त बियरस्टोकै भइरहेको छ । आखिर उनले त्यसमा १ सय ८ रन बनाएका थिए, त्यो पनि नटआउट । उनी नै ‘प्लयेर अफ द म्याच’ रहे । त्यही अवार्ड थाप्ने क्रममा उनले शशांकको प्रशंसा गरेका हुन् । साँच्चै यो जितमा यी भारतीय ब्याटरको पनि उत्तिकै योगदान रह्यो । उनले २८ बलमा ६८ रन बनाएर नटआउट रहे ।

Shashank's Sensationयसपल्टको आईपीएल सुरु हुँदा सबैका लागि कौतूहल थियो, यी शशांकचाहिँ को हुन् त ? फेरि इडेन गार्डेनकै खेलमा फर्कने हो भने शशांकको योगदान उत्तिकै देखिन्छ । पञ्जावले दुई विकेट गुमाएपछि उनी क्रिजमा आएका थिए, खेल उनको पकडबाट धेरै टाढा थियो । उनलाई प्रमोट गरेर माथि खेल्न पठाइएको थियो । सुरुमा उनी केही संयमित देखिए । तर एकपल्ट के खुले, अन्त्यमा २४२.८५ को स्ट्राइकमा रन बनाए, जसमा २ चौका र ८ छक्का सामेल छन् । 

सम्भवतः शशांक को हुन्, सबैले यो उत्तर त पाइसकेका छन् । त्यही इडेन गार्डेनमा खेल सुरु हुनुअगाडिसम्म पनि एउटा कथा सुन्दै सुनाउँदै आइएको थियो । त्यस अनुसार अक्सनमा पञ्जावले शशांकलाई गल्तीले किनेको हो । त्यस अक्सनमा शशांक सिंह नामका दुई खेलाडी थिए । एक थिए ३२ वर्षीय शशांक र अर्का १९ वर्षीय शशांक । सुरुमा किशोर शशांकको नाम आयो, उनमा कसैले रुचि देखाएनन् । 

बंगालका यी खेलाडीले अहिलेसम्म प्रथम श्रेणीको क्रिकेट पनि खेलेका छैनन् । पछि लगत्तै यी शशांकको नाम आयो, पञ्जावले २० लाख भारतीय रुपैयाँमा उनलाई किनिहाल्यो । उनले पछिल्लो सिजन सनराइज हैदरावादका लागि खेलेका थिए । नाटकीय मोड त्यतिबेला आयो, जतिबेला पञ्जावका मालिक नेस वाडिया र प्रीति जिन्टाले हात उठाएर आफूले शशांकबारे गरेको निर्णय फेर्न चाहेको सुनाए । तर निर्णय सुनाइयो, ‘एकपल्ट किनिसकेपछि फिर्ता गर्न पाइन्न ।’ 

अहिले यिनै छत्तीसगढका शशांक पञ्जावका लागि यसपल्टका विशेष खेलाडी बनेका छन् । उनले अहिलेसम्म आफूले खेलेका ९ खेलमा ६५.७५ को सानदार औसतमा रन बनाएका छन् । उनको स्ट्राइक रेट १८२.६४ रहेको छ अनि २ सय ६३ रन बनाएका छन् । यस क्रममा उनले दुई अर्धशतक पनि बनाएका छन् । यसबीच भारतीय मिडियाले खुबै लेखेका छन्, पञ्जावले अक्सनका बेला गरेको गल्ती अहिले काम लागिरहेको छ । यो गल्ती त थियो, तर यसबाट पञ्जावलाई साँच्चै फाइदा भएको छ ।

सायद यस्तै कुरा सुन्दासुन्दा पञ्जावलाई दिक्क लागेको छ र उसले आधिकारिक रूपमै भनेको पनि छ, ‘हामी आधिकारिक रूपमै भन्न चाहन्छौं, शशांक सिंह किन्ने हाम्रो लक्ष्य नै थियो । उस्तै नाम भएका दुई खेलाडी भएकाले द्विविधा भने भएको हो । उनलाई आफ्नो खेलाडी बनाउन पाएकामा हामी खुसी छौं र टिमको सफलतामा उनको योगदान अझ बढी हुने विश्वास पनि गर्छौं ।’ भनेपछि पञ्जावले तिनै शशांकलाई किन्न खोजेको थियो, जसले अहिले खेलिरहेका छन् ।

शशांक पनि के कम, त्यसमा प्रतिक्रिया दिएका छन्, ‘ठीक छ नि ! मलाई विश्वास गरेकामा ।’ तर पनि उनीबारे पुरानै कथा सुन्ने सुनाउने काम रोकिएको छैन । सायद, यो रोकिने पनि छैन । खास कुरा के भने उनको प्रदर्शन कमजोर भएको भए, उनीबारे चर्चा नै हुने थिएन । तर उनले राम्रो खेले, त्यसैले त सबैले उनीमाथि रुचि देखाए । अहिलेसम्म उनको प्रदर्शन हेर्दा भन्न करै लाग्छ, पञ्जावले ढुंगा खोज्दा देवता भट्टाएकै हो, त्यसपछाडि कारण जे–जस्ता भए पनि ।

युवा ग्यालरी

हिमेश

Link copied successfully