थ्री नेसन्स कप : भुटानमाथि नेपालको प्रभुत्व जोगियो

हिमेश

काठमाडौँ — नेपालले अन्तर्राष्ट्रिय फुटबलमा भुटानमाथि कायम राख्दै आएको प्रभुत्व मंगलबार बल्लतल्ल जोगिएको छ । प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको दशरथ रंगशालामा भएको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो । हारको संघारमा रहेको नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औं मिनेटमा गोल गरे । नेपालका लागि यो उनको पहिलो गोल हो । 

निशान खड्काको कर्नरमा अनन्त तामाङले सिर्जना गरेको अवसरमा दीपकराजले गोल गरे र नेपाली टिमको उद्धार गरे । भुटानले नेपाललाई बराबरीमा रोकेको पनि यो पहिलोपल्ट हो । यसअघि नेपाल र भुटानबीच १२ खेल भएका थिए । ती सबै खेलमा नेपाल विजयी रहेको थियो । त्यस अर्थमा नेपालका लागि यो खेल धेरै अर्थमा बिर्सनलायक रहनेछ । लिग चरणका तीनै खेलको समाप्तीमा नेपाल ४ अंकमा शीर्ष स्थानमा रह्यो । यस नतिजाका कारण भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने लाओस फाइनल पुगेको छ । लाओसको ३ अंक भयो भने भुटान एकै अंकमा सीमित रह्यो ।

भुटानले १९ औं मिनेटमा अग्रता लिएको हो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गरे । अनमार्क रहेका तेन्जिङले ‘फ्रि हेडर’को मौका पाएका थिए र बल ‘प्वाइन्ट ब्ल्यान्क रेन्ज’बाट पोस्टमा छिरेको थियो । त्यस हेड प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूसामु कुनै अवसर रहेको थिएन् र उनी मुकदर्शकमात्र रहे ।


भुटानको खेल भने धेरै हदसम्म परिपक्व देखियो र तिनका खेलाडीबीच समन्वय पनि राम्रो देखिएको थियो । पूरा खेल अवधिमा नेपालको प्रदर्शन उल्लेखनीय रहेन सकेन र खोलडीबीच आपसी तालमेलको पनि स्पष्ट अभाव देखिएको थियो । त्यसमाथि टिमका प्रमुख खेलाडी अञ्जन विष्टले बोकेको चोट चिन्ताको विषय हुन सक्नेछ ।

अञ्जन ५१ औं मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य रहे । चोटकै कारण उनी लाओसविरुद्ध खेलेका पनि थिएनन् । खेलको अन्त्यतिर नेपालले केही दबाब सिर्जना गरे पनि त्यसको फाइदा लिन सकेन् । नेपालका लागि दीपकराजसिंह ठकुरी र मनीष डांगीले गोलको अवसर सिर्जना गरे पनि त्यो निर्णायक हुन सकेन ।

नेपाली टिम : किरण लिम्बू, विकास खवास (निशान खड्का–८२), अनन्त तामाङ, नवीन लामा (कमल थापा–६६), एरिक विष्ट (भरत खवास–८२), अञ्जन विष्ट (दीपकराजसिंह ठकुरी–५१), पुजन उपरकोटी, नवयुग श्रेष्ठ (मनीष डांगी–४६), आयुष घलान, सनिश श्रेष्ठ, रोहित चन्द ।

प्रकाशित : चैत्र १४, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

कुम्मायक गोल्डकप : याङवरक र फाल्गुनन्द फाइनलमा 

लक्ष्मी गौतम

पाँचथर — याङवरक गाउँपालिका पाँचथरको कुम्मायक गाउँपालिकामा जारी चौथो 'कुम्मायक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा प्रतिस्पर्धी मिक्लाजुङ गाउँपालिकालाई टाइब्रेकर मा ६–५ गोल अन्तरले हराउँदै याङवरकले फाइनलको यात्रा सुरक्षित गरेको हो ।

निर्धारित समयमा ३–३ गोल बराबरीमा खेलेका दुवै टिमले थप गरिएको समयमा पनि निर्णायक गोल गर्न नसकेपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो ।

आजको खेलमा याङवरकका टिम क्याप्टेन सुमन योङ्यालाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगदसहित पुरस्कृत गरियो । विजेता याङवरकले बुधबार हुने फाइनल खेलमा उपाधिका लागि फाल्गुनन्द गाउँपालिकाबीच प्रतिस्पर्धा हुने आयोजक कुम्मायक स्पोटिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कारसहित तीन वर्षे रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता चैत ११ गते सुरु भएको थियो ।

प्रकाशित : चैत्र १४, २०७९ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×