कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महिला गल्फ विकासमा पहल : अगाडि बढ्दै जाऊ आर्शिया

दीपक आचार्य

नेपालमा गल्फ खेलमा महिलाहरूको सहभागिता, सम्भावना र विकासका लागि भएको केही पहलबारे म आज यस लेखमार्फत चर्चा गर्ने प्रयास गर्दै छु । मैले गल्फ खेल्न थालेको पनि ४२ वर्ष कटिसकेछ । समय कति चाँडै बितेछ, पत्तै भएन ।

महिला गल्फ विकासमा पहल : अगाडि बढ्दै जाऊ आर्शिया

यसबीच विभिन्न कालखण्डमा गल्फमा महिलाहरूको सहभागितालाई लिएर केही प्रयासहरू नभएका होइनन् । तर आर्शिया अल नेपाल वुमन्स ओपन गल्फ प्रतियोगिताले महिला गल्फमा जुन तरंग ल्यायो, यसको चर्चा नगर्ने हो भने आयोजकप्रति अन्याय हुन्छ भन्ने मलाई लाग्छ ।

मेरा ठम्याइमा यसको प्रमुख सूत्रधार आर्शिया बानु थिइन् । एक महिला गल्फर र हाल रोयल नेपाल गल्फ क्लबको महिला क्याप्टेन पनि । उनको दृढ इच्छाशक्ति र दूरदर्शिताले नै यो प्रतियोगिता आयोजना गर्न सम्भव भयो । उनले नेपालको सर्वाधिक सफल महिला खेलाडी प्रतिमा शेर्पा र मिडियाकर्मी सरिता श्री ज्ञवालीको साथमा प्रतियोगिता सञ्चालन गरिन् । प्रतियोगिता मुख्य प्रायोजन उनको आफ्नै संस्था आर्शिया कुटुरले गर्‍यो भने हातेमालो गर्न केही सहप्रायोजकले साथ दिए ।

आर्शियासँग मेरो पहिलो भेट झन्डै ५ वर्षअघि रोयल नेपाल गल्फ क्लबमा भएको थियो । उनलाई प्रायः प्रतिमा शेर्पासँग गल्फ खेलेको देख्थें । त्यसपश्चात् उनले प्रतिमाप्रति दर्शाएको न्यानो माया, ठूलो दिदीको व्यवहार र पथप्रदर्शकको भूमिकाले म नतमस्तक भएँ । उनले प्रतिमालाई आफ्नो परिवारको सदस्य नै मानिन् । मैले बुझेसम्म प्रतिमाको सामाजिक विकासमा आर्शियाको ठूलो योगदान रहेको छ । प्रतिमाको आत्मविश्वास सुदृढीकरणमा पनि उनको भूमिका प्रशंसनीय छ । आर्शियाले प्रतिमाबाहेकका अन्य खेलाडी तथा क्याडीहरूलाई सहयोग, माया र साथ दिएको मैले प्रत्यक्ष देखेको छु ।

सन् २०२२ मे महिनाको अन्त्यतिर आर्शियाले मलाई महिलाहरूका निम्ति प्रतियोगिता गर्ने योजना सुनाइन् । सुरुमा सुन्दा त म झस्किएँ । उनले करिब ५० महिला सहभागी हुने प्रतियोगिता आयोजना गर्छॅ भन्दै थिइन् । उनले यसो भनिरहँदा पछिल्लो २० वर्षदेखि म आफैं लगातार प्रतियोगिता सञ्चालन गर्दै आइरहेको र कुनै समय बिनाप्रतिस्पर्धा महिला विजेता खेलाडीलाई ट्रफी दिएको क्षण सम्झिएँ । त्यसमा म आर्शियालाई प्रतिप्रश्न गर्न बाध्य भएँ ।

मेरो अनुभवमा अधिकतम महिला सहभागी भएको प्रतियोगितामा १६ खेलाडी सहभागी थिए । मैले उनलाई आफ्नो अनुभव सुनाउँदै यति धेरै महिला खेलाडी कहाँबाट आउँछन् भनेर सोधें । आर्शियासँग मैले कल्पना गरेको भन्दा बिल्कुल फरक योजना रहेछ ।

आर्शियाले जुलाई २, २०२२ मा नेपालभरका गल्फ क्लबबाट प्रतिभावान, आर्थिक रूपमा विपन्न र क्याडीहरूलाई समेत समावेश गराएर ४७ जना महिला खेलाडी सम्मिलित आर्शिया अल नेपाल वुमन्स ओपन गल्फ प्रतियोगित सञ्चालन गरिन् । प्रतियोगिता साँच्चै नै उच्चकोटिको थियो । आकर्षक पुरस्कार रहेको यस प्रतियोगिताले नेपालमा आयोजना हुँदै आएको अन्य एकदिवसीय प्रतियोगितालाई नयाँ स्तरको चुनौती पेस गरेको अनुभव गरें । विजयी खेलाडीहरूले स्कुटर तथा विभिन्न विधामा आकर्षक पुरस्कार प्राप्त गरे ।

यस प्रतियोगितामा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्त्याइएको थियो । उहाँले आफ्नो मन्तव्यका क्रममा गल्फ खेल तथा यस प्रतियोगिताबाट आफूले समावेशिताका बारेमा निकै सिक्न पाएको बताउनुभयो । हुन पनि किन नहोस्, प्रतियोगिताको आयोजकमा एक मुस्लिम, एक शेर्पा र अर्को

ब्राह्मण मिलेर आयोजना गरेका थिए । सहभागितामा पनि सर्वोच्च अदालतका न्यायाधीश, कर्पोरेट क्षेत्र, ठूला व्यापारिक घराना, आर्थिक रूपमा विपन्न खेलाडी र क्याडीहरू सबै एकै प्रतियोगितामा एकसाथ जित्नका लागि प्रतिस्पर्धा गरिरहेका थिए ।

सबैलाई समान अवसर दिएकामा आर्शियाको आँटलाई मान्नैपर्छ । अर्को पक्ष उनले वर्षायामको बीचमा यति ठूलो प्रतियोगिता आयोजना गर्ने साहस देखाइन् । र, भगवान्ले पनि साथ दिए । प्रतियोगिताको अवधिभर वर्षा भएन र प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो ।

यतिमात्र नभई राष्ट्रपतिको रोयल नेपाल गल्फ क्लबमा उपस्थिति हुनुले पनि प्रतीकात्मक महत्त्व बोकेको छ । यस क्लब लामो समयसम्म राजपरिवारको संरक्षकत्वमा थियो । आर्शिया अल नेपाल वुमन्स ओपन प्रतियोगिताले जुराएको साइतमा क्लबका अध्यक्षले आफ्नो भाषणका क्रममा राष्ट्रपतिसमक्ष क्लबको जग्गा लिज नवीकरणमा सहजीकरणका लागि निवेदन गर्न भ्याए ।

नेपालमा ऐतिहासिक प्रतियोगिता सञ्चालन गरेकामा आर्शियालाई मुरीमुरी बधाई तथा शुभकामना । केही समयअघि मात्र यस खेलमा प्रवेश गरेकी आर्शिया बानुलाई जीवनमा धेरै सफलता मिल्दै जाओस् । नेपालको महिला गल्फ विकासका निम्ति उहाँलाई थप ऊर्जा मिलोस् । साँच्चै नै उहाँको यो प्रयास नेपाली गल्फ इतिहासको पानामा सुनौला अक्षरमा दर्ज हुनेछ ।

-लेखक नेपाल गल्फ संघ र नेपाल प्रोफेसनल गल्फ संघका महासचिव हुन् ।

प्रकाशित : श्रावण ७, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×