१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

जिदानको चाहना प्रशिक्षणमा फर्कने

द मिरर

पेरिस — रियल म्याड्रिड छाडेयता जिनेदिन जिदानले प्रशिक्षकको नयाँ भूमिका सम्हालेका छैनन् । उनी कति राम्रा प्रशिक्षक हुन्, त्यसमा भने कसैलाई शंका छैन । उनले रियलका लागि तीनपल्ट युरोपेली च्याम्पियन्स लिग उपाधि जितेका छन् । अहिले उनका अगाडि फेरि ‘डग आउट’ मा फर्कने दुई विकल्प छन्, एक, फ्रान्सेली राष्ट्रिय टिमका लागि । अर्को पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि । उनी वास्तवमै फेरि प्रशिक्षणमा फर्कन चाहन्छन्, तर दोधारमा छन् ।

जिदानको चाहना प्रशिक्षणमा फर्कने

दोधार के अर्थमा भन्दा उनलै फ्रान्सेली राष्ट्रिय टिम अथवा पीएसजी दुईमध्ये एक रोज्न सकिरहेका छैनन् । यसैबीच जिदानको भर्खर एउटा नयाँ अन्तर्वार्ता निस्केको छ र उनले त्यसमा आफ्नो खेल जीवनका केही खास–खास क्षणबारे चर्चा गरेका छन् । टेलेफुटसँगको कुराकानीमा उनी अधिकांश समय खेलाडीका रूपमा आफूले सम्झनुपर्ने घटनामै केन्द्रित छन् । तर उनले प्रशिक्षकका रूपमा आफ्नो नयाँ योजनाबारे पनि प्रस्ट बोल्ने प्रयास गरेका छन् ।

जिदानको स्विकारोक्ति हो, प्रशिक्षणमा फर्कनका लागि उनी सबै प्रकारको सम्भावनालाई लिएर खुला छन् । तर आफ्नो गन्तव्यबारे भने उनी ठोस रूपमा भन्न सकिरहेका छैनन् । उनले भनेका छन्, ‘मूल प्रश्न हो, के म प्रशिक्षकका रूपमा अझै कुनै न कुनै प्रकारले योगदान दिन सक्छुं त ? मेरो दाबी हो, मेरो प्रशिक्षक खेल जीवनको अझै पर्याप्त सम्भावना छ । म फेरि प्रशिक्षकको काममा फर्कन चाहन्छुं । फुटबलप्रतिको मोह अझै सकिएको छैन, त्यसैले म फेरि फर्कने क्रममा छुं ।’

प्रशिक्षकका रूपमा उनलाई केही जादुयी मान्ने पनि छन् । यसको प्रमुख कारण उनले रियलका लागि प्राप्त गरेको सफलता नै हो । यसको रहस्य के हो त ? जिदान रियललाई सम्हाल्नु निकै कठिन काम भएको मान्छन् र यसका कारण टिममा एकसेएक स्टार खेलाडी हुनु पनि मान्छन् । यी स्टार खेलाडीलाई एकै स्थानमा राखेर खेलाउने काम निकै कठिन रहेको उनको अनुभव हो । उनी भन्छन्, ‘जत्तिकै गाह्रो भए पनि रियलमा छँदा हामीले कडा मिहिनेत भने गरेका थियौं ।’

उनी थप्छन्, ‘हाम्रो मिहिनेतले किन सफलता प्राप्त गरेको थियो भने हाम्रा खेलाडी निकै अब्बल दर्जा थिए । रियल छँदा जे जति भयो, त्यसको सबै जिम्मेवारी मेरो हो । यसक्रममा केही सफलता पनि प्राप्त भए, केही असफलता पनि । तर एउटा तथ्य निश्चित छ, मैले जति पनि समय रियलमा बिताएँ, मेरा लागि खेल्ने खेलाडी निकै माथिल्लो स्तरका थिए । जति पनि प्राप्त सफलता पछाडि मेरो मात्र होइन, सबैको समान भूमिका र योगदान रहेको थियो ।’

पीएसजीलाई अन्योल

पीएसजी आफैं भने जिदान आउनेछन् अथवा छैनन् भनेर अन्योलमा रहेको छ । फ्रान्सेली फुटबल वृत्तमा पछिल्लो समय के हल्ला छ भने जिदान पीएसजी जान चाहँदैनन् र उनको लक्ष्य भनेको फ्रान्सेली राष्ट्रिय टिम नै हो । त्यसैले पनि पीएसजी जिदानलाई लिएर ढुक्क हुन सकेको छैन । जिदान आफैंले पनि यही भनेर केही ठोस भनेका छैनन् । पीएसजीका लागि अहिले तत्कालको समस्या के हो भने उससँग अर्को सिजनका लागि प्रशिक्षक छैन ।

यसअघिका प्रशिक्षक मउरिसो पोचेटिनो र पीएसजीले एकआपसमा छुट्टिने निर्णय गरिसकेका छन् । त्यसैले पीएसजीले आफ्नो नजर निसका वर्तमान प्रशिक्षक क्रिस्टोफ गाल्टायरमाथि लगाएको छ । पीएसजी चाहन्छ, निसले आफ्ना प्रशिक्षक छाडोस् र उनको पेरिस आउने बाटो खुलोस् । पीएसजीले पोचेटिनोले छाड्ने निश्चित भइसकेको छ भनेर औपचारिक रूपमा भनेको छैन, किनभने दुई पक्षबीच अझै एक वर्षको अनुबन्ध बाँकी छ र त्यस अगाडि नै छुटिंँदा तिर्नुपर्ने रकमबारे निर्णय हुन सकेको छैन ।

नयाँ फ्रान्सेली सिजन अगस्टको पहिलो साता सुरु हुनेछ र जुलाईको पहिलो सातादेखि नै सबै टिमले आफ्नो तयारी सुरु गर्नेछन् । त्यसैले पनि पीएसजी नयाँ प्रशिक्षकका लागि हतारिएको हो । समस्या के तथ्यमा पनि छ भने निस र प्रशिक्षक गाल्टायरबीच अझै दुई वर्षको अनुबन्ध बाँकी छ, त्यसैले उनले त्यस अगाडि नै क्लब छाड्न भने उल्टै मोटो रकम तिर्नुपर्नेछ । गाल्टायर ल्याउने हो भने पीएसजीले यो रकम पनि तिर्नुपर्नेछ ।

प्रकाशित : असार ६, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?