सुनीलको खुलदुली
हङकङ — नेपाल र हङकङबीचको क्रिकेट हुने भनेपछि अगाडि आइहाल्ने एउटा नाम हो शेरबहादुर लामा । धेरैले उनलाई सुनील भनेर चिन्छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीचको खेलअघि उनै सुनील फेरि चर्चामा छन् । नेपालले शुक्रबार र आइतबार हङकङविरुद्ध खेल्दै छ ।
सुनीलको बाल्यकाल भारतमा बित्यो । त्यसपछि युवा अवस्था नेपालमा बिताए । यही क्रममा भारतमा सिकेको क्रिकेटले उनलाई नेपालमा स्थापित खेलाडी बनायो । उनले ललितपुरबाट जय ट्रफी राष्ट्रिय प्रतियोगितामा तीनपल्ट खेले । क्लब क्रिकेट उनी बालुवाटारबाट खेल्थे ।
२० वर्षकै उमेरमा उनी बुवाको ‘लाहुरे’ आईडीबाट हङकङ लागे । नेपालबाट खेल्ने उनको रहर अधुरै थियो । उनी राष्ट्रिय प्रतियोगिता खेल्न नेपाल आउँथे । बन्द प्रशिक्षणका लागि छानिन्थे । तर दुई महिनाजस्तो लामो बन्द प्रशिक्षणमा बस्नुपर्ने बाध्यकारी नियमले उनलाई नेपाली टिमको बाटो छेकेको थियो । त्यसपछि उनी हङकङ क्रिकेटमै स्थापित भए ।
संयोग, सुनील पहिलोपल्ट सन् १९९८ मा हङकङको राष्ट्रिय टोलीमा छानिएपछि नेपालमै खेल्न आएका थिए । एसीसी ट्रफीमा उनले नेपालविरुद्ध समूह चरणमा हङकङबाट खेलेका थिए । नेपाली दर्शकले नेपाली खेलाडी हङकङबाट खेलेको भनेर आश्चर्यता मात्र जनाए । सुनीलले अरु त्यस्तो केही अनुभव गर्नुपरेन ।
सन् २००० को एसीसी ट्रफीमा नेपालको भेट सेमिफाइनलमा हङकङसँग भयो । चर्चा उनै सुनीलको थियो । विजेता एसिया कपका लागि छनोट हुन्थ्यो र एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउँथ्यो । सुनीलले ३ विकेट लिँदै नेपालको सपना छिने । शारजहाँ मैदानमा नेपालको खेल हेर्न धेरै दर्शक पुगेका थिए । सुनीलले आफ्नो कर्मथलो हङकङलाई फाइनलमा पुर्याए पनि तर नेपाली दर्शकबाट उनले गाली सुन्नुपर्यो । उनलाई दर्शकले ‘देशद्रोही’ समेत भने ।
उनको त्यही ‘देशद्रोही’ प्रदर्शनले सुनीललाई एकदिवसीय अन्तर्राष्ट्रियसम्म पुर्यायो । सन् २००४ मा श्रीलंकामा बंगलादेशविरूद्ध एसिया कपमा मैदानमा उत्रँदै उनले एकदिवसीय अन्तर्राष्ट्रिय खेले ।
नेपाली खेलाडी एकदिवसीय अन्तर्राष्ट्रियमा जोडिएको यो पहिलोपल्ट थियो । तर उनले त्यो सफलता हङकङबाट खेल्दै पाएका थिए । आफूले खेलेका एकदिवसीय अन्तर्राष्ट्रियको सफलतालाई उनी नेपाली क्रिकेटसँगै जोड्छन् ।
सन् २००८ मा उनले खेलाडी जीवनबाट संन्यास लिए । उनी त्यसपछि प्रशिक्षणमा होमिए । उनी हङकङको युवा टिम लिएर नेपालमा नै प्रतिस्पर्धा गर्न आए । उनी आफ्नो सफलता नेपालमै देखाउन चाहन्थे । पछिल्लो दुई वर्ष उनले बालुवाटार क्रिकेट ट्रेनिङ सेन्टरको प्रमुख प्रशिक्षक भएर जिम्मेवारी सम्हाले । उनी फेरि हङकङ फर्किएको हालै मात्र हो ।
४४ वर्षे उनी आइतबार टिन क्वोङ रोड रिक्रिएसन मैदानमा नेपाल र हङकङबीचको खेल तयारीमा थिए । दुई टिम खेल्ने मिति नजिकिएसँगै उनको खुलदुली बढ्दो छ ।
नेपालमा एउटा खेलाडी पर्न पर्यो भने सयौं जना आउँछन् छनोटका लागि । तर हङकङमा खेलाडी भनेकै गिने चुनेर जम्मा ४ सयजति छन् । नेपालमा स्रोतको कुनै कमी छैन । हङकङमा भने यसमा समस्या छ । त्यही भएर पद्धति हुने हो भने नेपालको क्रिकेट धेरै राम्रो हुन्थ्यो । नेपालको टिम अहिले राम्रो छ । हङकङमा भएता पनि नेपालले दुवै खेल जित्नुपर्छ । म खेलमा नेपाललाई नै समर्थन गर्छु । मलाई लाग्छ नेपालले दुवै खेल जित्छ पनि र च्याम्पियनसिपमा टोली अगाडि बढ्ने छ ।प्रकाशित : आश्विन २४, २०७४ ०७:२४