बागलुङको टाइब्रेकर जित

बागलुङ — प्रथम मेयर कप फुटबलमा आयोजक बागलुङ नगरपालिकाले विजयी सुरुआत गरेको छ । बांगेचौर मैदानमा मंगलबार बागलुङले गोरखाको पालुङटार नगरपालिकालाई टाइब्रेकरमा ४–३ ले हरायो । 

बागलुङको टाइब्रेकर जित

निर्धारित समयमा २–२, थप समयमा १–१ भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो हाफको आठौं मिनेटमै आशिष केसीले गोल गरेपछि बागलुङले अग्रता बनायो ।

२२ औं मिनेटमा पालुङटारका जुद्धकुमार गुरुङले गोल फर्काएर खेल बराबरीमा ल्याए । खेलको ६० औं मिनेटमा बागलुङका प्रमेश थापाले गोल थपे । तर, लगतै ६८ औं मिनेटमा पालुङटारका सन्दीप भट्टले बराबरी गोल गरेपछि खेल प्रतिस्पर्धात्मक बन्यो । थपिएको समयमा बागलुङका प्रमोल थापा र पालुङटारका प्रवीणकुमार गुरुङले गोल गरेका थिए । आयोजकका गोलरक्षक रुपेश बोहरा म्यान अफ द म्याच घोषित भए ।

बुधबार गलकोट नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाबीच भकुण्डे मैदानमा प्रतिस्पर्धा हुनेछ । प्रदेश नम्बर ४ का ११ नगरपालिकाको सहभागिता रहेको प्रतियोगिता विजेता र उपविजेताले क्रमश: २ लाख २२ हजार तथा १ लाख ११ हजार रुपैयाँ पुरस्कार जित्ने छन् ।

प्रकाशित : माघ १७, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?