३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

यू–१२ टोली छनोट

लेखनाथ — जापानमा हुने यू–१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताका लागि नेपाली टोली छनोट गरिएको छ । पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनको उपस्थितिमा पोखरा रंगशालामा १२ सदस्यीय टोली छनोट गरिएको हो । 

जापानस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक रहेका वसन्तले चैतमा प्रतियोगिता हुने बताए । छनोट हुनेमा अजित श्रेष्ठ, साइमन गौचन, अनिल सूचीकार, राजकुमार गुरुङ, सुवास गुरुङ, मनीष क्षत्री, रितेश गुरुङ, मनीष सिंजाली, मनोज विश्वकर्मा, अनुपम श्रेष्ठ, श्रेयस थापामगर र नोर्बु लामा छन् । गौचनसहित फन रुट्स एकेडेमी जापानका सञ्चालक जुन हिरानो, प्रशिक्षक राजेन्द्र तामाङ, राखेप पूर्व फुटबल प्रशिक्षक शम्भु केसी लगायत टोलीले खेलाडी छनोट गरेको हो ।

नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अस्ट्रेलिया, दक्षिण कोरिया, चीन, ताइवान, घाना लगायतका देशका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ । सञ्चालक हिरानोले कोपा पुमा टोरेरस प्रतियोगिता खेल्न पाउनु निकै राम्रो अवसर भएको बताए । पोखरा रंगशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको टिमले जापानमा प्रदर्शन गर्ने फुटबलले अरुलाई पनि अवसर मिल्ने जनाए । जापानको टोकियोस्थित रिसहो विश्वविद्यालयका प्रशिक्षक तोकाई रिनले आगामी दिनमा जापानी विश्वविद्यालयको टिम पोखरा ल्याउन सकिने बताए । आहा–रारा गोल्डकपकै समयमा आइपुगेका प्रशिक्षक तोकाईले नेपाली क्लबको फुटबलस्तर निकै राम्रो भएको प्रतिक्रियासमेत दिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले अब नेपालमा पनि स्पोर्ट्स विश्वविद्यालयको परिकल्पना गरिएको बताए । पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले यू–१२ नेपाली टिम लैजाने यो तेस्रो अवसर भएको भन्दै आगामी दिन अझ राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त भएको बताए । उनले जापानी युनिभर्सिटीको टिम नेपाल ल्याउने विषयमा भने पहल गर्ने सुनाए ।

प्रकाशित : माघ १७, २०७४ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?