१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मध्यमाञ्चल र आर्मीलाई उपाधि

धनकुटा — सातौं राष्ट्रिय खेलकुदको सदरमुकाममा सम्पन्न बुद्धिचालको पुरुषतर्फ मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा महिलातर्फ आर्मी क्लबकी क्यान्डिडेट मास्टर मोनालिसा खम्बू स्वर्ण जित्न सफल भएका छन् ।

मोनालिसाले राष्ट्रिय खेलकुदमा दोस्रोपल्ट स्वर्ण जितेकी हुन् ।

शुक्रबार नवौं चरणमा एपीएफका सुमितसँग बराबरी खेलेका मदनकृष्ण मध्यमाञ्चलकै अर्का प्रत्यासी रिजेन्द्र राजभण्डारीलाई हेड टु हेडमा पछि पार्दै २० औं राष्ट्रिय बुद्धिचाल च्याम्पियन बने । रिजेन्द्रले रजत र आर्मीका हिमाल लामाले कांस्य जिते । आर्मीका वुमन फिडेमास्टर सुजना लोहनी रजत र सिन्दिरा जोशी कांस्य जित्न सफल भए ।
ह्यान्डबल
विराटनगर– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलको स्वर्ण आर्मीले जितेको छ । शुक्रबार एपीएफलाई २८–२७ गोलले हराउँदै स्वर्ण संख्या बढाएको हो । निर्धारित समयमा दुवै टिमबाट २५–२५ गोलको बराबरीपछि अतिरिक्त १० मिनेटमा आर्मीले ३ र एपीएफले २ गोल गरेपछि स्वर्णको छिनोफानो भएको हो । पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३६–२० गोलले हराउँदै कांस्य जित्यो । महिलातर्फ एपीएफले स्वर्ण जितेको छ । उसले आर्मीलाई १८–१३ ले हरायो । पश्चिमाञ्चलले मध्यमाञ्चललाई १२–२ गोलले हराएर कांस्य जित्यो ।
पदकधारीलाई सम्मान
बागलुङ– सातौं राष्ट्रिय खेलकुदको आईटीएफ तेक्वान्दोका स्वर्ण विजेता बागलुङका दिनेश बुढालाई १० हजार रुपैयाँसहित सम्मान गरिएको छ । 
बुढासहित बागलुङका रजतपदक विजेता शर्मिला महत, दीपक गौतम, रीतु अधिकारी, उमिसा घर्ती, कांस्य विजेता शिव जिसी र कामना पुनलाईसमेत सम्मान गरिएको हो । आईटीएफ तेक्वान्दोका जिल्ला अध्यक्ष ससबहादुर पुनले खेलाडीहरूले बागलुङलाई चिनाएको बताए । 
प्रजिअ भागीरथ पाण्डेय र स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले खेलाडीले बागलुङको सान बढाएको भन्दै बधाई दिएका थिए ।
फेन्सिङ 
काठमाडौं– त्रिपुरेश्वरस्थित कभर्डहलमा सम्पन फेन्सिङ च्याम्पियनसिपको पुरुष फोयल एकलतर्फ मध्यमाञ्चलका सञ्जीव लामाले स्वर्णपदक जितेका छन् । उनले आर्मीका जलेन्द्र शाहीलाई १५–१४ अंक हरए । आर्मीका अनुप भण्डारी र मध्यमाञ्चलका पुरुषोत्तम खत्रीले कांस्य जिते ।
महिलातर्फ आर्मीकी रमा सिंह ठकुरी विजेता भइन् । एपीएफकी मन्दिरा थापा दोस्रो र सेनाकी सुनीता बुढाथोकी र एपीएफकी उर्मिला माझी तेस्रो भए ।
फोयलको महिला टिम इभेन्टमा एपीएफले स्वर्ण जित्यो । उक्त टिममा उर्मिला माझी, अनिता अधिकारी, मन्दिरा थापा र रुवि तामाङ छन् । त्यसैगरी मध्यमाञ्चल टिमले रजत जित्यो । टिममा सुजाता कुावर, गोमा आचार्य र सुष्मा मगर थिए ।

प्रकाशित : पुस १६, २०७३ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?