कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

विश्व खेलकुदमा विवाद र आश्चर्य

सन् २०१६

काठमाडौं — सन् २०१६ दुई प्रतियोगिताको सेरोफेरोमा चर्चित रहे, ग्रीष्मकालीन ओलम्पिक (रियो दि जेनेरियो) र युरो कप (फ्रान्स) । साँच्चै यो वर्ष विश्व खेलकुदका लागि निकै उतारचढावपूर्ण भयो । त्यस्तै स्मरणीय पनि ।

विश्व खेलकुदमा विवाद र आश्चर्य

आर्थिक संकटग्रस्त ब्राजिलको रियो दि जेनेरियोमा आयोजित ओलम्पिक अपेक्षा गरिएभन्दा सफल रह्यो । ब्राजिलले ओलम्पिक आयोजनाको जिम्मेवारी पाउँदा देश आर्थिक उन्नतितर्फ अग्रसर थियो । जति बेला व्यवहारमै प्रतियोगिता आयोजना गर्नुपर्ने भयो, देशको त्यो स्थिति रहेन । त्यसपछि संसारले ब्राजिलको आयोजना क्षमतामाथि नै प्रश्न उठाउन थाले । आयोजना गरेको खण्डमा ब्राजिली अर्थतन्त्र डामाडोल हुने अड्कलसमेत काटियो । तर ब्राजिलले ईखले ओलम्पिक गरेरै देखायो । आतिथ्यमा कुनै कसर बाँकी राखेन । सबै यसलाई सफलता मान्न बाध्य भए । अन्तिम पदक तालिकामा अमेरिका कुल १ सय २१ पदकसहित शीर्षस्थानमा रह्यो । त्यसमा ४६ स्वर्ण थियो । रियो ओलम्पिकमा जमैकाका धावक उसेन बोल्टले तीन स्वर्ण जितेका थिए । उनले लगातार तीन ओलम्पिकमा तीन–तीन स्वर्ण जितेका हुन् ।
अमेरिकाको प्रदर्शन अपेक्षित जस्तै थियो । सबैलाई आश्चर्यमा पारेर उत्कृष्ट प्रदर्शन गर्ने टिमचाहिँ बेलायत रह्यो । बेलायतले २७ स्वर्णसहित कुल ६७ पदक जित्यो । यो ओलम्पिक इतिहासमै बेलायतको उत्कृष्ट प्रदर्शन थियो । यसको सीधा अर्थ चीन पछाडि रहनु थियो । चीन तेस्रोमा रह्यो, २६ स्वर्णसहित कुल ७० पदक जितेर । तेस्रो स्थानमा चीन आउनुको अर्थ नि:सन्देह खराब प्रदर्शन थियो र यसलाई लिएर चीनभित्र धेरै आलोचना पनि भएको थियो ।
प्रतियोगिताअघिसम्म ओलम्पिकमा रुसको सहभागिताबारे निश्चित थिएन । यसअघिका ओलम्पिक र विश्व च्याम्पियनसिपमा रुसले प्रायोजित रूपमा खेलाडीलाई डोपिङ गराएको आरोप पुष्टि भएको थियो । विश्व खेलकुदमा पूरा देश नै प्रतिबन्धित शक्तिबद्र्धक औषधीको प्रयोगमा लागेको यति धेरै बृहत् घटना यो नै पहिलोपल्ट रह्यो । अन्तिम समयमा सहभागिता जनाउन पाएको रुसले १९ स्वर्णसहित ५५ पदकचाहिँ जित्यो । यो विवादले ओलम्पिक आयोजना संघारका सबै खाले अपेक्षित चर्चा परिचर्चा छायामा परे ।
युरो २०१६ को फुटबलको उपाधि भने क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगलले जित्यो । पोर्चुगल युरोपको पारम्परिक फुटबल शक्ति हो । तर त्यसले कुनै ठूलो उपाधि जितेको थिएन । सधैं आशलाग्दो खेलेर बीचै वा अन्तिममा हार्ने टिमको छवि यसले बनाएको थियो । तर सुरुमा पोर्चुगल धर्मराए पनि अन्तत: आयोजक फ्रान्सलाई हराउन सफल भयो ।
दक्षिण अमेरिकी फुटबलको शीर्ष प्रतियोगिता कोपा अमेरिका चिलीले जित्यो । साविक विजेता पनि चिली नै थियो । ठूला प्रतियोगिताको फाइनलसम्म पुगेर अन्तत: फ्यानहरूलाई निराश पार्ने रोगले अर्जेन्टिनी फुटबललाई अझै छाडेको छैन । फुटबलमा इङलिस प्रिमियर लिगको उपाधि लेस्टर सिटीले जितेर संसारलाई जिल्ल पार्‍यो । लेस्टरले विश्वकै महँगो र लोकप्रिय लिग जित्नेछ भनेर सायदै कसैले विश्वास गरेका थिए । लेस्टरले जितेका कारण सबै खाले खेलमा साना टिमको मनोबल पनि बढेको छ ।
क्रिकेटमा भारत टेस्ट वरीयताको नम्बर १ टिम बन्न सफल भएको छ । विश्वकै सबैभन्दा धनी खेल संस्था भारतीय क्रिकेट बोर्डले घरेलु ढाँचामा पर्याप्त लगानी गरेको छ । यसै कारण भारत विश्व क्रिकेटमा सबैभन्दा मजबुत देश बन्न सफल भएको हो । खराब व्यवस्थापनबाट गुज्रिरहे पनि वेस्ट–इन्डिजले सन् २०१६ मा वल्र्ड ट्वान्टी–ट्वान्टीको उपाधि जित्यो ।

प्रकाशित : पुस १६, २०७३ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?