आठौं संस्करण मध्यपश्चिममा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं संस्करण मध्यपश्चिममा

आर्मीको दबदबामा सकियो सातौं राष्ट्रिय
हर्ष सुब्बा

धरान — पूर्वाधारमा देखिएका कमी कमजोरी आठौं संस्करणमा नदोहोरिने प्रतिबद्धता जाहेर गर्दै शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको आतिथ्यमा सातौं राष्ट्रिय खेलकुद सकिएको छ ।

समापनकै अवसरमा आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा आयोजना गरिने घोषणा गरिएको छ । एन्फा टेक्निकल सेन्टरमा सम्पन्न समारोहमा खेलकुद मन्त्री दलजित श्रीपाइलीले मध्यपश्चिमाञ्चल टोलीलाई राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरे । 
समारोहमा उपराष्ट्रपति पुनले सातौं राष्ट्रियमा बेहोर्नुपरेको पूर्वाधारको समस्या, व्यवस्थापन र खेलाडी अनुशासनका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्वाधारका समस्याले खेल र खेलाडीलाई प्रभावित गर्ने बताए । पुनले यस्ता समस्याकै कारण राष्ट्रिय खेलकुदको बाह्रौं संस्करण हुनुपर्ने अवस्थामा सातौंमा बल्ल पुग्नु दु:खद भएको स्मरण गराए ।
नेपाली खेलकुद विकासका लागि राष्ट्रिय प्रतियोगिता नियमित हुनु जरुरी भएको औंल्याउँदै उपराष्ट्रपति पुनले भने, ‘सातौं खेलकुदमा कतिपय राष्ट्रिय नयाँ कीर्तिमान कायम छन्, यसबाट खेलकुदको विकास मापन गर्न सकिन्छ ।’ 
खेल अनुशासन र व्यवस्थापनका कुरा मिडियामा आउनु राम्रो नभएको उल्लेख गर्दै उनले भने, ‘अनुशासित फौजले मात्र युद्ध जित्न सक्छ, त्यस्तै अनुशासित खेलाडीले मात्र खेल जित्न सक्छ ।’ उनले राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण महत्त्वपूर्ण भएकाले आठौं राष्ट्रियको पूर्वाधार तयारीमा जुट्न खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराए ।
धरानस्थित मुख्य रंगशालाको मैदान तयारी गर्न नसक्दा कुनै खेलकुद हुन नसके पनि समापन समारोह त्यही रंगशालामा गरिने पूर्वघोषणा गरिएको थियो । तर रंगशालाको मैदान सम्याउने काम हुन नसक्दा समारोह धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा आयोजना गरिएको हो ।
धरानमा आयोजक राष्ट्रिय खेलकुद परिषद् स्वामित्वका ३ वटा पूर्वाधार भए पनि यहाँ भएका ७ मध्ये ६ वटा राष्ट्रिय प्रतिस्पर्धा स्थानीय सामुदायिक पूर्वाधारमा गर्नुपरेको थियो । धरान–१३ स्थित अमर सेवा कभर्डहल, डिपो उच्च माविको बास्केटबल कोर्ट र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अन्तर्राष्ट्रिय गल्फ कोर्समा प्रतिस्पर्धा सञ्चालन भए । खेलकुद मन्त्री श्रीपाइलीले सातौं राष्ट्रिय खेलकुदमा देखिएको पूर्वाधार तयारी अभावलाई गम्भीर रूपमा लिएको बताए । उनले अब पूर्वाधार निर्माणलाई खेलकुद विकासको पहिलो सर्तका रूपमा लिइने प्रतिबद्धता जनाए । उनले भने, 
‘अबका पूर्वाधार निर्माणका काम योजनाबद्ध अघि बढाउँछौं ।’ 
आठौं राष्ट्रिय खेलकुदमा पूर्वाधारको समस्या नआउने उनको दाबी थियो । 
सातौं राष्ट्रिय तीन वर्षअघि नै हुनुपर्ने भए पनि स्थगन हुँदै ५ वर्षपछि आयोजना गरिएको हो । हरेक २ वर्षमा हुने गरी २०३८ सालमा काठमाडौंबाट सुरु राष्ट्रिय खेलकुद ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता सफलतापूर्ण आयोजना भएको दाबी गरे ।
विभिन्न कारणले समयमा राष्ट्रिय खेलकुद आयोजना नहुँदा नेपाली खेलकुद निराशाजनक अवस्थामा गुज्रिरहेका बेला सातौं खेलकुद आयोजना गर्न राखेप सफल रहेको उनको भनाइ थियो । 
समापनको अवसरमा एपीएफ र त्रिभुवन आर्मीबीच पुरुष फुटबलको फाइनल भएको थियो । प्रधानसेनापति राजेन्द्र क्षेत्री एवं सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई समारोहमा उपस्थित थिए । साताव्यापी सातौं रष्ट्रिय खेलकुदका विभिन्न ३५ खेलमा २ सय ९४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा ३ हजार ९ सय ७२ खेलाडीले भाग लिएको आयोजक राखेपले जनाएको छ । सातौं राष्ट्रियमा क्षेत्रीय छनोटमार्फत ४ हजार ३ सय १० र प्रत्यक्ष सहभागितातर्फ १ हजार ५ सय ३९ गरी ५ हजार ८ सय ४९ खेलाडीले भाग लिएका थिए ।
प्रतियोगिताका खेल सुनसरीको धरान, दुहबी, इटहरी, इनरुवा, झापाको चन्द्रगढी, धुलाबारी, दमक, काँकडभिट्टा, सप्तरीको राजविराज, सिरहा सदरमुकाम, मोरङको विराटनगर, बैजनाथपुर, टंकीसिनवारी, धनकुटा, पोखरा, काठमाडांै र ललितपुरमा भएका थिए । सातौं राष्ट्रियमा स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङमा पदक प्रदान गरिएन ।

प्रकाशित : पुस १६, २०७३ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

नेपालको कठिन जित

पर्वत पोर्तेल

सिलिगुडी (भारत) — गोलको वर्षामा ‘ब्रेक’ लागे पनि नेपाल शुक्रबार श्रीलंकालाई १–० ले पन्छाउँदै समूह विजेताका रूपमा चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

कञ्चनजंघा स्टेडियममा लगातार तीन जितसँगै नौ अंक बनाएर नेपालले समूह ‘ए’ विजेताका रूपमा निरन्तर चौथोपल्ट क्षेत्रीय फुटबलको अन्तिम चारको यात्रा तय गरेको हो । नेपालसँगै यो समूहबाट माल्दिभ्स ६ अंक जोड्दै उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ । उसले शुक्रबारको दोस्रो खेलमा भुटानलाई ३–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।
नेपालले सुरुमा दुई खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराएको थियो । त्यसमा ११ गोल गरेकी फरवार्ड सावित्रा भण्डारी कडा निगरानीमा परेपछि नेपाली टिमले समूह चरणको अन्तिम खेलमा गोल गर्न सकेन ।
खेलको अन्त्यतिर श्रीलंकाली डिफेन्डर आरडीएलआरले आत्मघाती गोल गरेपछि नेपालको जित सम्भव भएको थियो । उनले सपना लामाको कर्नरमा बल क्लियर गर्ने प्रयासमा ८७ औं मिनेटमा आत्मघाती गोल गरेकी थिइन् । नेपाली खेलाडीले भारतबाहेक दक्षिण एसियाली टिमसँगको प्रतिस्पर्धामा गोल गर्न नसकेको यो नै पहिलो हो ।
आत्मघाती गोलकै सहयोगमा भए पनि नेपालले श्रीलंकासँगको भेटमा शतप्रतिशत जितलाई पाँचौं खेलसम्म पुर्‍याएको छ । नेपालले यसअघि श्रीलंकालाई ११ औं दक्षिण एसियाली खेलकुद (साग/२०१०) मा ८–०, दोस्रो साफ/२०१२ मा ३–०, चौथो साफ/२०१४ मा ३–० र १२ औं साग/२०१६ मा ४–० ले पराजित गरेको थियो । सिलोङमा गत वर्ष भएको १२ औं सागमा सावित्रा भण्डारीले दुई र सपना लामाले एक गोल गरेका थिए । तर, सिलिगुडीमा उनीहरू चल्न सकेनन् । १५ वर्षीया अञ्जना रानामगरलाई गोलपोस्टको जिम्मेवारी दिएको नेपालले सुरुबाटै श्रीलंकालाई दबाबमा राखेको थियो । तर, रक्षात्मक रणनीति लिएको श्रीलंकालाई चिर्न सकेन । सावित्रासहित नेपालका मुख्य खेलाडीलाई श्रीलंकाले खुलेर खेल्न दिएको थिएन । पूरा खेलमा श्रीलंकाली खेलाडी आफ्नै पेनाल्टी क्षेत्रवरिपरि नेपालको आक्रमण रोक्न व्यस्त देखिन्थे ।
श्रीलंकाली गोलकिपर साइना विजेरत्नेले नेपालको केही आक्रमण असफल पारेकी थिइन् भने केही प्रहार बाहिरिएका थिए । अग्रपंक्तिमा सावित्राकी ‘पार्टनर’ शर्मिला थापाले पनि सटीक प्रहार गर्न सकिनन् । दोस्रो हाफमा उनको स्थान लिएकी फरवार्ड सरु लिम्बूले पनि गोलको खाता खोल्न सकिनन् ।
‘खेलाडीको प्रदर्शन राम्रो भए पनि श्रीलंकाले रक्षात्मक खेल्दा गोल गर्न सकिएन,’ नेपालका मुख्य प्रशिक्षक कुमार थापाले भने, ‘शारीरिक रूपमा श्रीलंकाली खेलाडी बलिया थिए, हामी पनि कमजोर थिएनौं । हामीलाई रोक्ने विपक्षी प्रशिक्षकको रणनीति सफल भयो । फुटबलमा यस्तो हुन्छ ।’ तीन खेलमा सबै खेलाडी (२०) लाई प्रयोग गरेका उनले अन्तिम समयमा अञ्जनाको स्थानमा पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई गोलपोस्ट सम्हाल्न लगाएका थिए ।
श्रीलंकाली प्रशिक्षक एम रत्नम मोहम्मद जस्मिनले नेपाललाई बराबरीमा रोक्ने रणनीति सफल नभएको बताए । ‘नेपालका मुख्य चार खेलाडीलाई कडा निगरानीमा राखेका थियौं तर अन्तिममा डिफेन्डरको कमजोरीले पराजय बेहोर्न बाध्य भयौं,’ उनले भने ।
साफ महिला च्याम्पियनसिपमा नेपाल लगातार तीनपल्टको उपविजेता हो । अघिल्ला तीनै संस्करण जितेको भारत र बंगलादेशले समूह ‘बी’ मा आपसमा खेल्नुअघि नै चौथो साफको सेमिफाइनल यात्रा तय गरिसकेका छन् । यी दुईबीच शनिबार हुने खेलले नेपालको प्रतिद्वन्द्वीको टुंगो लगाउनेछ ।

प्रकाशित : पुस १६, २०७३ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×