फाइनलमा अञ्जन चम्के


धरान — सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा एपीएफका अञ्जन विष्ट नायक भए । उनले अधिकांश खेलमा आर्मीको वर्चस्व रहँदा शुक्रबार एपीएफलाई स्वर्ण जिताउँदै आफूलाई उत्कृष्ट सावित गरेका हुन् ।

दर्शकले भरिभराउ धरानको एन्फा टेक्निकल सेन्टरमा आर्मीविरुद्ध २–० को जितमा दुवै गोल अञ्जनले गरेका थिए । उनले १४ औं र ३० औं मिनेटमा गोल गरे । आर्मीले रजतपदकमा चित्त बुझाउनुपर्यो ।
सुरुदेखि नै आर्मीविरुद्ध एपीएफले दबाब सिर्जना गरेको थियो । एपीएफले अरू तीन गोल गर्ने सुनौला मौका भने सदुपयोग गर्न सकेन । दबाबमा खेलेको आर्मीले धेरै अवसर गुमायो । दोस्रो हाफको २३ औं मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहार एपीएफका टोपबहादुर विष्टले हेड गरेर बचाए । ३५ औं मिनेटमा दीप लामाको प्रहार पोस्ट नजिकबाट बाहिरियो । ४१ औं मिनेटमा स्टार स्ट्राइकर नवयुग श्रेष्ठको हेड प्रहार पोलमा ठोक्किएर फर्कियो । नेपाल पुलिसले फुटबलमा कांस्यपदक हात पार्यो ।