कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनविरोधी गतिविधि हुन नदिन आग्रह

चन्द्रशेखर अधिकारी

काठमाडौं — चिनियाँ अधिकारीहरूले हरेक वर्षको मार्च महिना चीनका लागि निकै संवेदनशील रहेको भन्दै आफ्नो देशविरोधी गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

नेपाल–चीन सुरक्षा संयन्त्र र सहकार्यसम्बन्धी आइतबार परराष्ट्र मन्त्रालयमा भएको विशेष बैठकमा चिनियाँ विशेष टोलीका प्रमुखले नेपालका तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी बल) उच्च अधिकारीसित त्यस्तो आग्रह गरेका हुन् ।
नेपालमा हुन सक्ने सम्भावित तिब्बतीसम्बन्धी गतिविधिलाई आधार मानेर चिनियाँ विदेश मन्त्रालयका बाह्य सुरक्षा मामिला विभागका प्रमुखले मार्च महिनालाई बढी संवेदनशील महिनाका रूपमा व्याख्या गरेको छलफलमा सहभागी नेपाली अधिकारीले जानकारी दिए ।
यसअघि दुई मुलुकमा राजदूतसमेत रहिसकेका चिनियाँ विदेश मन्त्रालयको संवेदनशील मानिएको बाह्य सुरक्षा मामिाल विभागका महानिर्देशक लिउ गुङअयुनाले नेपाल–चीन सुरक्षा संयन्त्र र सहकार्य बैठकमा आफ्नो देशमा मार्चमा धार्मिक, सांस्कृतिक एवं विविध उत्सव परेकाले चीनविरोधी गतिविधि हुन नदिन विशेष सजग रहिदिन आग्रह गरेका हुन् । उनले यो महिनामा नेपालमा रहेका तिब्बती र उनीहरूलाई बोकेर हिँड्ने केही विदेशीसमेत सलबलाउने गरेको भन्दै यसमा सचेत भइदिन नेपाल सरकारलाई आग्रह गरेको जानकारी गृहका उच्चअधिकारीले बताए । प्रत्युत्तरमा नेपाली सुरक्षा अधिकारीहरूले नेपालको भूमिबाट कुनै पनि छिमेकी विरोधी गतिविधि हुन नदिन सरकार र सुरक्षा निकाय सचेत रहेको बताएका थिए ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण पूर्वसन्ध्यामा चिनियाँ अधिकारीले नेपालमै आएर आफ्नो देशविरोधी गतिविधि हुन नदिन आग्रह गरेका हुन् । चिनियाँ अधिकारीले तिब्बती शरणार्थीका नाममा नेपालले उनीहरूलाई दिएको ‘प्यासेज’ र त्यसमा अन्य विदेशीको ‘प्याकेज’ बारे सजक रहनसमेत आग्रह गरेका थिए । चिनियाँ अधिकारीले दलाई लामा समर्थक तिब्बती शरणार्थीको गतिविधिमा ख्याल गरिदिनसमेत आग्रह गरेका छन् ।
शनिबार काठमाडौं आएका टोली सोमबार फर्कने छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखा प्रमुख झविन्द्र अर्यालले नेतृत्व गरेका थिए भने चीनको तर्फबाट लिउले । चीनको आग्रहमा विशेष बैठकमा राखिएको हो । बैठकमा नेपालले चीनको राष्ट्रिय स्वार्थमा आघात हुने कुनै गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा नेपाल–चीन सीमा सुरक्षालगायत पारस्परिक सम्बन्धका सबै विषयमा छलफल भएको नेपाली टोलीका प्रमुख अर्यालले जानकारी दिए । बैठकमा चिनियाँ सुरक्षा
मामिला महानिर्देशक लिउ, राजदूत उ छुन्थाईसहित १२ जना सहभागी थिए ।
नेपाली टोलीमा परराष्ट्र, गृह, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चअधिकारीको उपस्थिति थियो । नेपाली टोलीले नाकामा सबै नेपालीलाई एकदिने पास उपलब्ध गराउन आग्रह गरे पनि यसमा चीनका अधिकारी बोलेनन् । केरुङ र तातोपानी नाकामा त्यस्तो व्यवस्था तत्काल गरिदिन पनि आग्रह गरेका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७२ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?