कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारमा समस्या 

बझाङ — भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी एक महिलालाई रकम अभावले उपचारमा समस्या भएको छ । बझाङको विकट साइपाल गाउँपालिका वडा नम्बर–१, की एकल महिला पुनीदेवी बोहराको उपचारमा समस्या भएको हो । 

ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारमा समस्या 

शुक्रबार बिहान गाउँनजिकै रहेको गोठबाट गाईलाई घाँस हालेर फर्किंदै गर्दा भिर खसेको ढुंगा लागेर उनी घाइते भएकी हुन् । घाइते बोहरालाई स्थानीयले उद्धार गरी दिनभर स्ट्रेचरमा बोकेर शुक्रबार साँझ सदरमुकाम चैनपुरस्थित जिल्ला अस्पताल पुर्‍याएका थिए ।

जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले उनलाई धनगढी रिफर गरेको थियो । धनगढीको अस्पतालमा पनि उपचार नभएपछि अहिले उनी काठमाडौंको ट्रमा अस्पतालमा उपचाररत छन् । उनको खुट्टा भाँच्चिएको छ भने रक्तनली फुटेर रगत जमेका कारण खुट्टा काट्नुपर्ने सुझाव चिकित्सकले दिएका छन ।

‘अहिले ट्रमा अस्पतालको इमरजेन्सीमा भर्ना गराएका छौँ । अहिलेसम्म ६० हजार ऋण लागि सकेको छ,’ पुनीदेवीका भतिजा पर्ने वीरबहादुर बोहराले भने, ‘डाक्टरले अपरेसन गरेर खुट्टा काट्नु पर्छ भनेका छन् । हामीसँग औषधि गर्न एक रुपैयाँ पनि छैन । कतैबाट ऋण पाउने अवस्था पनि छैन ।’

पुनीदेवीका श्रीमान् जयधन बोहराको पाँच वर्ष पहिला मृत्यु भएको थियो । अहिले उनका नौ र ६ वर्षका दुई छोरा छन् । आर्थिक रूपले विपन्न रहेकी पुनीदेवीले ज्याला मजदुरी गरेर जेठाजुका चार जना छोराछोरीसमेतको समेत पालनपोषण गर्दै आएकी थिइन् । उनका जेठाजु र उनकी श्रीमतीको पनि मृत्यु भइसकेको बोहराले बताए ।

‘दुःख गरेर भए पनि सबैको ज्यान धान्ने मै थिएँ । आज मलाई नै यस्तो भयो,’ पुनीदेवीले कान्तिपुरसँग भनिन् । उनले अझै तीन–चार लाख खर्च हुने कुरा डाक्टरले भनेको र त्यो रकम आफूले जुटाउन सम्भव नभएको बताइन् ।

प्रकाशित : चैत्र ४, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?