२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुदूरका स्वतन्त्र मेयर- जगाउँदै भरोसा

अर्जुन शाह

धनगढी — काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङजस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका मेयर हुन्, धनगढी उपमहानगरपालिकाका गोपाल हमाल । तर स्थानीय सरकारको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि शाह र साम्पाङ सामाजिक सञ्जालमा जसरी चर्चामा आइरहे,
यिनका तुलनामा सुदूरका मेयर हमाल गुमनाम नै छन् । धनगढीका नागरिकमाझ भने उनको चर्चा कम छैन ।

सुदूरका स्वतन्त्र मेयर- जगाउँदै भरोसा

उनका निर्णयहरुको प्रशंसा भइरहेको छ, तर आलोचनाको चर्को घेराबाट पनि मुक्त छैनन् । तथापि, उनका कतिपय कामले दिएका नतिजाहरु हेर्दा ‘धनगढीको विकास आफ्नो एक मात्र ध्येय’ भएको दाबी गर्ने मेयर हमालको भनाईलाई विश्वास गर्न करै लाग्छ ।

दलको सदस्य नभएर, तर दलभन्दा पर नरहेर काम गरिरहेका हमालले समग्रमा धनगढीबासीमाझ आशाको सञ्चार गरिरहेकै छन् । सुदूरपश्चिको प्रदेशको राजधानी, मुख्य ब्यापारिक केन्द्र, शिक्षा, स्वास्थ्य लगायत तुलनात्मक रुपमा भौतिक सुविधाहरु पनि भएकाले धनगढीमा चहलपहल कायम छ ।

प्रदेशमा एउटा मात्र उपमहानगरपालिका, त्यसमाथि विगतदेखि कांग्रेसको गढ, त्यसमाथि माओवादी केन्द्रसहितका दलहरुसँगको गठबन्धनका उम्मेदवारलाई उछिनेर स्वतन्त्र उम्मेदवार हमाल मेयर बन्नुले धनगढीमा उनको लोकप्रियता प्रष्ट्याउँछ ।

त्यसो त हमाललाई काठमाडौंका बालेन वा धरानका हर्कजस्तो स्वतन्त्र नभएर कुनै दलसँग जोडिएको बुझाई राख्नेहरु पनि भेटिन्छन्। तर हमाल भने कुनै दलमा खुलेका छैनन् । न त कांग्रेस, एमाले र माओवादीले नै हमाललाई ‘स्वतन्त्र’ मेयर नै भन्ने गरेका छन् ।

हमाल भने धनगढीको विकास नै आफ्नो एकमात्रै उद्देश्य भएको दाबी गर्छन् । ‘हो, धनगढीको विकास गर्नु मेरो एउटा मात्रै उद्देश्य हो । विकासका लागि स्रोतको आवश्यकता पर्छ । स्रोत जुटाउन म सबै दलसँग मिलेर काम गरिरहेको छु,’ उनले भने, ‘किन कि मैले भोलिका लागि भोटको बाटो हेर्नु छैन । कसैलाई नजिक र कसैलाई दुरदुर गर्नु पनि आवश्यक ठानेको छैन ।’

उसो त उनले गत स्थानीय निर्वाचनबाट कैलालीमा जिल्ला समन्वय समितिमा नेतृत्व चयनका लागि गठबन्धन र एमालेको मत बराबर रहेका बेला कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई जिताउन मत दिए ।

मेयर हमाल भने त्यसमा पनि धनगढीको विकास योजना प्राप्तिको स्वार्थमा मत दिने सम्झौता गरेको दाबी गर्छन् ।

‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मत दिन आग्रह गर्नुभयो, मैले विकास योजनाको सर्त राखेँ, उहाँ मञ्जुर हुनुभयो, त्यसो हो भने म पनि मत दिन्छु भनेँ,’ उनी भन्छन्, ‘यता प्रदेश सरकारसँग पनि अर्को योजना (धनगढीको कैलाली पुलदेखि जिप्रकासम्मको मेनेरोड निर्माण गर्न) का लागि आवश्यक रकम दिनुपर्ने डिल गरेँ ।’

कसैको नजिक वा टाढा, आफ्नो र पराया भन्दा पनि धनगढीवासी सबै नागरिकको साझा बन्ने प्रयत्न गरिरहेको दाबी गर्दै आएका मेयर हमाल धनगढीको विकासका लागि महत्वपूर्ण कामहरु अघि बढिसकेको बताउँछन् ।

आफूले धनगढीमा सुरु गरेका कामहरुको लामै फेहरिस्त प्रस्तुत गर्छन् हमाल । ग्रामीण र सहरी क्षेत्रलाई अलग-अगल कलस्टरमा विभाजन गरेर विकासका कार्यक्रमलाई प्राथमिकीकरण गरेको उनको भनाइ छ । ‘सहरी क्षेत्रमा सडक लगायत भौतिक पूर्वाधारका कामहरुमा प्राथमिकतामा राखेका छौं भने ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा छन्,’ उनले भने ।

ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवालाई लक्षित गरी सुरु गरिएको ‘विशेषज्ञ वडा क्लिनिक’ को प्रभावकारितालाई उनी निकै उपलब्धीमूलक भएको बताउँछन् । विपन्न परिवारका ब्यक्तिको मृत्युमा नगरले उपलब्ध गराउने आर्थिक सहायता र प्रदान गरिने सम्मानले पनि धेरैको मन जितेको उनको दाबी छ ।

गर्मीयाममा नगरक्षेत्रका बासिन्दालाई घर-घरमै पुगेर सर्पदंशबाट जोगाउन सञ्चालन गरिएको ‘सर्प समात्ने अभियान’, आमा बचाउ अभियानलगायतका कार्यक्रमहरुले धनगढीबासीको समर्थन बटुुुलिरहेका छन् । ग्रामीण क्षेत्रमा उनी स्वास्थ्य सुधारका लागि निशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिरहेका छन् ।

विशेषज्ञ वडा क्लिनिक

हमाल मेयर निर्वाचित भएपछि उपमहानगरपालिकाले ०७९ साउन महिनादेखि महिनाको एक दिन हरेक वडामा निशुल्क सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिक विपन्न परिवारका स्थानीय बासिन्दाहरुका लागि वरदान भएको छ ।

उपमहानगरले गाउँमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराएपछि ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई धनगढीसम्म धाउनुपर्ने र ऋणकर्जा गरेर महँगो उपचार सेवा लिनुपर्ने बाध्यता हटेको छ ।

क्लिनिकमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी, आँखा र दन्त रोग विशेषज्ञले सेवा दिने गरेको उपमहानगरका स्वास्थ्य प्रमुख योगेश अवस्थीले बताए । क्लिनिकमा भिडियो एक्सरे, इसिजी, रगत जाँचहरु, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ समेत गर्ने प्रदान गर्ने गरिएको अवस्थी बताउँछन् ।

‘सम्पूर्ण सेवाहरु निशुल्क गरिएको छ,’ अवस्थीले भने ‘आर्थिक अवस्था कमजोर भएका विरामीका लागि त ठूलो सहयोग पुगेको छ । औषधी पनि निशुल्क पाइने भएकाले क्लिनिकको दिन विरामीको घुँइचो लाग्छ ।’ उनले क्लिनिकको दिन एक सय जना भन्दा बढि विरामी हुने गरेको बताए ।

मेयर हमालले ग्रामीण क्षेत्रका विपन्न परिवारहरुले आर्थिक अभावका रोग पालेर बस्नु परेको देखेर विशेषज्ञसहितको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गरेको बताए । ‘कुखुरा बेचेर उपचारका लागि धनगढीका अस्पताल आउनुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरेका हौं,’ मेयर हमाल भन्छन् ।

क्लिनिक सञ्चालनको खर्च प्रबन्धका लागि उपमहानगरले निजी क्षेत्रका उद्योग व्यवसायीसँग पनि सहकार्य गरेको छ । ‘पाँच वर्षसम्म दुई जना विशेषज्ञ चिकित्सकको शुल्क भाटभटेनी सुपर मार्केटले ब्यहोर्ने सम्झौता गरेको छ,’ मेयर हमालले भने ‘प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, धनगढीस्थित औषधी ब्यवसायी र अस्पतालहरुबाट पनि सहयोग जुटाएका छौं ।’ यस कार्यका लागि हमालले सरकरी सुविधावाफत पाउने गाडी वडा क्लिनिक सञ्चालनमा प्रयोग गराएका छन् ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार १९ वटै वडा क्लिनिकबाट हालसम्म एक लाख ५७ हजार ५३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । यस्तै चालु आर्थिक वर्षको साउन महिना यताको अवधिमा प्रयोगशाला सेवा दुई हजार ७९८, अल्ट्रासाउण्ड सेवा एक हजार ४७८, इसिजी सेवा एक हजार ४३९ जनाले सेवा लिएको उपमहानगरको तथ्यांक छ ।

‘स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट सेवा लिनेहरुको संख्या १५ हजार बढि छ । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा दुई हजार ३२४ जना गर्भवतीले सेवा लिएको अवस्थीले बताए । बेली स्वास्थ्य केन्द्रकी स्टाफनर्स इन्चार्ज मञ्जु ठकुल्लाका अनुसार गर्भवतीलाई सबैभन्दा राम्रो सुविधा पुगेको बताइन् ।

विपन्नको मृत्युमा आर्थिक सहायता र सम्मान

‘हाम्रै गाउँ-ठाउँमा दाहसंस्कार गर्न दाउरा र कात्रो किन्ने पैसा नहुने पनि थुप्रै परिवार छन् । त्यस्ता परिवारलाई नगर कार्यालयबाट थोरै सहायता रकम उपलब्ध भए त्यस्ता परिवारहरुलाई सहयोग पुग्छ भन्ने लाग्यो,’ हमालले भने ‘एक पटक मलामी गएका बेला आर्यघाटमा एउटाको चिता दाउरामा जलिरहेको र छेवैमा अर्को चिता दाउरा किन्ने पैसा नभएर टायरमा जलिरहेको देख्दा मन कटक्क भयो । त्यसपछि मैले सहायता उपलब्ध गराउने निर्णय गरेँ ।’

उपमहानगरबाट आर्थिक सहायता मात्रै होइन, क्रियाको अवधिभित्र मृतक परिवारलाई भेट्न नगर प्रमुख हमाल आफैँ पुग्छन् । दुख परेका बेला स्थानीय सरकार हाम्रो साथमा छ भनेर विश्वास दिलाउन त्यसो गर्ने गरेको उनको भनाई छ ।

उपमहानगर-१६ भादास्थित दक्षिणपुर गाउँका ३९ खुसीराम चौधरीको मृत्यु भयो । परिवारमा बृद्धावस्थाका आमाबाबु अनि बाल्यावस्थाका छोराछोरी । मधुमेह रोगका विरामी भएपनि दिनभर मजदुरी गरेर ल्याएको ज्यालाले उनको घरमा चुल्ह्रो बल्थ्यो । घरको मुख्य मान्छेको मृत्यु भएपछि उनको परिवारमा अन्तिम संस्कार गर्न पनि खर्चको अभाव थियो ।

बुवाको मृत्यु भएपछि १७ वर्षीय छोरा दामोदर चौधरीले नगरपालिकाको टोल फ्रि नम्बरमा फोन गरे । फोन गरेको आधा घण्टामा नगर प्रहरी दामोदरको घरमा पुगे । दुई जना नगर प्रहरी आफुमात्रै चौधरीको घरमा पुगेनन्, शव बहानसहित नगद पाँच हजार लिएर आए ।

‘नगर प्रहरीले पैसा दिएपछि काजक्रियामा सजिलो भयो,’ खुसीरामका आफन्त सन्तराम चौधरीले भने । विपन्न परिवारका लागि आफ्नो परम्परा र रितिरिवाज अनुसार दाउरा लगायत दाहसंस्कारका लागि आवश्यक सामग्री जुटाउन सजिलो हुदैन । त्यस अवस्थामा नगरको सहायताले त्यस्ता परिवारलाई ठूलो मद्दत पुग्ने गरेको छ ।

मृतकको घर परिवारबाट खबर प्राप्त हुनासाथ दुई जना नगर प्रहरी नगर पाँच हजार लिएर मृतकको घरमै पुग्ने गरेका छन् । त्यहाँ उनीहरुले रकम हस्तान्तरण गर्नुका साथै उपमहानगरले तयार गरेर श्रद्धाञ्जली झण्डा ओडाउँदै सलामी दिएर फर्किने गरेका छन् ।

सहायता रकम लिनका लागि उपमहानगरले सामान्य नियम बनाएको छ । नगर प्रहरीले सम्बन्धित वडाका जनप्रतिनिधिलाई पनि खबर गरेर जान्छन् । सहायता लिन चाहने परिवारले उपमहानगपालिकाको कार्यालयमा कुनै निवेदन पेश गरिरहनु पर्दैन । कार्यालयले ब्यवस्था गरेको पैशा नलाग्ने निशुल्क नम्बरमा फोन गरे पुग्छ । मृतकको अन्तिम संस्कार सुरु गर्नु अघि उपमहानगपालिकामा नगर प्रहरीलाई फोन गरे पुग्ने नियम बनाइएको छ ।

‘त्यसका लागि कुनै निवेदन पनि लेखिरहन पर्दैन,’ नगरप्रवक्ता सन्तोष मुडभरीले भने ‘अन्तिम संस्कार गरिसकेपछि खबर गरेमा भने सहायता रकम पाइदैन ।’ असोज १ गतेदेखि उपमहानगरले यो सहायता उपलब्ध गराउन थालेको हो । पुस २४ गतेसम्म उपमहानगरले १३३ जना मृतकको क्रिया खर्चका लागि सहायता रकम उपलब्ध गराएको जनाएको छ ।

सर्पदंश रोकथामको प्रयास

धनगढीले गरेको अर्को अभ्यास सर्पदंश रोकथामको प्रयास पनि हो । गर्मीयाममा यहाँका वस्तीहरुमा सर्पदंशबाट ज्यान गुमाइरहेका हुन्छन् । गएको गर्मीयामका बेला धनगढीले नगरप्रहरीलाई तालिम दिएर सर्प समातेर उद्दार गर्ने अभियान नै चलायो । ‘सर्प देखिएको घरमै पुगेर पाँच सय १६ वटा सर्पको उद्दार गर्‍यौं,’ नगरप्रहरी प्रमुख भुपेन्द्र खड्काले भने ‘नगरभित्र कुनै घरमा सर्प देखिएको खबर आउने बित्तिकै नगर प्रहरीको टोली पुग्छ र सर्पलाई समातेर टाढाको जंगलमा छोड्छौं ।’

धनगढीमा पूर्वाधार विकासका लागि चालिएका केही कदमहरुको प्रशंसा गर्नेहरु धेरै भेटिन्छन् । उनको आव्ह्रानमा धनगढी बजार क्षेत्रको मुख्य सडक वरपरका ४२८ जनाले स्वस्फूर्त रुपमा आफ्ना घरहरु भत्काए । ‘अहिलेको समयमा कुनै नेतृत्वले आव्ह्रान गर्ने बित्तिकै आफ्ना घर आफै भत्काउन तयार हुने कुरा चानचुने विश्वासले होइन,’ धनगढीका स्थानीय महेन्द्र साउँद भन्छन् । अहिले चौराहदेखि क्याम्पस रोडसम्म तिब्रगतिमा उच्च गुणस्तरको फराकिलो सडक निर्माण कार्य चलिरहेको छ ।

पछिल्लो समय धनगढीमा आगन्तुकहरुको आकर्षणमा परेको विकास भनेको यहाँको ६ लेन सडकको श्रृगारपटार पनि हो । उपमहानगरले आफ्नो क्षेत्रभित्र पर्ने गेटादेखि त्रिनगर भन्सारसम्मको क्षेत्रमा फुलका विरुवा हुर्काएर हरियाली एवं रंगीचंगी बनाएको छ । यसबाट सुदूरपश्चिमको प्रमुख ब्यापारिक तथा प्रशासनिक केन्द्र धनगढीको ६ लेन सडकको बीच भाग सुन्दर बैगैचा झैँ आकर्षक बनेको छ ।

सडकको बीचमा पुष्प प्रजातिका विरुवा रोपिएका छन् भने सडकको दुबैतर्फ नागरिक सहभागितामा बृक्षारोपण गरिएको छ । अझ, त्यस क्षेत्रमा स्मार्ट लाइटहरु लगाइएकोले रातिको समयमा सडक क्षेत्रको सुन्दरता नै बेग्लै हुने गरेको छ । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ अभियान अन्तर्गत धनगढीलाई सुन्दर नगरी बनाउने योजना सम्भव भइरहेको मेयर हमाल बताउँछन् । अहिले ६ लेनमा उपमहानगरले साइकल लेन पनि बनाएको छ ।

उपमहानगरले दमकल सेवालाई पनि छिटोछरितो र आधुनिक बनाउने प्रयास गरेको जनाएको छ । गत कार्तिकदेखि मोबाइल एप मार्फत दमकल सेवा दिन सुरु गरेको बताएको छ । ‘घरमा आगलागी भएमा धनगढी नगरवासीले दमकल बोलाउन फोन गरिराख्नु पर्दैन,’ नगर प्रहरीले भने ।

यसका साथै पुस दोस्रो सातादेखि ‘फायर बाइक‘ सेवा पनि भित्र्याएको छ । दमकल नपुग्ने सडक मार्गबाट छिटो आगलागी नियन्त्रण तथा उद्धारका लागि सो सेवा प्रभावकारी हुने उपमहानगरको दावी छ । आगलागीको घटनामा दमकल पुग्न अप्ठेरो हुने अवस्थामा ‘फायर बाइक’ प्रभावकारी हुने जनाइएको छ ।

दिर्घकालीन विकासको अर्को महत्वपूर्ण काम नगर क्षेत्रभित्र मासिएका जलाशययुक्त प्राकृतिक तालहरुको पुरानै अवस्था फर्काउने प्रयास पनि हो । उपमहानगपालिकाले आफ्नो क्षेत्रभित्र ८४ वटा तालहरु रहेको अभिलेख संकलन गरिसकेको जनाएको छ । ‘ती मध्ये २४ वटा ताल क्षेत्र नक्सामा मात्र सीमित छन्, अधिकांश ताल स्थानीयको भोगचलन छन्,’ उपमहानगरपालिकाका नापी शाखा प्रमुख भुवन शाहीले भने ‘अधिकांश तालहरु ०४० देखि ०६० सालको बीचमा अतिक्रमण भएका देखिन्छन् ।’

स्थानीय बासिन्दाले हडपेको तालको क्षेत्र खाली गराएर केही तालहरुको पुनर्भरण गर्ने कार्य सुरु भइसकेको मेयर हमालले बताए । उपमहानगरको आफ्नै स्रोत सीमित छ । तर खर्चिला परियोजनाहरुमा अर्को निकायबाट स्रोत जुटाइरहेको मेयर हमाल बताउँछन् । उनले नगर विकास कोषबाट एक अर्ब ऋण लिएर अध्याधुनिक बसपार्क निर्माण गर्ने योजना अघि बढाएका छन् ।

‘त्यसबाट अढाई हजारले रोजगारी पाउने छन्, वार्षिक १४ करोड आम्दानी हुनेछ । त्यो मध्ये ६ करोड किस्ता तिरेर ८ करोड उपमहानगरलाई आम्दानीको योजना छ,’ उनले भने, ‘हाम्रो आफ्नै त वार्षिक ५० करोड पनि विकास बजेट छैन । यस्तै यस्तै जुक्ति निकाले विकास योजना अघि बढाउने हो ।’

उपमहानगरबाट कानुन: पाउने सेवा सुविधा पनि प्रयोग नगरेको दाबीले मेयर हमाललाई मजबुत बनाएको देखिन्छ । कार्यालयबाट पाउने तलव भत्ता छात्रवृत्ति लगायत नगरकै काममा प्रयोग गर्छन् । गाडी र इन्धन सुविधा लिएका छैनन् ।

‘मैले कार्यकर्ता पाल्नु छैन । कोही कार्यकर्ता रिसाउला र भोट घट्ला भन्ने डर पनि छैन । हाम्रा लागि त नगरको स्रोत बचाउने कुरा मुख्य हो,’ उनले भने, ‘उपभोक्ता सिस्टम बन्द गरेको छु, कोटेशनमा काम दिने चलन रोक्यौं, डिपिआरका कामहरु सबै टेन्डरमा गर्छौ । यसबाट कार्यालयको रकम जोगिएको छ ।’

अब जग्गा कित्ताकाँट गरेर बाटो खोल्दा १० मिटर अनिवार्य हुनुपर्ने मेयर हमालको पछिल्लो निर्णयको वडाध्यक्षहरुबाट चर्को विरोध छ । मेयर हमाल वडाध्यक्षहरुको विरोधलाई जग्गा दलालको प्रलोभनमा भएको ठान्छन् । उनी अबको २०/३० वर्षपछि अहिलेको २० फिट बाटोको मापदण्ड नधान्ने तर्क गर्छन् । ‘आगामी पुस्तालाई हेरेर यो निर्णय गरिएको हो,’ उनले भने ‘२० फिट चौडा सडकले अब धान्दैन ।’

तर वडाध्यक्षहरु भने मेयरले ब्यक्तिगत इन्ट्रेस्टमा कार्यपालिकामा छलफल नै नगराई छलेर उक्त निर्णय गरेको दावी गर्छन । ५ नम्बरका वडाध्यक्ष गजेन्द्र शाहीले भने, ‘हरेक निर्णयमा मेयरको हस्तक्षेप हुन्छ । यो निर्णयमा पनि कार्यपालिका बैठकमा छलफल नै गराएनन् ।’

धनगढीका स्थानीय समेत रहेका सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार प्रा. डा. हेमराज पन्त धनगढीले सुरु गरेका प्रयासहरुलाई सकारात्मक ठान्छन् । ‘सडक बन्दै छ । स्वतस्फूर्त रुपमा आफ्ना घरहरु भत्काएका छन् । दमकल, वडा क्लिनिक लगायत ससाना लाग्ने तर निकै महत्वपूर्ण प्रयास हुन भन्ने लाग्छ,’ उनले भने ‘कसैका ब्यक्तिगत इन्ट्रेस्टमा हुने आलोचना बेग्लै हो ।’

सुदूरपश्चिममा सफल ब्यवसायीको परिचय, त्यसपछि साझा विवेकशील पार्टीको प्रतिनिधि । मेयर हमालको विगत जे भएपनि अहिले धनगढीको जनमतले उनलाई स्वतन्त्र मानेर मेयरको जिम्मेवारीमा पुर्‍याएपछि उनले गरिरहेका निर्णय र नतिजाहरुको स्वतन्त्र ढंगले विवेचना हुन जरुरी रहेको कतिपयको टिप्पणी छ ।

‘आफ्नो अनुकूल प्रतिकूल, आग्रह पूर्वाग्रह भन्दा पनि ठीक काममा समर्थन र गलत कदममा आलोचना गर्ने कल्चर विकास हुनु पर्छ,’ धनगढीका युवा ब्यवसायी महेन्द्रसिंह साउँद भन्छन् ‘केहीले उनको असाध्यै गुणगान गरिरहेको देखिन्छ । कतिपयले जे कुरामा पनि सत्तोसराप मात्र गरेको देख्छु । यी दुबै प्रवृत्ति ‘अति’ हुन् भन्ने लाग्छ ।’

अहिले नेपालमा नेता नेतृत्वले कर्मचारीतन्त्र विकासको बाधक रहेको आरोप लगाउँछन् । तर कर्मचारीहरु भने नेता गलत भएको दाबी गर्छन् । उही कर्मचारीतन्त्र हुँदा हिजो एक ढंगले चलेको थियो । तर आज अर्कै छ । अन्त्यमा उनलाई सोध्यौं- ‘नेपालको विकासको बाधक नेता या कर्मचारी ? मेयर हमालको जवाफ थियो- ‘प्रमुख भूमिका नेता नेतृत्वकै हो । मुहान सफा हुनुपर्छ ।’

प्रकाशित : पुस २८, २०८० १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?