२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

तराईमा मिश्रित होली

भवानी भट्ट

कञ्चनपुर — युवादेखि ज्येष्ठ नागरिकसम्म सबै एउटै घेरामा छन् । कोही होली गीत गाउँदै छन् । कोही मादल ठोक्दै छन् । यो शान्त र मौलिक रूपमा खेलिने रुपाली होलीको दृश्य हो । डडेलधुराको रुपाल क्षेत्रबाट बसाइँ सरेकाहरूले परम्परागत रूपमा खेल्दै आएको यो होलीको आफ्नै विशेषता छ । 

तराईमा मिश्रित होली

होली खेल्नेहरू बुबा बाजेदेखि छोरा नातिसम्म सबै सँगै हुन्छन् । होलीमा सहभागी सबैका घरमा पुगेर होली खेल्छन् । यो क्रम निरन्तर चलिरहेको छ । एकातर्फ पर्वको रमाइलोसँगै परम्परालाई जीवन्त राख्ने कामसमेत भइरहेको छ । ‘बुबा छोरादेखि नातिसम्म सबै सँगै होली खेल्छौं,’ जोशी भन्छन्, ‘यो हाम्रो विशेषता हो, परम्परा हस्तान्तरण पनि भइरहेको छ ।’

‘अहिले ठाउँठाउँमा रुपाली होली खेलिन्छ,’ भीमदत्त नगरपालिका ४ का ईश्वर जोशीले भने, ‘बूढापाकादेखि युवासम्म सबै सँगै होली खेल्छौं ।’ उनका अनुसार एकादशीदेखि सुरु भएको होली खेल्ने क्रम पूर्णिमाका दिनसम्मै चल्छ । होलीमा कृष्ण र रामका बारेमा गीतहरू गाइन्छन् ।

रुपाली होली मात्रै होइन विभिन्न ठाउँमा विभिन्न किसिमको होली खेलिँदै छ । विद्यार्थीदेखि विभिन्न पेसामा कार्यरतहरू आफ्नै शैलीमा होली खेलिरहेका छन् । विद्यार्थीहरूले माइक र साउन्ड बोकेर गीत गाउँदै नाच्दै होली खेल्दै रमाइलो गरिरहेका छन् । ‘नाचगान गरेर रमाउँदै होली खेलिरहेका छौं,’ भीमदत्त नगरपालिका ४ का हरिश जोशीले भने, ‘तीन/चार दिनदेखि साथीभाइ सँगै छौं, होली खेलेर संकलन भएको दक्षिणालाई सामाजिक कार्यमा लगाइनेछ ।’ उनीहरूको टोली तीन दिनदेखि होली खेलिरहेको छ ।

घरमा मात्रै होइन विद्यार्थीहरूको समूह बाटोमा समेत नाचगान गर्दै होलीमा रमाइएको देखिन्छ । एक नासको ड्रेस लगाएर अबिर दलेका युवायुवतीहरू नाचगान गर्दै होली खेलिरहेको दृश्य झनै रमाइलो छ । बटुवाहरूसमेत होलीमै झुम्मिन पग्छन् ।

चुरे फेदीको रौटेला क्षेत्रमा अछामी होलीको रौनकता छ । अछामबाट बसाइँ सराइ गरेकाहरूको बाहुल्य भएको उक्त क्षेत्रमा अछामी होली खेलिँदै छ । यहाँ पनि युवादेखि वृद्धसम्म सबै सँगै खेलिरहेका छन् ।

कञ्चनपुरमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरेकाहरूको बाहुल्य छ । विभिन्न जिल्लाबाट बसाइँ सरेकाहरूले आफ्नै मौलिक रूपमा होली खेल्दै आएका छन् । कतिपयले होलीपछि वनभोज जाने गरेका छन् । कतिपय होलीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने गरेका छन् ।

स्थानीय प्रशासनले होलीलाई शान्तिपूर्ण बनाउन माइकिङदेखि चेकजाँचमा कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत होलीलाई शान्तिपूर्ण बनाउन र जबर्जस्ती लोला हान्ने र रंग दल्ने कार्य नगर्न माइकिङ भइरहेको छ ।

प्रकाशित : फाल्गुन २३, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?