२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

डढेलोमा जलेर घाइते भएकी बालिकाको मृत्यु

कालिकोट — खाडाचक्र नगरपालिका-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको छ । उनको सोमबारै सुर्खेतस्थित गिरीघाट खोलामा दाहसंस्कार गरिएको छ ।

शुक्रबार घरमुनिको वनमा बुबासँग बाख्रा चराउन गएकी बालिका बुबा नन्दाराम चौलागाईसँगै आगोले पोलिएर घाइते भएकी थिइन् । घाइते बालिकालाई मान्म हुँदै जुम्लाबाट शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत लगिए पनि उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको आफन्त रविन्द्र चौलागाईले बताए ।

बालिकाको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पोष्टमार्टम गरेर सोमबार दिउँसो गिरीघाटमा दाहसंस्कार गरिएको हो । 'बहिनीको त ज्यान गइसक्यो,' नजिकका आफन्त रविन्द्र चाैलागाईले भने, 'कान्छो बुबाको अवस्था भने सुधारोन्मुख छ ।' घाइते नन्दरामको भने उपचार भइरहेको छ । वनमा बाख्रा चराउन गएको बेला एक्कासी तलबाट आएको आगोले दुवै बाबुछोरी पोलिएर घाइते भएका थिए ।

वनमा चराउन लिएका उनीहरुका ४५ वटा बाख्रा सबै मरेका छन् भने घरमा रहेका २ दिनका ६ वटा पाठा पनि दुध खान नपाएर मरेको छिमेकी हिरामणि चौलागाई बताए । आगोले पोलिएर घाइते भएका नन्दाराम चौलागाईको उपचारको लागि कालीकोटका स्थानीय ब्यवसायी तथा आफन्त हिरामणि चौलागाईको पहलमा नन्दाराम बचाउ अभियान संचालन गरिएको छ ।

शनिबारदेखि सोमबारसम्म फेसबुक र मान्म बजारबाट १ लाख ७० हजार १ सय ४० रुपैयाँ नगद संकलन भएको छ ।

प्रकाशित : चैत्र ५, २०८० १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?