कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

हुम्ली मार्सी भित्र्याउने चटारो 

नयाँ धानका बाला आआफ्ना घरमा राख्ने‚ कुल देवतालाई चढाउने र पिँधेर चाडबाडमा परिकार खाने चलनले किसानलाई भ्याइनभ्याइ
जनकबहादुर शाही

हुम्ला — फाँट र पाखाहरु धान पाकेर पँहेलपुर छन् । हुम्लाका किसानलाई अहिले मार्सी धान भित्र्याउने  चटारो छ ।  जिल्लामा यतिबेला मार्सी चंखेली गाउँपालिका-२ र ३ को दार्मा, मिमी र सर्केगाड-१ को तुम्चमा भित्र्याउने धेरै छन् । त्यहाँ पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ ।

हुम्ली मार्सी भित्र्याउने चटारो 

हुम्ला हिमाली जिल्ला हो । यहाँ धान ढिला पाक्छ । सबैभन्दापछि धान उत्पादन हुने भएका कारण किसानलाई यो साता काट्ने र थन्क्याउने कामको चटारो भइरहेको हो । हुम्ला जिल्लाको मार्सी धानका लागि दार्माको जिउलो (खेत) प्रख्यात छन् । चार सयभन्दा बढी घरधुरीले उक्त जिउलोमा सात सयभन्दा बढी हेक्टर खेतमा धान लगाउँछन् । 'पोहोर राम्रो फलेन‚ किसान चिन्तित थियौं । यसपालि बेस्सरी फलेको छ‚ भित्र्याउन भ्याइनभ्याइ छ,' चंखेली गाउँपालिका-२ दार्माका वडाध्यक्ष वृषबहादुर सिंहले भने । राम्रो उत्पादन भएकाले किसान हर्षित भएको उनले बताए ।

उनका अनुसार यो वर्ष धानको उत्पादन राम्रो भएकाले थोरै जमिन हुनेको पनि चारदेखि पाँच क्वीन्टल भएको छ । धेरै किसान धान काट्न र भित्र्याउन खेतमा छन् । जिल्लाकै सबैभन्दा ठूलो फाँटमा धान उत्पादन हुने भएको कारण किसानलाई काम गर्न पनि भ्याइनभ्याइ हुने गरेको सिंहले बताए ।

दार्मा जस्तै अधिकांश तुम्चको जग्गामा असार महिनामा रोपिएको धान यतिबेला पाकेर पँहेलपुर छ । यहाँ किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली छ । धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग अझै बढेको छैन । त्यसैले धान भित्र्याउन धेरै समय लाग्ने र दुःख बढी हुने सर्केगाड-१ तुम्चका किसान मंग मल्लले बताए । धान भित्र्याउन मात्रै नभइ चाहिएका बेला मलखाद, बिउबिजन, सिँचाइमा पनि समस्या हट्न सकेको छैन ।

हुम्लामा पुइैमा, गल्फागाड, मकई, तुम्च था जिउला, सर्केगाड, रोडिकोट, उनापानी जिउला, खार्पुनाथको याङच, छिप्रा, नल्ना र पिमाथाङ जिउला र सिमकोट ८ को खेल्सी जिउलामा धान बालीको उत्पादन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारन गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्छन्।

जिल्लामा चाडपर्वको समयमा नयाँ धानको चामल पिंधेर बनाइने पिठोबाट माणा, सिरौला‚ सेलरोटी जस्ता स्थानीय खानाका परिकार पकाएर खाने चलन छ । त्यसैले पनि किसानलाई धान काट्ने चटारो बढेको हो । धान काट्नु अघि नयाँ धानको पहिलो बाला काटेर आआफ्नो घरको दैलोमा र कुलदेवताको मन्दिरमा चढाएर पूजा गर्ने परम्परा पनि छ ।

हुम्लामा १३ सय हेक्टरमा धान खेती हुँदै आएको छ । सबैभन्दा बढी धान खेती चंखेली र अदानचुली गाउँपालिकामा हुन्छ भने धान नै नहुने गाउँपालिका नाम्खा रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले बताए ।

प्रकाशित : कार्तिक १३, २०८० २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?