कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जाजरकोटमा बालिका बलात्कृत

तृप्ति शाही

वीरेन्द्रनगर — जाजरकोटमा एक जना बालिका बलात्कृत भएकी छन् । जिल्लाकै ३० वर्षीय दीपक रोकायाले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजिनक भएको हो । बालिकाका बुवा गोठालो गएको र आमा उपचारका लागि भारत रहेका बेला साउन ६ गते राति बालिकामाथि बलात्कार भएको बालिकाका आफन्तले बताएका छन् ।

बालिकाका दाइ नाता पर्नेका अनुसार घटना मिलापत्रका लागि बालिकाको परिवारलाई चौतर्फी दबाब आइरहेको छ । कुशे गाउँपालिकामा घटना भएको ३ दिनपछि प्रहरीले मुद्दा दर्ता गरे पनि घटनाबारे चासो नदेखाएको उनले गुनासो गरेका छन् । कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले 'गाउँको कुरा हो गाउँमै मिलाउँ' भन्दै प्रहरीकहाँ नजान दबाब दिएको पीडित पक्षको भनाइ छ ।

उनले भने, ‘सुरुमा घटना भएपछि बालिकाका बुवालाई बलात्कार गर्ने पुरुषको आमाले तिलहरी दिएर बिहे गर्ने आश्वासन दिइन् । बालिकाका बुवाले नमानेपछि ३ लाख जति पैसा लिएर पनि आएका थिए । घटना मिलाउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबै लागिपरेका छन् । ’

सँगै बालिकालाई ई–कोन (आकस्मिक गर्भनिरोधक चक्की) खुवाउनु भनेको भिडियो पनि सार्वजिक भएको छ । 'बालिकाका बुवालाई जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर एक प्रहरीले डाक्टरले इकोन खुवाउनु भनेका छन्,' भनिएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भने उक्त घटना मिलाउन आफूले कुनै पक्षलाई दबाब नदिएको दाबी गरेका छन् । साथै आफू जिल्ला बाहिर रहेकाले घटना मिलाउने काममा आफू संलग्न नरहेको पनि बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले बालिका बलात्कारको जाहेरी आएपछि दर्ता भएर घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार २ जनालाई पक्राउ पुर्जी पनि जारी भएको छ । उनीहरु अहिलेसम्म पक्राउ भने परेका छैनन् । प्रहरी खटिएर खोजी गरिरहेको उनले बताए ।

प्रहरीले ई-कोन खानु भनेको बारे भने आफूलाई जानकारी नभएको डिएसपी रोकाले बताए ।

प्रकाशित : श्रावण १४, २०८० ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?