२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

लुम्बिनी सरकार जोगाउन मुख्यमन्त्रीको दौडधुप

नागरिक उन्मुक्तिका नेता रेशम चौधरी र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबीच बुटवलमा भेटघाट
घनश्याम गौतम

बुटवल — माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बहुमत जुटाउने प्रयासमा सक्रियता बढाएका छन् । मुख्यमन्त्री चौधरीलाई अहिले ४३ प्रदेशसभा सदस्यको साथ छ । जनता समाज पार्टी संघीय सरकारको नयाँ गठबन्धनमा सामेल भएपछि चौधरीले सरकारमै रहेको नागरिक उन्मुक्तिलाई थप मन्त्रालय दिएर भए पनि सरकार जोगाउने प्रयत्नमा लागेका छन् । उनले शनिबार नागरिक उन्मुक्तिका नेता रेशम चौधरीसहितका नेतासँग बुटवलमा गोप्य भेटघाट गरेका छन् । 

लुम्बिनी सरकार जोगाउन मुख्यमन्त्रीको दौडधुप

बुटवलको एक होटलमा कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की र प्रतिनिधिसभा सदस्य दीपक गिरी सहभागी थिए । नागरिक उन्मुक्तिबाट नेता चौधरी, नयाँ अधिवेशनबाट निर्वाचित महासचिव ठाकुरसिंह थारू, प्रदेश सरकारका मन्त्री धर्मबहादुर चौधरी छलफलमा सहभागी थिए । छलफलमा उन्मुक्तिले लुम्बिनी प्रदेशमा थप एक मन्त्री र एक राज्यमन्त्री मागेको बताइएको छ । अहिले एक मन्त्री मात्रै पाएको उन्मुक्तिले माओवादीले छोडेका अर्थ र सहरी विकासमध्ये अर्थ मन्त्रालय मागेको छ । मुख्यमन्त्री चौधरीले अन्य साना दलसँग पनि छलफल गर्ने र त्यसपछि निष्कर्षमा पुग्ने भन्दै सरकार छोडेर नहिँड्न आग्रह गरेका छन् ।

लुम्बिनीमा नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य छन् । जसपाले सरकार छाडे पनि मुख्यमन्त्री चौधरीले ४ सदस्य रहेको नागरिक उन्मुक्ति तथा ३–३ सदस्य रहेका राप्रपा, लोसपा र जनमतलाई भने सरकारमै राख्ने प्रयास गरिरहेका छन् । त्यस्तै एक स्वतन्त्र र एक सदस्य रहेको राष्ट्रिय जनमोर्चालाई पनि मुख्यमन्त्रीले सरकारमा सामेल गराउने गृहकार्यमा छन् । मधेशवादी साना दल, स्वतन्त्र र जनमोर्चालाई समेत बचाएर राख्न सके मुख्यमन्त्री चौधरीलाई कांग्रेसका २७, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जनमतका गरी ४० सदस्यको साथ छ । स्वतन्त्र र जनमोर्चाका दुई सदस्यको जसरी पनि व्यवस्थापन गर्ने भन्दै सरकार जोगाउने प्रयास गरिरहेको मुख्यमन्त्री निकट स्रोतले बतायो ।

मुख्यमन्त्री चौधरीले सरकार जोगाउने दौडधुप गरिरहँदा नयाँ गठबन्धनका एमाले र माओवादीले भने सरकार गठनलाई प्राथमिकतामा राखेका छैनन् । एमाले संसदीय दलका नेता लीला गिरी काठमाडौं पुगेर फर्के पनि लुम्बिनी प्रदेशमा कुन दलले मुख्यमन्त्री पाउने भन्ने अझै टुंगो नलागेकाले अहिले नै दौडधुप जरुरी नरहेको बताएका छन् । त्यस्तै माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै ५ दिनदेखि काठमाडौंमै छन् ।

११ सांसद रहेको माओवादीले लुम्बिनीमा सरकार गठनको विषयलाई लिएर संसदीय दलको नेता फेर्ने प्रयास पनि आन्तरिक रूपमा चलाइरहेको छ । ११ मध्ये ७ जना संसदीय दलको नेता फेर्ने निर्णयमा सहमत भएर अघि बढेको स्रोतले बतायो । ‘चौधरी सरकारमा अर्थमन्त्री रहेका धनबहादुर मास्कीलाई संसदीय दलको नेता बनाउने प्रयास भइरहेको छ,’ स्रोतले भन्यो, ‘त्यसका लागि ७ जनाले हस्ताक्षर गरेर अघि बढेका छन् ।’ माओवादीका लुम्बिनी अध्यक्ष सुदर्शन बरालले भने अहिले त्यस्तो हुनै नसक्ने बताए । ‘अहिले लुम्बिनीमा माओवादीले मुख्यमन्त्री पाएको अवस्थामा जोखबहादुर महराभन्दा अर्को हुनै सक्दैनन् । म अहिले पनि त्यसकै लागि काठमाडौंमा आएको छु,’ उनले भने, ‘त्यस्तो प्रयास भयो भने ७ जना ७ तिर हुन्छन् ।’

एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री गिरीले कांग्रेस नेता चौधरीलाई सुविधाअनुसार विश्वासको मत लिन छुट भएको बताए । अहिलेको नयाँ परिस्थितिअनुसार बुझेर नै मार्गप्रशस्त गर्दा राम्रो हुन्छ भन्ने आफूहरूको सुझाव भएको उनले बताए । ‘हामीले मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छौं, त्यो नैतिकताको कुरा पनि हो,’ उनले भने, ‘होइन, छोड्दिनँ, मैले मेरो सुविधा प्रयोग गर्छु भन्नु हुन्छ भने त्यो उहाँको अधिकार हो ।’ लुम्बिनी प्रदेशमा ८७ सदस्य छन् । राप्रपाका एक सांसद निलम्बनमा परेपछि अहिले ८६ सदस्य कायम छन् ।

सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ । नयाँ गठबन्धनमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जसपाका ३, एकीकृत समाजवादीका १ गरी अहिले ४३ सदस्यको साथ छ । माओवादीबाट विद्रोह गरी स्वतन्त्रबाट निर्वाचित एक जनाले पनि नयाँ गठबन्धनलाई साथ दिने भएकाले नयाँ गठबन्धनले पनि बहुमत आफूहरूसँगै रहेको दाबी गरिरहेको छ । त्यस्तो अवस्थामा ३ प्रदेशसभा सदस्य रहेको राप्रपा तानातानमा परिरहेको छ ।

प्रकाशित : फाल्गुन २७, २०८० ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?