रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव

सन्जु पौडेल

तिलोत्तमा — बुटवलका शिक्षा क्षेत्रका अगुवाले रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुटवलभित्रका शिक्षा क्षेत्रका अगुवासँग गरेको छलफल कार्यक्रममा क्याम्पस प्रमुख र अध्यक्षले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने थलोका रुपमा परिचित हुने अवस्था आएको भन्दै समयमै सोच विचार गर्न सुझाए ।

संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्राधिकारअनुसार रोजगार सिर्जना र आत्मनिर्भर बनाउने गरी नीति र कार्यक्रम ल्याउन उनीहरुको सुझाव छ ।

उनीहरुले विद्यार्थी न्यूनतम तह पूरा गर्नका लागिमात्रै अध्ययन गरिरहेको र विदेश जानेको संख्या दिनहुँ बढ्दै गएको भन्दै नीति कार्यक्रम ल्याउँदा गम्भीर हुन सुझाव दिए । कार्यक्रममा बोल्ने क्याम्पस प्रमुख तथा अध्यक्षहरुले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमार्फत गर्नुपर्ने काममा अलमल गरेको भन्दै अधिकार प्रयोगमा समेत चासो दिनुपर्नेमा जोड दिए । उनीहरुले शैक्षिक क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले यसतर्फ पनि सरकारी निकायले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षामा बुटवललाई अग्रणी बनाइराख्न सार्वजनिक, निजी क्षेत्रको उत्तिकै भूमिका रहने बताए । उनले बुटवल उपमहानगरपालिकाले समाधान गर्न सक्ने समस्या बुटवलबाटै समाधान गर्ने र अधिकार क्षेत्र बाहिरका समस्या संघ र प्रदेशमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बुटवलमा रोजगार सिर्जनाका लागि प्रयासरत रहेको र वैदेशिक रोजगारमा जानेलाई स्वदेशमै राख्ने गरी नीति बनाउन संघ र प्रदेशसँग समन्वय गर्ने बताए ।

प्रकाशित : चैत्र ८, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्

कावासोतीका दुई जना गोरखाको हिउँ पहिरोमा फसे, उद्धारमा कठिनाई

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका दुई जना उत्तरी गोरखाको हिउँ पहिरोमा फसेका छन् । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित लार्केपास जान हिँडेका कावासोती निवासी सौरभ खनाल र अनिता घले हिउँ पहिरोमा परी बेपत्ता भएका हुन् । 

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी पाएलगत्तै त्यहाँको प्रहरी टोलीलाई बुझ्न पठाएको जानकारी दिए । 'मेरो विद्यार्थी पनि छन् त्यहाँ । उनलाई र प्रहरीकै च्यानलबाट बुझ्न भनेको छु,' तिवारीले भने, 'उनीहरु ट्रेकिङ गएको बेला हिउँ पहिरोमा परेको भन्ने खबर छ ।' प्रहरी चौकीबाट १० घण्टा टाढा भएकाले त्यहाँ उद्धारमा कठिनाई भएको तिवारीले सुनाए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले उनीहरु धर्मपाटी भन्ने स्थान र लार्केपासको बीचमा फसेको जानकारी पाएकाले उद्धारका लागि टोली पठाएको बताए । प्रहरी टोली भएको स्थानबाट धेरै टाढा भएकाले खोज तथा उद्धारका लागि बिहीबार बिहान हेलिकप्टर पठाइने पनि उनले जानकारी दिए ।

गोरखाको ४० प्रतिशत भूभाग ओगट्ने गाउँपालिका हो चुमनुब्री । त्यसको पनि उत्तरतर्फ चीनको सीमा नजिक उनीहरु पुगेको अनुमान गरिएको छ । 'आज साँझ पनि हेलिकप्टरको प्रयास गर्‍यौं तर धेरै ढिलो भएकाले पठाउन सकेनौं,' प्रमुख जिल्ला अधिकारी भुसालले भने, 'बिहानै उद्धारका लागि हेलिकप्टर पठाउने प्रयासमा छु ।'

उनले त्यसक्षेत्रमा हिमाल आरोहण गर्ने टोलीलाई समेत उद्धारमा खटिन भनेको सुनाए ।

प्रकाशित : चैत्र ८, २०७९ २२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×