सदाशिव क्याम्पसमा नागरिक विद्यार्थी समाजको प्यानलै विजयी - लुम्बिनी - कान्तिपुर समाचार

सदाशिव क्याम्पसमा नागरिक विद्यार्थी समाजको प्यानलै विजयी 

कमल पन्थी

बर्दिया — सदाशिव बहुमुखी क्याम्पस, बारबर्दिया-६ मा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नागरिक विद्यार्थी समाजको पुरै प्यानल विजयी भएको छ । उक्त विद्यार्थी समाजको सभापतिमा रतनलाल थारु विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका आस्मा थारु पराजित भएकी छन् । रतनलालले ८० मत प्राप्त गरेका छन् भने आस्माले ४७ मत पाएकी छिन् । विद्यार्थी समाजका सचिवमा नानुमाया थारु र कोषाध्यक्षमा सविना थारु निर्वाचित भए ।

यसैगरी सदस्यमा अर्जुन थारु, अन्जली थारु, विर्सना थारु, कल्पना थारु र शिवशरण थारु विजयी भएको क्याम्पस प्रमुख कर्ण भाटले बताए । जिल्लाको अन्य आठ वटा क्याम्पसमा मतगणना भइरहेको छ ।


प्रकाशित : चैत्र ५, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

विपन्न मुस्लिमलाई राहत

लक्ष्मी साह

बारा — इस्लाम धर्मावलम्बीहरुको धार्मिक र सांस्कृतिक महापर्व रमजानलाई लक्षित गरी आइतबारदेखि खाद्यान्न वितरण सुरु गरिएको छ । 

सेवा प्रदायक संस्था जनजागरण युवा क्लब र इस्लामिक रिलिफ सोसाइटीले बाराको महागढीमाई नगरपालिका-८ बेतौना गाउँका २ सय ४७ विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरेका हुन् । यसैगरी मंगलबार सुवर्ण गाउँपालिकाको वडा नम्बर १, २, ६ र ८ मा पर्ने हर्दिया र प्रशुरामपुर गाउँका ९ सय ८८ परिवारलाई खाद्यान्न वितरण गरिने सेवा प्रदायक संस्थाले जनाएको छ ।

आउँदो बुधबार (चैत ८ गते) देखि सुरु हुने एक महिने रमजान पर्वमा प्रत्येक मुस्लिम परिवारले दिनको एक छाकमात्र खाएर रमजान पर्व मनाइने गर्छन् । आयस्रोत नभएका अतिविपन्न, अशक्त, बालबालिकासँगै वृद्धवृद्धालाई ख्याल गरेर पर्व अवधिभर उनीहरुमा खाद्यान्नको समस्या नहोस् उद्देश्यले राहत वितरण गरिएको जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवले बताए । उनकाअनुसार दुवै पालिकाका अतिविपन्न १ हजार २ सय ३५ परिवारलाई खाद्यान्न वितरण गरिन्छ । खाद्यान्न राहत सहयोगको स्रोत सेवा प्रदायक संस्था भए पनि वितरणमा स्थानीय जनप्रतिनिधिहरुलाई समेत सहभागी गराइएको छ ।

प्रतिपरिवारलाई ५ हजार ६ सय ७० रुपैयाँ पर्ने ४० केजी चामल, ५ केजी दाल, ३ लिटर खाने तेल, चिनी र नुन वितरण गरिएको हो । राहत पाएर मुस्लिम समुदाय खुसी भएका छन् । राहत वितरण गरेर मानवीय सहयोग मिलेको सोही वडाका पूर्ववडाध्यक्ष जाहिर अन्सारीले बताए ।

‘पर्वमा भौकै काम गर्न मन लाग्दैन्, कहाँबाट खाद्यान्न जुटाउने भन्ने चिन्ता थियो । अब हटेको छ,’ महागढीमाई नगरपालिका-८ बेतौना गाउँकी १० जना सदस्य रहेको परिवारकी घरमुली ५० वर्षीया रबेया खातुनले भनिन्, ‘कपडा र खाद्यान्नको चिन्ता थियो । तर घरमा बच्चाहरुलाई खाद्यान्नले राहत दिएको छ ।’ रबेयाका पति क्यान्सर रोगले बितेपछि त्यस परिवारमा आयस्रोत छैन ।

प्रकाशित : चैत्र ५, २०७९ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×