कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा आज ७ मन्त्रीको शपथग्रहण

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशका थप ७ मन्त्रीले आज शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको सिफारिसमा शनिबार ७ मन्त्री नियुक्त गर्दै जिम्मेवारी तोकेपछि शपथग्रहणको तयारी गरिएको हो ।

लुम्बिनीमा आज ७ मन्त्रीको शपथग्रहण

मुख्यमन्त्री लिला गिरीले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गरेका थिए । यसअघि पुस २७ गते लुम्बिनी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । प्रदेश प्रमुख शेरचनले आइतबार दिउँसो १ बजे दाङको देउखुरीमा शपथग्रहण गराउने गरी तयारी गरेको सरकारका प्रवक्ता एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बताए । यसअघि नियुक्त मुख्यमन्त्री गिरी, दुई मन्त्री चेतनारायण आचार्य, कृष्णा केसीसहित अब लुम्बिनी प्रदेशमा १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । मुख्यमन्त्री गिरीले १३ सदस्यीय मन्त्रिपरिषद्‌लाई घटाएर १० बनाएका छन् ।

नव गठित मन्त्रिपरिषद्‌मा एमालेका ५, माओवादी केन्द्रका ३, जनमत र राप्रपाका १/१ मन्त्री रहने छन् । एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीका अनुसार माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिला मन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेकी छन् । मन्त्री केसीले बरियाता र मन्त्रालयमा असन्तुष्टि जनाउँदै शनिबार राजीनामा दिएको चर्चा भएको थियो । तर, उनको राजिनामा पार्टी भित्रको असन्तुष्टी भन्दै पार्टी भित्रै मिलाइएको छ ।

एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्री, कपिलवस्तुका विष्णुप्रसाद पन्थी स्वास्थ्य मन्त्री, बाँकेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, प्यूठानका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् । राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । सरकारलाई समर्थन गर्दै विश्वासको मत दिएका ४ प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति, ३/३ प्रदेश सभा सदस्य रहेको जसपा र लोसपा मन्त्रिपरिषद् विस्तारमा परेका छैनन् । तीनवटै दल संघीय सरकारमा सहभागी नभएकाले प्रदेशमा पनि सहभागी नभएका हुन् । जसपा भने सरकारमा जान चाहेको अवस्थामा एमालेले पाएको मन्त्रालयबाटै मिलाउने गरी सत्ता गठबन्धनमा सहमति भएको छ ।

एमालेका आचार्य र माओवादीका केसी यसअघि नै मन्त्री नियुक्त भएर शपथग्रहण गरिसकेकाले जिम्मेवारी मात्र तोकिएको छ । लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो । माघ ५ गते मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका थिए । विश्वासको मत दिने बेला प्रदेशसभामा रहेका १० दलमध्ये ८ दलका ५६ र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । तर, मतदानमा भने ५७ प्रदेशसभा सदस्य सहभागी थिए ।

प्रकाशित : माघ २९, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?