२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

कोरला नाका १५ दिन बन्द रहने

घनश्याम खडका

म्याग्दी — मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ छोसेर स्थित कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सो नाका बिहीबारदेखि १५ दिनसम्म बन्द रहने सूचित गरेको हो ।  

कोरला नाका १५ दिन बन्द रहने

सो नाकाबाट सीमावर्ती उपल्लो मुस्ताङ्गका नागरिकले व्यापारिक सुविधा लिँदै आएका छन् । छिमेकी चीनतर्फ नयाँ वर्षसहितका चाडपर्व सुरु भएकाले अस्थायीरुपमा कोरला नाका बन्द गरिएको जनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तिब्बतमा चाडपर्व परेको र बाक्लो हिउँसमेत परेका कारण कोरला नाकाबाट व्यापारिक कारोबार समेत नभएको बताए ।

‘अन्तर्राष्ट्रिय नाका औपचारिकरुपमा बन्द हुने कुरा भएन । उता (तिब्बतमा) चाडपर्व परेको र अफसिजन परेका कारणका कोरला नाकाबाट व्यापारिक कारोबार पनि रोकिएको हो,' उनले भने, 'त्यही सूचनाका आधारमा गाउँपालिकाले बिदा भनेर सूचित गरेको होला । उपल्लो भेगका मुस्ताङ्गी पनि जाडो छल्न बेँशी झरेका छन्, त्यसकारण तत्काल लोमान्थाङ नपुग्दा नै राम्रो हुन्छ ।'

नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकाको गत कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

त्यसयता कोरला नाकाबाट उपल्लो मुस्ताङका लोमान्थाङ र लो-घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बततर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन र सामान किनबेच गर्न पाउँछन् ।

प्रकाशित : माघ २५, २०८० १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?