कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्ती जोगाउन नारायणी किनारमा तटबन्ध बनाइँदै

नारायण शर्मा

पूर्वी नवलपरासी — नारायणी नदी सिमाना रहेको पूर्वी नवलपरासी र चितवनका दुबै किनारमा तटबन्ध र ग्राभेल सडक निर्माण कार्य भइरहेको छ ।

बस्ती जोगाउन नारायणी किनारमा तटबन्ध बनाइँदै

नारायणगढस्थित नारायणी नदीको पुल तल पूर्वी नवलपरासी र चितवनतर्फका दुबै साइडमा २९ किलोमिटरको तटबन्ध निर्माणको काम सुरु भएको हो । वर्षायाममा नारायणी नदीको कटानबाट बस्ती जोगाउन दुबैतर्फ अग्लो र व्यवस्थित तटबन्ध निर्माण गरिएको बताइएको छ । साथै समानान्तर रुपमा सडक निर्माणको काम धमाधम भइरहेको छ ।

नारायणी नदीको पक्की पुलदेखि तल्लो भागतर्फको गैंडाकोट हुँदै देबचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाभित्र पर्ने जोखिमका क्षेत्रमा करिब ९ किलोमिटर तटबन्धको काम जारी छ ।

पूर्वी नवलपरासीतर्फ करिब एक अर्ब २७ करोडको लागतमा काम भइरहेको छ । यो काम हेर्ने नारायणी नदी व्यवस्थापन आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकीका अनुसार बढी जोखिम भएका पूर्वी नवलपरासीका ४ वटा नगरपालिकाका विभिन्न स्थानमा ७ मिटर अग्लो तटबन्ध निर्माणको काम भइरहेको छ ।

यही गतिमा काम हुन सके आगामी २ वर्षभित्र तटबन्धको काम सम्पन्न हुने बताइएको छ । बुढाथोकीका अनुसार नदीतर्फ ठूला ब्लक बनाएर बिछ्याइएको छ भने ब्लकबाट जमिनतर्फको उत्तरी भागमा ७ मिटर अग्लो र साढे ७ मिटर फराकिलो ग्राभेल सडक निर्माण भइरहेको छ ।

सबै काम सम्पन्न हुँदा नारायणी नदीको किनारै किनार त्रिवेणीधामदेखि नारायणी पुलसम्म करिडोरका रुपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ । तटबन्धसँगै निर्माण गरिएको ग्राभेल सडकलाई करिडोरको रुपमा विकास गर्नसकिने बताइएको छ ।

त्रिवेणीधामदेखि उत्तर पूवर्मा रहेको देवघाटसम्मको नदी किनारको क्षेत्रमा सडक बनाउँदा पर्यटकीय गतिविधि बढ्ने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।

नारायणी नदीपारि चितवनतर्फ ७ वर्षअघिबाट नै तटबन्धको काम भइरहेको छ । त्यहाँ मेघौलीदेखि नारायणगढसम्मको क्षेत्रमा २१ किलोमिटर नदी किनारमा तटबन्धको काम भइरहेको छ ।

तटबन्ध निर्माणले वर्षायाममा नदी कटानबाट बस्ती जोगिने र नदी किनारैकिनार गाडी गुड्ने सजिलो सडक उपलब्ध हुने अपेक्षा गरिएको छ ।

आगामी दुई वर्षमा दुबैतर्फको तटबन्ध र ग्राभेल सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको इन्जिनियर बुढाथोकी बताउँछन् । तटबन्ध निर्माण सकिएपछि सोही ग्राभेल सडकलाई कालोपत्रे गर्ने दिर्घकालीन योजना रहेको उनले बताए ।

यसले पर्यटक आवगमनमा समेत वृद्धि हुने स्थानीयहरूको अपेक्षा छ । साथै चितवनको देवघाटसम्म पुग्न भारतीय धार्मिक पर्यटकका लागि पनि यो बाटो उपयुक्त हुने बताइन्छ ।

प्रकाशित : जेष्ठ २४, २०८० १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?