गुप्तेश्वर क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त प्यानल विजयी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्ववियु निर्वाचन

गुप्तेश्वर क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त प्यानल विजयी

अगन्धर तिवारी

पर्वत — त्रिभुवन विश्वविद्यालय अन्तर्गत पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।

क्याम्पसमा २१२ मतदाता रहेकोमा १८५ मत खसेको थियो । जसमध्ये नेविसंघका तर्फबाट अध्यक्षका उम्मेदवार सतिश रेग्मीले १३१ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी जोश्ना कुँवरले ५३ मत ल्याइन् । मुख्य निर्वाचन अधिकृत ओमकार गिरीका अनुसार एक मत बदर भएको छ ।

अन्य पदाधिकारीतर्फ पनि नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवारहरु नै विजयी भएका छन् । सचिवमा नेविसंघका लक्ष्मण रेग्मी ११४ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी पवित्रा नेपालीले ११९ मत ल्याएर विजयी भइन् ।

सदस्यहरुमा नेविसंघकी पुजाकुमारी पोख्रेल, अखिल क्रान्तिकारीकी मनिषा परियार र अखिल क्रान्तिकारीकै सबिना क्षेत्री विजयी भएका छन् । समानुपातिकतर्फ संयुक्त प्यानलले १२९ र अनेरास्ववियुले ५५ मत ल्याएको निर्वाचन अधिकृत रमेश शर्माले बताए । बिहान साढे ७ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो १ बजे सकिएको थियो । मतपरिणाम भने साँझ करिब साढे ५ बजे सार्वजनिक भएको हो ।

पर्वतमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त १२ क्याम्पसहरु रहे पनि गुप्तेश्वर बाहेक अन्य क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेन । कुश्माकै शिवालय बहुमुखी क्यापस, ठूलीपोखरी बहुमुखी क्याम्पस, फलेवासको पर्वत, शंकरपोखरी, अन्नपूर्ण, महाशिलाको महाशिला बहुमुखी क्याम्पस लगायत जिल्लाभरका अन्य कुनै पनि क्याम्पसमा तयारी नपुगेको भन्दै स्ववियु निर्वाचन हुन सकेन ।

प्रकाशित : चैत्र ५, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटा क्याम्पसमा निर्वाचित स्ववियु पदाधिकारी, सदस्यले लिए शपथ

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा बहुमुखी क्याम्पसमा सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुले आइतबा शपथग्रहणसँगै पदभार गरेका छन् ।

क्याम्पसमा आयोजित कार्यक्रममा नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । क्याम्पसमा ५ विद्यार्थी संगठनको सहमतिमा स्ववियु कार्यसमिति चयन गरिएको थियो । अध्यक्षमा अनेरास्ववियुका सन्तोष बुढाथोकी, उपाध्यक्ष र सचिवमा नेविसंघका सुवास भण्डारी र सुवास खनाल, सहायक सचिवमा अखिल (क्रान्तिकारी)का किशोरकुमार रायमाझी र कोषाध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना चयन भएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुबाट प्रवीण खनाल, टेकेन्द्र सापकोटा, नवीन पौडेल, भूमिराज राई, सुजन सुवेदी, मुना चापागाईं र कविता विश्वकर्मा छन् । नेविसंघबाट सदस्यमा मेलिना राई, अनिश भट्टराई र अखिल (क्रान्तिकारी)बाट सदस्यमा विपिनराज थापा र निरुता थापा मगर छन् । यस्तै नेकपा एस निकट अनेरास्ववियूबाट सदस्यमा मनोज तामाङ र नानुका ठकुरी तथा समाजवादी विद्यार्थी युनियनबाट निशा राई रहेको जनाइएको छ ।

नवनियुक्त स्ववियु अध्यक्ष बुढाथोकीले शैक्षिक सवाल तथा विद्यार्थीको हकहितका लागि जुट्ने बताए । स्ववियु कार्यसमितिको कार्यावधि २ वर्षको रहेको छ । जिल्लाका अन्य ६ वटा क्याम्पसमा पनि सर्वसम्मत नेतृत्व चयन भइसकेका छन् ।

धनकुटा बहुमुखी क्याम्पससहित हिले क्याम्पस र जाल्पादेवी क्याम्पस पाख्रिवास अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पसमा नेविसंघको नेतृत्वमा र भाषा क्याम्पसमा अखिल (क्रान्तिकारी)को नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका छन् ।

धनकुटाकै गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा संगठन दर्ता नभएका कारण स्ववियु गठनको प्रक्रिया अघि बढेको छैन । तर, गोकुण्डेश्वर क्याम्पसमा नेविसंघ र बुधुक क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा स्ववियु गठन हुने सहमति पहिल्यै भइसकेको जनाइएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×