कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वतका हरेक पालिका अस्पतालमा शल्यक्रियासहितका सेवा दिन्छौं : स्वास्थ्यमन्त्री

अगन्धर तिवारी

पर्वत — स्वास्थ्यमन्त्री पदम गिरीले हरेक स्थानीय तहका पालिकास्तरीय अस्पतालमा शल्यक्रियासहितको जनशक्ति व्यवस्थापन गर्ने दाबी गरेका छन् । पर्वत उद्योग वाणिज्य संघले कुश्मामा बुधबारदेखि आयोजना गरेको सातौं पर्वत महोत्सवको उद्घाटनका अवसरमा मन्त्री गिरीले यस्तो बताएका हुन् । 

पर्वतका हरेक पालिका अस्पतालमा शल्यक्रियासहितका सेवा दिन्छौं : स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृहजिल्ला आएका गिरीले उपचार अभावकै कारण अब कोही नेपालीहरूले अकालमै मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । ‘पर्वतमा मात्रै होइन; चाहे डोडी, दार्चुला र बझाङका जनता किन नहुन्,’ उनले भने, ‘मुलुकभरका स्वास्थ्य संस्थाहरूमा जनशक्ति र उपकरणको व्यवस्था गर्नु हाम्रो मुख्य काम हुनेछ ।’

भइरहेको स्वास्थ्य बिमा पनि व्यवस्थित र जनतामैत्री हुन नसकेको गुनासो आइरहेको भन्दै उनले स्वास्थ्य बिमालाई व्यवस्थित र विपन्नका लागि निःशुल्क गर्न आफ्नो पहल हुने बताए । ‘मैले केही समय मेरो मन्त्रालयसँग सम्बन्धित समस्या के-के हुन् भनेर गम्भीर अध्ययन गरिरहेको छु । अध्ययनमा केहि समय लाग्नेछ । अध्ययन सकिसकेपछि मात्रै मैले गति लिने गरी काम थाल्नेछु ।’

हरेक व्यक्तिले काम गर्ने छोटो समय हुने र उक्त समयको महत्त्व चिनेर अघि बढ्न सकेमा मात्रै इतिहासमा नाम रहनेबारे आफूलाई राम्रो ज्ञान भएको उल्लेख गर्दै मन्त्री गिरीले इतिहासमा नाम लेख्ने गरी आफूले काम गरेर देखाउने दाबी गरे । ‘जो कोहीले पनि उपचार नपाएर अकालमा ज्यान जानुपर्ने अवस्था आएमा मलाई सिधै खबर गर्नुस् । त्यो व्यवस्थाको अन्त्य गर्न मैले सुरु गरिसकेको छु । अब उपचारकै लागि कसैले पनि अकालमा ज्यान फाल्नुपर्ने अवस्था आउनेछैन ।’

मन्त्री गिरीले आफूलाई मत दिएर बहुदलीय व्यवस्थापछि पर्वतको पहिलो मन्त्री बनाउने मतदाताहरूप्रति आभार व्यक्त गर्दै यो पाँच वर्षभित्रमा सबै पर्वतवासीले महसुस गर्ने गरी विकासको गति अघि बढाउने दाबी गरे । मन्त्री गिरीले आगामी पाँच वर्षभित्रमा पर्वतका सबै ६१ वटै वडामा कालोपत्रे सडक पुर्‍याउने बताए ।

कार्यक्रममा संविधानसभा सदस्यहरू अर्जुनप्रसाद जोशी, विकास लम्साल तथा गण्डकी प्रदेशसभाका सदस्य मित्रलाल बस्याल, भक्तबहादुर कुँवरलगायतले बोलेका थिए । स्थानीय उत्पादन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव आगामी २१ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष गोपी अधिकारीले बताए ।

प्रकाशित : माघ ११, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?