छुट्टाछुट्टै घटनामा २ जनाको मुत्यु- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुट्टाछुट्टै घटनामा २ जनाको मुत्यु

सम्झना रसाइली

तनहुँ — तनहुँमा शनिबार भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । भीरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाएका छन् ।

धमिलीकुवा सामुदायिक वनमा घाँस काट्न जाँदा भीरबाट खसेर अर्जेलको मृत्यु भएको उनले बताए ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ । उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भएका राम बेलचौतारामा डेरामा बस्दै आएका थिए । डेरामै बिरामी अवस्थामा फेला परेका रामलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएकोमा शनिबार राति करिब साढे १० बजे चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

हाइड्रोले उठीबासको त्रास

सम्झना रसाइली

तनहुँ — जलविद्युत् आयोजना निर्माणको क्रममा विस्फोट गराइँदा तनहुँमा आसपासका बस्ती प्रभावित भएका छन् । राष्ट्रिय गौरवको आयोजना १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना (तनहुँ हाइड्रोपावर) निर्माणको क्रममा गराइएको विस्फोटले नजिकका बस्तीमा असर पुगेको हो ।

तनहुँको ऋषिङ–१ काहुँशिवपुरस्थित तनहुँ जलविद्युत् आयोजनाको सुरुङ बनाइँदै । तस्बिर : सम्झना/कान्तिपुर

आयोजनाको सुरुङ खन्ने क्रममा पहाड फोड्न विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । ऋषिङ गाउँपालिका–१ छापका रामबहादुर थापाले २०७२ सालको भूकम्पबाट पनि नचर्किएका घरहरू अहिले चर्कन थालेको र जमिन पनि भासिन थालेको बताए । ‘बम विस्फोटको कम्पनले जमिन धेरै कमजोर बनिसकेको छ । घरहरू पनि चर्किएर बस्नलाई नै जोखिमयुक्त बन्दै गएका छन्,’ उनले भने, ‘विस्फोटको धूलोधूवाँले सास फेर्न पनि मुस्किल हुन्छ । बारीका हरिया सागसब्जी पनि धुलाम्मे भएका छन् । वातावरण नै प्रदूषित भएको छ । विकास गर्दा केही विनाश त हुन्छ तर मानव बस्ती नै उजाड्ने गरी गरेको विकासमा को रमाउने ?’

आयोजनाका कारण बासस्थान नै छाड्नुपर्ने हो कि भन्ने चिन्ताले सताउने गरेको स्थानीय बमबहादुर थापा बताउँछन् । ‘हाम्रा खेती गर्ने सबै जमिन कमजोर बनेका छन् । छेउबाट पहिरो गएको छ,’ उनले भने, ‘बासस्थान नै बदल्न पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ सुरुङ निर्माण कार्यले गाउँमा भएका पानीका मुलहरू पनि सुक्दै गएको उनले बताए ।

आवश्यकताअनुसार दिनको ४/५ पटक हाइड्रोमा विस्फोट गरिन्छ । विस्फोटका क्रममा आउने आवाजले बालबालिका तर्सने र धूलोका कारण स्वास्थ्यमा पनि असर गर्ने ऋषिङ–१ लोक्माकी थानीश्वारा थापाले बताइन् । ‘छोरी भर्खर ५ महिनाकी भइन्,’ उनले भने, ‘कहिले त आधिरातमा बम विस्फोट गर्छन् । धूलोको त्यस्तै सास्ती छ ।’

यस क्षेत्रमा झन्डै ५५ घर छन् । यसमध्ये पनि २२ घरलाई बढी नै क्षति पुगेको स्थानीय बताउँछन् । ऋषिङ–१ का लोक्मा, धारापानी, छाप, हुक्सेटार, ग्याजाटार, मालिंगालगायतका गाउँ बम विस्फोटबाट प्रभावित बनेका छन् । तनहुँ हाइड्रो निर्माण अघि तोकिएको प्रभावित क्षेत्रमा आफूहरू नपरेको तर निर्माणका क्रममा भएका बम विस्फोट र आउने धूलोका कारण प्रभावित बन्न पुगेको ऋषिङ–१ लोक्माका दानबहादुर थापा बताउँछन् । ‘हामी करिब डेढ वर्षदेखि प्रभावित छौं,’ उनले भने, ‘बम विस्फोटले घर चर्किएर बस्न पनि जोखिम भएको छ । पटकपटक हाइड्रोमा डेलिगेसन जाँदासमेत सुनुवाइ भएको छैन ।’ चर्किएका घरहरूमा हाइड्रोका प्राविधिकले जिप्सन र पुटिङ लगाइदिएको थापाले बताए । ‘पुनः चर्कियो भने क्षतिपूर्ति दिन्छौं भनेका छन्,’ उनले भने ।

बम विस्फोटका कारण ऋषिङ–१ का केही गाउँहरू प्रभावित भएको वडाध्यक्ष कुशबहादुर थापाले बताए । ‘केही घरहरू चर्किएका छन् । जनप्रतिनिधि र हाइड्रोका प्राविधिक संयुक्त रूपमा घरघर गएर सर्भे पनि गर्दै छौं,’ उनले भने, ‘वातावरण प्रदूषण न्यूनीकरणका लागि हाइड्रोलाई पानीको फ्लो बढाएर काम गर्न अनुरोध गरेका छौं ।’ लोक्मा, हुक्सेटार, मालिंगा लगायतका क्षेत्रका घरहरूको परीक्षण गरिसकिएको उनले बताए । उनले भने, ‘करिब ४ वटा घरलाई क्षतिपूर्ति दिने कुरा पनि भइसकेको छ ।’

ड्याम साइटमा विस्फोटक पदार्थ प्रगोग गर्दा आसपासका घरहरूमा क्षति पुग्न गएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सम्बन्धित आयोजना र प्राविधिक टोलीहरूको उपसमिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । उक्त उपसमितिबाट अन्तिम रिपोर्ट नआइसकेको उनले जनाए ।

‘बम विस्फोटकै कारणले घरहरूमा क्षति पुगेको हो भने आयोजनाले केही न केही माध्यमबाट सम्बोधन गर्नुपर्छ,’ उनले भने । विस्फोटका क्रममा हुने वायु प्रदूषण रोक्ने आयोजनाको प्रयासमा आफू पनि सन्तुष्ट नभएको प्रजिअ अर्यालले बताए । उनले भने, ‘आयोजनाबाट आउने धूलोधूवाँले वातावरण प्रदूषण हुन नदिन प्रयत्नरत छौं ।’

विस्फोटले मात्रै नभई गत असोजमा परेको झरीका कारण पनि जमिन कमजोर भई भासिन पुगेको आयोजनाका प्रमुख राजाभाइ शिल्पकारले बताए । उनले भने, ‘घर अझै चर्किए क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने छौं ।’ हाल आयोजनाको ३ वटै प्याकेजमा काम भइरहेको छ । आयोजनाको हाल बाँध, पावरहाउस, सुरुङ र प्रसारणलाइन निर्माण धमाधम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : माघ ४, २०७९ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×