कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

मदन भण्डारीको सालिक तोडफोड

टीकाप्रसाद भट्ट

रामेछाप — खाँडादेवी गाउँपालिका ५ मा निर्माण भएको मदन भण्डारीको सालिक दसैंको बेला तोडफोड भएको छ । गाउँपालिकाका अनुसार पकरवासको सल्लेनी वनको बिचमा रहेको उक्त सालिक अष्टमीको राति तोडफोड भएको हो । तोडफोड कसले गरेको हो अहिलेसम्म पत्ता लागेको छैन ।

मदन भण्डारीको सालिक तोडफोड

मन्थली गाल्वा सडकसँग जोडिएको मदन भण्डारी पार्कमा भण्डारीको बसेको पूर्ण कदको सालिक थियो । सालिकको एउटा खुट्टा भाँचेर फालिएको छ भने अन्य भागमा ढुंगाले प्रहार भएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले बताए ।

पर्यटन प्रवर्द्धनका लागि वाग्मती प्रदेश सरकारले भण्डारीको सालिक बनाएको थियो । प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पकरवासमा भण्डारीको सालिक निर्माणको काम थालेका थिए । उक्त सालिकको निर्माण गत वर्ष मात्रै सम्पन्न भएको थियो ।

सडक छेउमा रहेको पार्कमा गेट रहे पनि सधैं ताला लगाइँदैन । ताला लगाइए पनि यसअघि पटकपटक तोडिएको थियो । बटुवाहरुले फोटो खिच्न नपाएर ताला तोडेको अनुमान लगाइएपछि हाल पार्क भित्र जाने ढोका खुला राखिएको छ ।

जंगल बिचमा रहेको उक्त पार्कमा सुरक्षा व्यवस्था छैन । वरिपरी कसैको बसोवास समेत छैन । नेकपा एमाले र एमाले समर्थित कार्यकर्ताले भण्डारीको सालिक तोडफोड गर्ने कार्य निन्दनीय भएको बताएका छन् । सालिक विनाश गर्ने जो सुकै भएपनि खोजतलास र अनुसन्धान गरी कानुनी कारबाही गर्न एमालेले माग गरेको छ ।

प्रकाशित : कार्तिक ९, २०८० १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?