२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त आयोजनामा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ प्रदान गरिएको छ । प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार  यस वर्ष संयुक्त रूपमा दुईजना पत्रकार महिलालाई प्रदान गरिएको हो ।  

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान

दिलमाया शाही (सन्धान अनलाइन, जुम्ला, कर्णाली प्रदेश) र कमला तामाङ ‘पाख्रिन’ (कान्तिपुर टेलिभिजन, सिन्धुपाल्चोक, वाग्मती प्रदेश) नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कृत पत्रकारले जनही १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएका छन् ।

पुरस्कृत पत्रकारलाई बधाई दिँदै प्रमुख अतिथि एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे । उनले अन्य क्षेत्रमा जस्तै पत्रकारितामा पनि सुधारको आवश्यक्ता रहेको भन्दै आत्मालोचनासहित रूपान्तरण हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजासँगको निरन्तर सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको समीक्षा गर्नुपर्ने बेला आएको बताए । उनले पत्रकारले पत्रकारिताको सामान्य मूल्यमान्यतालाई आत्मसात् गरी सत्यतथ्य समाचार सम्प्रेषण गरे मात्रै पनि पत्रकारितामा सुधार हुने बताए ।

कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारी र महासचिव बाबुराम दाहालले पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजाले नेपालको पत्रकारितामा गर्दै आएको साथ र सहयोग आगामी दिनमा पनि जारी रहने प्रतिबद्धता व्यक्त गरे । पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले २ सय २३ आवेदक मध्येबाट उत्कृष्ट दुईजनालाई छनोट गरिएको बताए ।

प्रकाशित : आश्विन २५, २०८० १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?