कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरिएको प्राचीन ‘बज्रधर’ ३ दशकपछि घर ल्याइयो

बज्रधरलाई खटमा राखेर नगर परिक्रमा गराएपछि दुधले स्नान गराएर भीमेश्वर मन्दिरमा रहेको भण्डार घरको राजमुकुट पहिर्‍याइयो
हङकङबाट नेपाल ल्याइएको सम्पदालाई राष्ट्रिय संग्राहलयबाट दोलखा ल्याइएको हो । दोलखाकै नकछेंस्थित प्रधान परिवारको गुठीमा रहेको सुनौलो भैरव मास्क (मुकुन्डो) अमेरिकाको न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा फेला परेको छ ।
केदार शिवाकोटी

दोलखा — ऐतिहासिक बजार दोलखामा शुक्रबार अपराह्न निकै खुसियाली छायो । बाजागाजा र भजनसहित स्थानीयहरू एउटा प्राचीन मूर्ति पर्खिरहेका थिए ।

चोरिएको प्राचीन ‘बज्रधर’ ३ दशकपछि घर ल्याइयो

जहाँ झण्डै तीन दशकपछि घर फर्काइँदै गरिएको थियो बज्रधर इन्द्रको मूर्ति । २०५२ साल भदौ १४ गते कोर्छेको श्रेष्ठ खलकको गुठी परिवारबाट चोरी भएको १६ औं शताब्दीको बज्रधर बुद्धको मूर्ति फर्काइएको थियो । इन्द्रजात्राको ५ दिन प्रदर्शनमा देखाइने भएकाले यो सम्पदालाई इन्द्रको प्रतिमा पनि भन्ने गरिन्छ ।

मूर्तिलाई नगर परिक्रमा गराउन खट तयार पारिएको थियो । मूर्ति ल्याएपछि अघिअघि बजागाजा बीचमा खटमा राखिएको बज्रधर र पछिपछि भजन टोली नगर परिक्रमा गराइयो । मूर्ति हेर्न दोलखामा सयौं मानिस जम्मा भएका थिए । स्थानीयले लगभग बिर्सिसकेको बज्रधर हराएको तीन दशकपछि स्थानीयले घर फर्काउलान् भन्ने सायदैलाई लागेको थियो । अन्तत: शुक्रबार बज्रधरलाई २८ वर्षपछि घर ल्याइएको हो ।

‘हराएको सम्पदा यसरी घर फर्केला भनेर सोचेका पनि थिएनौं,’ स्थानीय राजेन्द्र श्रेष्ठले भने, ‘हराएको यति वर्षपछि मूर्ति आइपुगेको छ, खुसी हौं ।’ बज्रधरलाई खटमा राखेर नगर परिक्रमापछि हराएको टोलमा लगेर दुधले स्नान गराइएको थियो । भीमेश्वर मन्दिरमा रहेको भण्डार घरमा रहेको बज्रधरलाई राजमुकुट पहिर्‍याइएको थियो । राजमुकुट सम्पदामा मिलेपछि स्थानीयहरू खुसीले रमाएका थिए । कोर्छे टोलका ज्येष्ठ नागरिक कृष्णकुमार श्रेष्ठले विधि विधान पूजा गरेर दूधले स्नान गरेपछि मुकुटसहित बज्रधरलाई घरको आँखीझ्यालमा लगेर सबैलाई दर्शन गराइएको थियो । माया मारिसकेको धेरै वर्षपछि बज्रधर इन्द्रको सम्पदा फर्किएको स्थानीय ज्ञानेन्द्र प्रधानले बताए ।

‘जात्रा/पर्व नै हराउला जस्तो भएको थियो मूर्ति फर्किएपछि छुट्टै रौनक छ,’ उनले भने ‘सम्पदा बस्तीका हराएका दर्जनौं यस्ता सम्पदा खोजी गरे भेटिने आशा पलाएको छ ।’

शनिबार टोलनगर परिक्रमाको ब्यानरमा लेखिएको थियो, 'जय इन्द्रसिंह देव' । जसकारण तत्कालीन अभयपुरका राजाको प्रतिमा घर फर्केको धेरैले बुझे । तर उक्त सम्पदा इन्द्रसिंह देवको हो होइन अझै अध्ययन भने भएको छैन । इतिहासका जानकारहरू उक्त सम्पदा १६ औं शताब्दीको भएको बताउँछन् । हरेक इन्द्र जात्राको ५ दिन कोर्छेस्थित श्रेष्ठ खलक परिवारको झ्यालमा राखेर प्रर्दशन गरिने गरिएको छ । जसकारण यो सम्पदालाई बज्रतारा इन्द्र भन्ने गरिएको इतिहासका जानकार तीर्थ नारायण जोशीले बताए ।

पलेटी कसेर बसेको मूर्तिको एक हातमा घण्ट र एक हातमा बज्र हात छ । बौद्ध परम्परा अनुसार बज्रयान परम्परा अर्न्तगतको मूर्ति भएकाले बुद्धको मूर्ति पनि रहेको जोशीले बताए । राज खलकमा राखिएकाले राजमुकुट लगाइएको इन्द्रदेवको मूर्ति समेत रहेको उनले बताए । ‘हातमा बज्र र घण्ट भएकाले यसलाई बज्रतारा भनिएको हो,’ उनले भने, ‘इन्द्रको समेत मूर्ति भएकाले राज खलकमा राखिने गरेकाले यस्लाई मुकुट लगाइएको हो । दोलखाका राजा इन्द्रसिंह देवको मूर्ति भने होइन ।’

दोलखामा बौद्धधर्मको बज्रयान परम्परा पनि रहेको बज्रधरको मूर्तिले प्रमाणित गरेको इतिहासका जानकार शान्तकृष्ण श्रेष्ठले बताए । ‘बज्रधरको मूर्ति प्रतिष्ठान भएसँगै बौद्धधर्म अन्तर्गत दोलखामा बज्रयान परम्पराको साइनोको अध्ययन गर्नुपर्छ,’ उनले भने, यो मूर्तिले दोलखाको नयाँ इतिहास अध्ययन अध्याय सुरु गरेको छ ।’

बज्रधारलाई इन्द्र जात्राका ५ दिन देखाइने भएकाले यसको थप अध्ययन हुनुपर्ने उनले बताए । २८ वर्षअघि राजाका रुपमा मात्रै पुज्ने गरेको मूर्ति इतिहाससहित फेला परेको जानकार सुनिल मास्केले बताए । ‘हराउन भन्दाअघि राजका रुपमा मात्रै पुजिने गरेका थियौं,' उनले भने, 'अहिले फलेला परेपछि मूर्तिको इतिहाससहित संसारको ज्योति बज्रध बुद्ध रुपमा उदाएको छ ।’

थप अध्ययन भएका राजा इन्द्रसिंह देवको थप इतिहास फेला पर्ने उनले बताए । ‘दोलखाको बारेमा अध्ययन गर्ने हो भने राजवा इन्द्रसिंह देव र बुद्धकालीन दोलखाको इतिहासको पूर्ण जानकारी पाउने छौं,' उनले भने, ‘अपुरा रहेको नेपालको पूर्ण इतिहाससमेत फेला पर्नेछ ।’ बाबुराम आर्चायले भने जस्तै दोलखाको इतिहास पूर्ण नभई नेपालको इतिहास पूर्ण नहुने उनले बताए । गत वर्ष भदौमा यो सम्पदा हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोस्सी एन्ड रोस्सीसँग संकलनमा रहेको भनेर सम्पदा खोजीको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले सूचना बाहिर ल्याएको थियो ।

त्यसपछि उक्त सम्पदालाई नेपाल ल्याउने पहल भएको थियो । हङकङबाट नेपाल ल्याइएको सम्पदालाई राष्ट्रिय संग्राहलयबाट दोलखा ल्याइएको हो । दोलखाकै नकछेंस्थित प्रधान परिवारको गुठीमा रहेको सुनौलो भैरव मास्क (मुकुन्डो) अमेरिकाको न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा फेला परेको छ । सन् १९९० को आरम्भमै भैरव मास्क हराएकोबारे सूचना बाहिर आए पनि यसको अवस्थितिबारे कुनै जानकारी थिएन । यस्तै दोलखाबाट गुठीमा राखिएका अन्य सम्पदा पनि चोरी भएका थिए । तर अझै फेला पर्न सकेका छैनन् ।

प्रकाशित : जेष्ठ २०, २०८० १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?