१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको एक दुर्गम गाउँपालिकाले स्थानीयवासी घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाले घरघरमै पुगेर बिरामी स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, कृषिलगायत एकीकृत सेवा सोमबार प्रदान गरेको हो ।

राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गत आर्थिक वर्षदेखि सुरु गरेको उक्त गापाले गाउँटोलमै पुगेर एकीकृत सेवा दिने कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कार्यक्रम निरन्तरताको क्रममा गाउँपालिकाले सोमबारबाट विभिन्न वडालाई समेटेर एकीकृत सेवा सुरु गरेको हो । पालिकाले १, २ र ३ नम्बर वडालाई समेटेर सोमबार राक्सिराङ–२ को कुडुलेमा एकीकृत घुम्ती शिविर संचालन गरेको थियो । शिविरमा सहकारी जागरण कार्यक्रमअन्तर्गत सहकारी सेवा पहुँच र उपभोग प्रवर्द्धन कार्यक्रम, कृषि विकास कार्यक्रमअन्तर्गत मिनी ट्रिलर, कम्वाइन मिल, टनेल प्लास्टिकलगायत सामग्री वितरण, पशु सेवा कार्यक्रमअन्तर्गत पशु औषधि तथा घाँसको बिउ वितरण कार्यक्रम, स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण र अपांगता जाँच र परिचयपत्र वितरण कार्यक्रम गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गरेको कार्यक्रममा ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निःशुल्क औषधिको समेत वितरण गरिएको थियो । आगामी वर्षदेखि कार्यक्रममा प्रत्येक वडामा संचालन गर्ने मल्लले जनाए । अहिले वडाहरु गाभेर कार्यक्रम संचालन गरिएको छ  । एकीकृत शिविरअन्तर्गत वैशाख १४ गते राक्सिराङ ६ को काकडा स्वास्थ्य चौकी र जुरेथुम प्राविमा कार्यक्रम निर्धारण गरिएको छ भने वैशाख १८ गते राक्सिराङ ४ को वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा दिइनेछ ।


यसैगरी वैशाख २१ गते राक्सिराङ–९ को कालिका मावि, अठारेलाई केन्द्र बनाई एकीकृत शिविर संचालन गर्ने मिति तोकिएको छ पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए । एकीकृत शिविरमा ३ सय ११ जनाको सामान्य उपचार गरिएको थियो भने २२ जना गम्भीर बिरामीलाई विशेष उपचार गरिएको थियो ।

यसैगरी ३ सय ६ जनालाई नि:शुल्क औषधि वितरण गरिएको थियो । कृषितर्फ २९० जनालाई तरकारीको बिउ वितरण गरिएको थियो । पशु सेवातर्फ २३० जनालाई घाँसको बिउ वितरण गरिएको थियो भने २५१ जना किसानलाई पशुपंक्षीका विभिन्न रोग विरुद्धका औषधि नि:शुल्क वितरण गरिएको थियो ।

शिविरमा ११ जनाको अपांगता परीक्षणको लागि निवेदन संकलन गरिएको थियो । ३ जना अपांगलाई हृवीलचियर र वैशाखीजस्ता सहायक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । १० जना ज्येष्ठ नागरिकलाई घरघरमै पुगी फलफूल, पौष्टिक आहारसहित सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तमलगायत १,२, र ३ नम्वर वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । ९ वटा वडामा विभाजित उक्त पालिकामा करिब २६ हजार जनसंख्या रहेको छ ।

प्रकाशित : वैशाख ११, २०८१ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?