नुवाकोटमा अवैध काठसहित पाँच जना पक्राउ

कृष्ण थापा

नुवाकोट — जिल्लामा अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । सूर्यगढी गाउँपालिका-३ बिसमुरेमा काठ काटिरहेको अवस्थामा दुई जना र शिवपुरी गाउँपालिका-८ मा तीन जना पक्राउ परेको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाले बताए ।

उनका अनुसार सूर्यगढी गाउँपालिका-३ बिसमुरेमा २ सय १० गोलिया र फलाँटेको एक फर्निचरबाट चिरान गरेको १ सय ६ थान सालको काठसमेत बरामद गरिएको छ ।

त्यसैगरी, शिवपुरी गाउँपालिका-८ मा बा४ख १००३ नम्बरको आइचर गाडीसहित २६ थान गोलिया सालको काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ । ककनी गाउँपालिका ८ मा अवैधरुपमा लुकाइछिपाई राखेको एक ट्रिप सालको गोलिया काठसमेत बरामद भएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

बरामद काठ र पक्राउ परेकामाथि अनुसन्धान भइरहेको वन कार्यालय नुवाकोटका प्रमुख कोइरालाले बताए ।

प्रकाशित : पुस १९, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

निजगढ र दसगजामा वन्यजन्तुको आतंक

दुई महिनाअघि निजगढ–काठमाडौं द्रूतमार्ग निर्माणमा खटिएका नेपाली सेनाको ब्यारेकमा समेत बाघ पसेको थियो । बाघसहितका वन्यजन्तु मानव बस्तीमा छिरेर सताउन थालेपछि स्थानीयहरू आतंकित छन् ।
लक्ष्मी साह

बारा — निजगढको जंगल नजिकका गाउँमा बाघ पसेर पशुचौपाया खाने, जंगली हात्ती, बँदेल, नीलगाईले बालीनालीमा क्षति पुर्‍याएपछि स्थानीय‍ आतंकित बनेका छन् । पर्सा राष्ट्रिय निकुञ्जसित जोडिएको निजगढ नगरपालिकाको वडा १ र २ सिंगौल गाउँ, वडा नं ११, १२ तथा १३ को रतनपुरी, लाल, कुलिया, डम्बरपुरलगायतका बस्तीमा ५ महिनादेखि बाघसहितका वन्यजन्तुले चौपायाहरु खाइदिँदा स्थानीयमा त्रास फैलिएको हो । 

दुई महिनाअघि निजगढ–काठमाडौं द्रूतमार्ग निर्माणमा खटिएका नेपाली सेनाको ब्यारेकमा समेत बाघ पसेको थियो । निकुञ्जसित जोडिएको उक्त क्षेत्रमा जनज्योति, तपोभूमि र पशुपति सामुदायिक वन छन् । तीनै सामुदायिक वनमा बस्ने जंगली जनावरहरुले आसपासका गाउँ पसेर आतंक मच्चाएको वडा १३ का वडाध्यक्ष सूर्यबहादुर घलानले बताए ।

‘निकुञ्जले बफर प्रतिरोधक छेकबार पनि लगाएको छैन‍ । त्यही भएर बाघ मात्र होइन, हात्ती र अन्य वन्यजन्तुले बालीनाली, केरा खेती नष्ट गर्नेदेखि बाघले यस अवधिमा कम्तीमा २० वटा बाख्रा र एउटा पाडोलाई खाइदिएको हो,’ उनले भने ।

हात्तीले पहिला-पहिला कोल्हवी र रौतहटको जंगल आसपास आतंक मच्चाए पनि अहिले यी क्षेत्रमा सताउने गरेको वडाध्यक्ष घलानले बताए । उनले भने, ‘मानिसलाई समेत कुन बेला के हुन्छ भनेर डर फैलिएको छ,’ त्यसैले वन्यजन्तुलाई रोकथाम गर्न नगरपालिकाका प्रमुख, अन्य जनप्रतिनिधिसहित निकुञ्जका अधिकारीहरुसित स्थानीयहरुबीच निजगढ नगरपालिकामा सोमबार छलफल गरिएको छ ।’ उनले क्षतिपूर्तिका लागि निकुञ्जले पहल गर्नुपर्ने माग गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले वन्यजन्तुलाई निकुञ्ज क्षेत्रभित्रै राख्न सकिने अवस्था नभए पनि सरकारीस्तरबाट सुरक्षाका उपायबारे योजना बनाउन जरुरी भएको बताए । उनका अनुसार छिमेकी जिल्ला रौतहटमा बाघले मान्छे मारेको र बाराको अमलेखगन्ज तथा कोल्हवी क्षेत्रमा कैयौंपटक मान्छेहरुमाथि आक्रमण भइसकेको छ ।

यस्तै चुरे दोहन तथा वन विनाशले त्यस क्षेत्रमा पानीको स्रोत सुक्दै गएपछि वन्यजन्तुहरु आहार र बासको लागि दसगजा (जंगलको दक्षिणी भाग) तिर गएर मानवसँगै बालीनाली नष्ट गर्न थालेको स्थानीय बताउँछन् । जंगली हात्ती, बँदेल र नीलगाईले हुलसहित पसेर क्षति पुर्‍याउन थालेको उनीहरूको भनाइ छ। ‍‘बिघाको बिघा बाली नष्ट गर्दा वन र निकुञ्जले वास्ता गरेको छैन,’ सिम्रौनगढ नगरपालिका-८ कचोर्वाका कमलेश यादवले भने ।

चुरे र जंगलमा पानीको स्रोत कम भइरहेकोले वन्यजन्तुहरु दसगजा‍तर्फ गइरहेको पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीहरु बताउँछन् ।

प्रकाशित : पुस १९, २०७९ १८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×