१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

मेनुका पौडेललाई लता मंगेशकर संगीत पुरस्कार

शंकर आचार्य

पर्सा — गायिका मेनुका पौडेल लता मंगेशकर संगीत पुरस्कारबाट सम्मानित भएकी छिन् । वीरगन्जको नगरसभा गृहमा बुधबार साँझ आयोजित समारोहमा ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कारबाट पौडेललाई सम्मानित गरिएको थियो । 

मेनुका पौडेललाई लता मंगेशकर संगीत पुरस्कार

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत देवी सहाय मिनाले पौडेललाई सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।

हनुमानी देवी नथमल वैद्य सेवा समिति वीरगन्जले २ वर्ष अघि गायिका लता मंगेशकरको निधनको २ दिनपछि यो पुरस्कार घोषणा गरेको समितिका अध्यक्ष अशोक वैद्यले बताए । उनले गायिका मंगेशकरको नाममा अर्न्तराष्ट्रिय स्तरमै घोषित यो पुरस्कार पहिलो रहेको दाबी समेत गरे ।नेपाल भारत सहयोग मन्चका अध्यक्ष समेत रहेका वैद्यले यो पुरस्कारबाट सम्मानित हुने पौडेल पहिलो कलाकर्मी भएको बताए । उनले कला/संगितको क्षेत्रमा योगदान दिने कलाकर्मीहरुलाई प्रत्येक बर्ष यो पुरस्कार दिइने बताए ।

सम्मानित भएपछि पौडेलले लता मंगेशकरको नामबाट स्थापित पुरस्कार पाउने पहिलो कलाकर्मी आफू हुन पाएकोमा गौरवान्तिव महशुस भएको बताइन् । ‘मेरो आदर्श गायिका लता मंगेशकरको नामबाट नेपालमा स्थापित पुरस्कार पाउने पहिलो कलाकर्मी हुन पाएकोमा म गौरवान्वित भएकी छुँ,’ उनले भनिन्, ‘यो पुरस्कार र सम्मानले थप जिम्मेवारी र चुनौती थपिदिएको छ ।’

प्रमुख अतिथि वीरगन्ज महानगरका मेयर सिंहले पौडेललाई वीरगन्जमा सम्मानित गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले व्यक्तिगत रुपमा पौडेललाई ५१ हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान समेत गरे । त्यसैगरी, वीरगन्ज साइक्लिङ क्लवले पनि गायिका पौडेललाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ नगद दिएको थियो । संस्थाका कोषाध्यक्ष सन्जय अग्रवालले उक्त रकम पौडेललाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित : चैत्र ८, २०८० १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?