कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

५ महिनामा साढे ५ हजारले पाए नागरिकता

पर्सा — ५ महिनाको अवधिमा यहाँ जन्मका आधारमा ५ हजार ५ सय ५० जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । गएको असार १० देखि जिल्ला प्रशासन कार्यालयले यस्तो नागरिकता वितरण सुरु गरेकामा बिहीबारसम्म यतिको संख्याले नागरिकता लिएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं कार्यालयका सूचना अधिकृत शिवप्रसाद लम्सालका अनुसार जिल्ला प्रशासन कार्यालय पर्सा र इलाका प्रशासन कार्यालय सुपौलीको समेत गरी त्यति संख्यामा नागरिकता वितरण गरेको हो । हाल दैनिक सरदर १५ देखि २० जनाले यस्तो नागरिकता कार्यालयबाट पाइरहेको उनले बताए । विगतमा चाप भएपछि लागू गरिएको टोकन प्रणाली हाललाई स्थगन गरेर सेवाग्राही आएकै दिन नागरिकता वितरण गर्न थालिएको उनले बताए ।

यसैबीच नेपाल नागरिकता ऐन (पहिलो संशोधन) २०७९ र नेपाल नागरिकता नियमावली तेस्रो सशोधन २०८० लाई कार्यान्वयन गर्ने सन्दर्भमा विदेशी पुरुष नागरिकसँग विवाह गरेका नेपाली महिला नागरिकको सन्तानले पाउने नेपाली नागरिकताका लागि कार्यालयमा १ सय ७८ वटा निवेदन परेको लम्सालले बताए । हाल नागरिकता ऐनमा संशोधित व्यवस्था अनुसार आमाका नामबाट वंशज र अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीले पनि नागरिकता पाउने व्यवस्था रहेकामा आमाको नामबाट वंशजको नागरिकता पाउनका लागि कार्यालयमा १ सय ७८ वटा निवेदन परेको उनले बताए । ‘नयाँ व्यवस्था अनुसार आमाको वंशज नागरिकता भएको तर बुवा विदेशी नागरिक होइन भन्ने कुरो पुष्टि भए भने यस्तो दम्पतीका सन्तानले पनि वंशजका आधारमा नेपाली नागरिकता पाउछन्,’ उनले भने, ‘पति विदेशी नागरिक रहेको र तर नेपाली पत्नीसँग हाल सम्बन्ध छैन र उनीहरूका सन्तानले विदेशबाट नागरिकता लिएको छैन वा लिँदैन भने उनीहरूले अंगीकृत नेपाली नागरिकता पाउँछन् ।’

आमाको नामबाट वंशजको नागरिकता लिन चाहनेले तत्कालै जिल्ला प्रशासन कार्यालयको निर्णयबाट नागरिकता पाउँछन् । तर अंगीकृत नागरिकता लिन चाहनेको हकमा भने दाबी विरोधका लागि ७ दिनको सूचना जारी हुने र उनीहरूको हकमा गृह मन्त्रालयको निर्णयपश्चात् मात्रै उनीहरूले अंगीकृत नागरिकता पाउँछन् ।


प्रकाशित : मंसिर ८, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?