चुरेमा फेरि गाँजा खेती- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरेमा फेरि गाँजा खेती

ओमप्रकाश ठाकुर, लक्ष्मी साह, अवधेशकुमार झा

सर्लाही, बारा र राजविराज — मधेसका केही जिल्लाको चुरे क्षेत्रमा गाँजा खेती मौलाएको छ । सर्लाही, बारा र पर्सालगायत जिल्लाका दुर्गमका बस्तीहरूमा गाँजा खेती हुँदै आएको हो । लागूऔषध गाँजाको खेती, सेवन तथा कारोबार गैरकानुनी भए पनि उत्पादन रोकिएको छैन । यसरी उत्पादित गाँजा देशभित्रै र भारततर्फ तस्करी हुने गरेको छ ।


सर्लाहीको चुरे क्षेत्रमा यस वर्ष पनि गाँजा खेती मौलाएको छ । गाँजा पाकेर भित्र्याउने बेलामा भने प्रहरीले फाँड्न थालेको छ । चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको हो । सिन्धुलीसँगै सीमा जोडिएका ती बस्तीहरू जिल्लामा अति दुर्गम मानिन्छन् । विकट भएकाले पनि स्थानीयले ढुक्क भएर गाँजा खेती गर्दै आएका हुन् ।

कतिपय व्यापारीकै लगानीमा पनि यहाँ गाँजा खेती हुने गरेको छ । गाँजा खेतीमा प्रतिबन्ध लगाइए पनि अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले यो खेतीतर्फ आकर्षित भएको स्थानीयको भनाइ छ ।

बेलैमा प्रहरीले आवश्यक कदम नचाल्दा गाँजा खेती मौलाएको राजनीतिक अगुवाहरूको भनाइ छ । उनीहरूका अनुसार लागूऔषधको रूपमा रहेको गाँजा व्यापारीले किसानको जग्गा ठेक्कामा लिएर पनि लगाउने गरेका छन् । गाँजामा रोग लाग्दा हेरचाहका लागि व्यापारीहरूले भारतबाट नै जानकार बोलाउने गर्छन् । प्रहरी प्रशासनको कमजोर उपस्थितिको फाइदा उठाउँदै गाँजा खेती हुने गरेको हो । कोरोनाकालभन्दा अघि करिब ४ वर्षअगाडि यस क्षेत्रमा प्रहरीले व्यापक रूपमा गाँजाको फडानी गरेको थियो । विकट क्षेत्र भएकाले कतिपय स्थानमा प्रहरीले क्याम्प नै खडा गरेर गाँजा नष्ट पारेको थियो । तर त्यसपछि जिल्लाका प्रहरी प्रशासन नेतृत्वले गाँजा फडानीमा खासै चासो देखाएनन्, जसकारण यो खेती अहिले विस्तार भएको छ ।

यस क्षेत्रको गाँजा जिल्लाको ग्रामीण सडक हुँदै भारतसम्म पुर्‍याउने गरिएको छ । प्रहरीले बेलाबखत त्यस्ता गाँजा बरामदसमेत गर्ने गरेको छ । चार वर्षअघि नारायणखोलामा गाँजा प्रशोधन केन्द्रसमेत प्रहरीले फेला पारेको थियो । त्यहाँ ठूलो मात्रामा गाँजा पनि बरामद भएको थियो । यस वर्ष पनि प्रशोधन केन्द्रको खोजतलास भइरहेको छ । आइतबारदेखि गाँजा फडानी गर्न अभियान थालेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उक्त दिन लालबन्दी नगरपालिका–१४ नारायणखोलास्थित ८ बिघामा लगाइएको गाँजा फाँडिएको प्रहरीले जनाएको छ ।

‘कानुनले बन्देज लगाएको गाँजा खेती अभियानकै रूपमा निस्तेज पार्नेछौं,’ सुवेदीले भने । चुरेभेगका अन्य क्षेत्रमा पनि गाँजा खेती भइरहेको सूचना आइरहेकाले क्रमैसँग नष्ट गरिने उनले बताए । उनका अनुसार हरिवन, लालबन्दी र ईश्वरपुरको चुरे बस्तीका अधिकांश खेतबारीमा गाँजा खेती हुने गरेको छ । यो क्षेत्रका कतिपय स्थानमा बाहिर मकै बाली लगाएर भित्र गाँजा खेती पनि गर्ने गरिएको छ ।

मकै र केराबारीमा खेती

बारामा वर्षौंदेखि गरिँदै आएको गाँजा खेती यसपालि पनि मौलाएको छ । असोजमा ब्याड तयार गरी रोपेको गाँजा अहिले फल्ने बेला हो । यहाँ मकै र केराघारीसँगै गाँजा लगाइने गरिएको छ । प्रहरीले बर्सेनि गाँजाका बोट नष्ट गर्दै आए पनि खेती रोकिन सकेको छैन । बाराको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडको फेद र टुप्पोमा पर्ने गाउँमा गाँजा खेती हुने गरेको छ । फल्न लागेको ती गाँजा प्रहरीले नष्ट गर्न थालेका छन् । अघिल्लो मंगलबार नेपाल र सशस्त्र प्रहरीले निजगढ–१२ र १३ मा २५ कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । सशस्त्र प्रहरी १२ नम्बर गणका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीका अनुसार लुकीछिपी बारीमा र चुरेको डाँडामा लगाइएको खेती नष्ट गरिएको हो । निजगढका लाल, रतनपुरी, बुङजोर, रामथलीलगायत ठाउँमा गाँजा खेती गरिएको छ । अहिले ती क्षेत्रमा प्रहरीले गाँजा नष्ट अभियान थालेको छ ।

प्रहरीले बर्सेनि गर्ने फँडानीले नियन्त्रणमा खासै प्रभाव परेको देखिँदैन । झन् यो व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएको छ । मधेस प्रदेशको बारा, पर्सा र सर्लाही जिल्ला र वाग्मतीको मकवानपुर जिल्लाको चुरे पहाड आसपासमा गाँजा खेती हुने गरेको छ । ‘ब्याड बनाउने बेलामै नियन्त्रण गरिए नियन्त्रणको अर्थ रहन्छ, नभए गाँजा फलिसकेपछि फँडानी गर्नुको कुनै अर्थ रहँदैन,’ बाराका एक सुरक्षा अधिकारीले भने, ‘कतिसम्म खेती बढेको भन्ने उदाहरण बाराबाट लिन सकिन्छ ।’

तस्करीलाई कोसी ब्यारेज प्रयोग

गत बिहीबार सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवाभित्र लुकाएर राखिएको ८ सय १० किलो लागूऔषध गाँजा बरामद गर्‍यो । हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्टो खनेर गाँजा राखिएको थियो । पहिलो स्थानमा ३० किलोका दरले प्याक गरिएको १२ बोरा, दोस्रो स्थानमा खन्दा ९ बोरा र तेस्रो स्थानमा खन्दा ६ बोरा गरी २७ बोरामा उक्त गाँजा फेला परेको थियो । गत भदौमा सशस्त्र प्रहरीले कोसी ब्यारेजबाटै २ सय ४० किलो गाँजा नियन्त्रणमा लियो । प्लास्टिकको पोकाभित्र गाँजा राखेर ट्युबले बाँधेर भारततर्फ तस्करी गर्न कोसी नदीमा फालिएको थियो ।

गत असार ७ मा पनि अदुवा लोड गरिएको मिनी ट्रकलाई कोसी ब्यारेजमा रोकेर जाँच गर्दा १ सय ७५ किलो गाँजा भेटियो । को१ख २९२५ नम्बरको मिनी ट्रकमा गाँजा फेला परे पनि सुरक्षा घेराबाटै ट्रकमा सवार ३ जना फरार भएका थिए । गत चैत १२ मा पनि सशस्त्र प्रहरीले नै कोसी ब्यारेज क्षेत्रबाट ७८ किलो गाँजा बरामद गर्‍यो । यी तीनै मामिलामा ठूलो परिमाणमा गाँजा बरामद भए पनि कारोबारमा संलग्न भने समातिएनन् । पछिल्लो १ वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सप्तरीको कोसी ब्यारेज क्षेत्रबाट मात्र १ हजार ३ सय ९ किलो गाँजा नियन्त्रणमा लिएको छ । सुरक्षा निकायले कोसी ब्यारेज र कोसी नदीबाट गाँजा भारततर्फ तस्करी भइरहेको जनाएको छ । तर गाँजा बरामद भए पनि तस्करमा संलग्न भने फरार हुने गरेका छन् । तस्करले कोसी नदी हुँदै डुंगा र ट्युबको माध्यमबाट भारततर्फ गाँजा पुर्‍याउँदै आएका हुन् । यस्तै, भारतीय क्षेत्रबाट पनि विभिन्न सामान डुंगाबाट नेपाली क्षेत्रमा ल्याइने गरिएको छ ।

प्रकाशित : पुस २०, २०७९ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

३० हजार मेट्रिक टन युरिया ल्याइँदै

कान्तिपुर संवाददाता

पर्सा — सरकारले भारतसँग जीटूजी प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल कोलकाता बन्दरगाहमा आइपुगेको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ) ले तेस्रो मुलुकबाट मल ल्याएको हो । आरसीएफ भारतको सरकारी कम्पनी हो ।

अब बन्दरगाहमै मल प्याकिङ गरेर नेपालमा ल्याइने कृषि सामग्री कम्पनी मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारले बताए । ‘सबै मल प्याकिङ गरेर एकसाथ पठाउन सुरु गर्ने हो भने नेपालमा भित्रिन कम्तीमा दुई साता लाग्छ,’ कुमारले भने, ‘तर द्रुतगतिमा प्याकिङ गरेर पठाउने हो भने एक सातादेखि यो मल भित्रिन थाल्छ ।’ सबै मल वीरगन्ज नाका भएर भित्रिने र यहाँबाट अन्यत्र जाने उनले बताए । मल छिट्टै आए गहुँ बाली सिजनका लागि केही हदसम्म उपयोगी हुने उनले बताए । ‘मधेसमा किसानले एक चरण युरिया मल छरिसकेका छन्,’ उनले भने, ‘तर पहाडी जिल्लामा ढिलो गरी गहुँ छर्ने गरिएकाले अब माग आउँछ ।’ २ महिनायता कार्यालयले ९ हजार ३ सय ६६ मे.टन युरिया मल मातहतका डेढ दर्जन जिल्लामा परिचालन गरिसकेको उनले बताए । त्यसमध्ये पर्सामा मात्र ८ सय ५० मे.टन वितरण गरिएको छ ।

कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको ५० हजार मे.टन मल छिट्टै आउने कुमारले बताए । दुबईस्थित स्विस सिंगापुर कम्पनीले ग्लोबल टेन्डरबाट ल्याउँदै गरेको २० हजार मेटन डीएपी र ३० हजार मे.टन युरिया मल पनि पाइप लाइनमा रहेको उनले बताए । ‘स्विस सिंगापुरले यी दुवै मल ल्याउने प्रक्रिया अघि बढाइसकेको छ,’ उनले भने, ‘जीटूजीको युरिया मल आएलगत्तै यो कन्साइन्मेन्टको मल पनि आउने सम्भावना छ ।’

कम्पनीले थप २० हजार मे.टन डीएपी र २० हजार मे.टन युरिया मल खरिद गर्न ग्लोबल टेन्डर आह्वान गरिसकेको कुमारले बताए । ‘ग्लोबल टेन्डर आह्वान भइसकेको छ,’ उनले भने, ‘कुन कम्पनीले पाउने हो भनी निर्णय भइसकेको छैन ।’ यति परिमाणमा मल आउँदा पनि आउँदो वर्षे धान बाली सिजनका लागि पर्याप्त नहुने कम्पनी प्रादेशिक कार्यालयका प्रमुख चन्द्रप्रसाद चौलागाईं बताउँछन् । ‘आउँदो वर्षे धान बाली सिजनमा मलको अभाव नहोस् भन्नका लागि अहिलेदेखि नै गृहकार्य थाल्नु जरुरी छ,’ उनले भने, ‘सरकारले मलको खरिद प्रक्रियालाई प्राथमिकतामा राखेर बजेटको सुनिश्चितता अहिलेदेखि नै गर्नु आवश्यक छ ।’

प्रकाशित : पुस २०, २०७९ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×