कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उत्तरी मोरुङमा विस्तार हुँदै कफी खेती

विनोद भण्डारी

विराटनगर — उत्तरी मोरङको भोगटेनीका चन्द्र राईले पाँच वर्षअघि शिक्षण पेशा छाडेर कफी खेती थाले । छँदा-खाँदाको सरकारी जागिर छाडेर बारीमा कफी खेती सुरु गर्दा छिमेक र आफन्तले उनलाई गिज्याए पनि । तर अहिले राईले कफी खेतीबाट गरिरहेको आम्दानी देखेर पहिले गिज्याउनेहरु नै कफी खेतीमा आकर्षित भएका छन् ।

उत्तरी मोरुङमा विस्तार हुँदै कफी खेती

राईले ५० रोपनी जमिनमा कफी खेती लगाएका छन् । अहिले प्रति रोपनी वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेको उनले बताए । उनले कफी खेती थालेपछि गाउँमा कफी खेतीप्रतिको आकर्षण बढेको छ । गाउँमा अरु किसानले पनि कफी खेती लगाउन थालेका छन् । आफूलाई कफी खेती सुरु गर्दा जिस्काउने छिमेकीहरु शुक्र राई, सुन्दर राई र धनमान तामाङहरुले कफी खेती थालेको राईले बताए ।

'पहिले जागिर छोडेर कफी खेती थालेको भनेर गिज्याउने साथीहरु अहिले आफैँ कफी खेतीमा लागेका छन् । गाउँमा सिको गर्नेहरुले पनि व्यवसायिक खेती थाल्दा खुसी लाग्छ,' राईले भने ।

उनका अनुसार शुक्रले १२ रोपनी र सुन्दरले १५ रोपनीमा कफी खेती लगाएर थप ६० रोपनीमा कफी खेती लगाउने तयारी गरेका छन् । 'चन्द्र सरले शिक्षक छाडेर कफी खेती सुरु गर्दा अनौठो लागेर उनलाई गिज्याएका थियौँ,' शुक्रले भने, 'अहिले कफी खेतीबाट हुने आम्दानी देखेर सबै गाउँले उनकै सिको गर्दै कफी खेतीमा आर्कषित भएका छन् ।'

लेटाङ नगरपालिका-१ मा पर्ने भोगटेनीको साग्मा, कुवापानी, अँधेरी, वैकुण्ठे र तिखेझर्ना आसपासका सय भन्दाबढी परिवारले अहिले परम्परागत खेती छाडेर आफ्नो बारीमा व्यवसायिक कफी खेती थालेका छन् । यो स्थान लेटाङ बजारबाट झण्डै १५ किलोमिटर उत्तर धनकुटासँग जोडिएको पहाडी क्षेत्र हो ।

'५० रोपनीमा कफी खेती गर्दा पाँच वर्षपछि प्रति रोपनी एक लाखका दरले आम्दानी भइरहेको छ,' राईले भने, 'एक रोपनीमा कम्तिमा सय बोट रोपिन्छ । प्रति बोट १० केजी कफीका दाना उत्पादन हुने गरेको छ । त्यही दाना प्रशोधन नगरी प्रति केजी एक हजार रुपैयाँमा मनग्गे बिक्री हुँदै आएको छ ।'

उनका अनुसार बजारको माग नै धान्न सकिएको छैन । 'काठमाडौँ, पोखरा, चिवतनबाट कफीको दानाको माग अत्याधिक आएको छ । तर पूर्वकै सहरको माग धान्न गाह्रो समेत गाह्रो भइरहेको छ,' उनले भने ।

राई स्थानीयलाई विरुवा विक्री गर्ने र उत्पादन भएको अप्रशोधित कफीको दाना प्रतिकेजी ९० रुपैयाँमा खरिद गरी प्रशोधन गरेर विक्री पनि गर्छन् । नेपालमा अधिकांश अराविका जातको कफी लगाउने गरिएको छ ।

'कफीको पाकेको दाना(चेरी) किसानसँग प्रति किलो ९० रुपैयाँमा किनेर प्रशोधन गरेपछि प्रति किलो ५ सय रुपैयाँ सम्ममा विक्री हुन्छ । कफी पुर्ण प्रशोधन तर धुलो बनाउन बाँकी रहेको प्रति किलो १ हजार ८०० रुपैयाँको दरले होटल-होटलमा र धुलो बनाएको कफी प्रति किलो २ हजार २ सय ५० रुपैयाँको दरले बिक्री हुन्छ,' राईले भने ।

राई आफैंले कफी नर्सरी पनि लगाएका छन् । भोगटेनीका चन्द्र राईले जस्तै राजविक्रम राई, मिक्लाजुङका कविन्द्र चाम्लिङले पनि आफ्नो बारीमा व्यवसायिक रुपमा कफी खेती लगाएका छन् ।

कफी खेती र त्यसवाट हुने आम्दानीमा आफु सन्तुष्ट रहेको चाम्लिङ बताउँछन् । गत सालभन्दा यस पटक कफी अझ फस्टाएको छ । चाम्लिङले भने, 'कफी खेतीबाट आम्दानी राम्रो भएको देखेर गाउँका सबैले बारीमा मकै, कोदो र गहुँको सट्टा कफी खेती लगाउन थालेका छन् ।

मोरङको उत्तरी भेगमा पर्ने चुरे पहाडी क्षेत्र लेटाङ, मिक्लाजुङ र केराबारी यसबेला कफी खेतीको नामले चिनिन थालेको कृषि ज्ञानकेन्द्र मोरङको भनाइ छ । मिक्लाजुङमा १ सय १० हेक्टर, लेटाङमा ३५ हेक्टर र केराबारीमा ५ हेक्टर जमिन क्षेत्र क्षेत्रफलमा कफी लगाईएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

केन्द्रका प्रमुख रामदेव सिंहका अनुसार त्यस भेगका किसानहरु उत्साहित भएर कफी खेतीमा लागेका कारण कार्यालयले कफी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत् कफी सुकाउने, ग्रेडिङ गर्ने र धुलो बनाउने मेसिन सहयोग गर्दै आएको छ ।

प्रकाशित : माघ ३, २०८० १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?