कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हेवाखोला पुगेका मन्त्री ज्वालालाई स्थानीयको गुनासो- 'भाषण होइन, पुल चाहियो'

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको बाढी प्रभावित क्षेत्र हेवा खोलामा पुगेका संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई शनिबार हिलिहाङका बाढी पीडितहरूले चाँडै बाटो खुलाइदिन आग्रह गरेका छन् । घटनास्थलको अवलोकन गर्न पुगेका मन्त्री ज्वालासँग स्थानीयहरूले आक्रोश व्यक्त गरे ।

हेवाखोला पुगेका मन्त्री ज्वालालाई स्थानीयको गुनासो- 'भाषण होइन, पुल चाहियो'

‘भाषण त सुनेकै हो मन्त्रीज्यू, बाटो चाँडै खोलिदिनुपर्‍यो,’ हिलिहाङ ७ का प्रेम लिम्बूले भने । बाढीपहिरोले सडक अस्तव्यस्त बनेपछि आजित बनेका अरु स्थानीयहरूले पनि मन्त्री ज्वालाप्रति रोष प्रकट गरेका थिए ।

बाढीले हेवा खोलाको पुल बगाएपछि बेलिब्रिज निर्माण गर्न थालिएको छ । जहाँ उभिएर सञ्चारकर्मीसँग गफिँदै गरेका मन्त्री ज्वालाकै छेउमा पुगेर लिम्बूसहित स्थानीयहरूले प्रभावित क्षेत्रका नागरिकले हेवा खोलामा पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीयले सास्ती बेहोर्नु परेको गुनासो पोखेका थिए ।

असार २ गते रातिको अविरल वर्षासँगै आएको बाढीले हेवा खोलाको पुल बगाएपछि खोला पारिका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकासँगै समग्र ताप्लेजुङका नागरिकले सास्ती बेहोर्नु परेको भन्दै उनीहरुले मन्त्री समक्ष गुनासो पोखेका थिए ।

उनीहरुले हेवा खोला पुलसँगै पहिरोले क्षति पुर्‍याएको मेची राजमार्ग मर्मतका लागि पनि मन्त्री ज्वालासँग माग गरेका छन् । ‘मन्त्रीज्यू स्वयंले सात दिनमा बेलिब्रिज बनाएर सक्छौं भन्नुभएको थियो, १५ दिन बित्दासम्म एकतर्फको जग उठाउने काम मात्रै भएको छ, यही गतिमा काम गर्दा दुई महिनामा पनि सकिने छाँटकाँट छैन,' पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरले भने ।

पुल बगेपछि हेवा खोलामा स्थानीयले तुइन बनाएर सामग्री वारपार गरिरहेका छन् । तुइनवाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा तार्न नसक्दा ताप्लेजुङसहित हेवा पारिको पाँचथरका तीनवटा स्थानीय तहमा ग्याँस र डिजेलसहित दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएको उनले बताए ।

बाढी आएको १४ दिनपछि विभागीयमन्त्री ज्वाला यहाँको बाढी प्रभावित क्षेत्रमा शनिबार आइपुगेका हुन् ।यसैबीच मन्त्री ज्वालाले हेवा खोलामा बेलिब्रिज निर्माणमा ढिलाइ नगर्न सडक विभाग र सडक डिभजन कार्यालयलाई निर्देशन दिएका छन् । उनले हेवा खोला गड्तीरका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा पुल निर्माणमा ढिलाइ भए ठीक नहुने भन्दै सम्बद्ध कार्यालय प्रमुख र प्राविधिकहरुलाई चेतावनी दिए ।

सरकारका तर्फबाट आवश्यक बजेट र स्पष्ट निर्देशन भइसकेकाले यो वा त्यो बहानामा पुल ढिलाइ गर्ने छुट निर्माण व्यवसाय, सडक डिभिजनका प्राविधिक कर्मचारी, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि नभएको उनको भनाइ थियो ।

असार २ गते आएको बाढीले पुल बगाएपछि यातायात ठप्प हुँदा पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ सँगै समग्र ताप्लेजुङका नागरिकमा दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएको छ ।

‘मन्त्रालयले ७ दिनभित्रै काम सक्ने गरी सामग्री र प्राविधिकको व्यवस्थापन गरे पनि बेलिब्रिज निर्माण प्रक्रियाले गति लिन नसक्नु दुखद् पक्ष हो,’ उनले भने ।

यसअघि मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालय पाँचथरमा जिल्लाबाट निर्वाचित सांसद, जनप्रतिनिधिहरु, सुरक्षा निकाय र कार्यालय प्रमूखसँग भेटी मृतक र पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिन कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

मन्त्री ज्वालाले शनिबार नै पाँचथरको याङवरक १ स्थित मध्यपहाडी राजमार्गमा पर्ने दोभान पुलको पनि अवलोकन गरेका थिए । बाढीका कारण पाँचथरमा मात्रै १७ वटा पुल बगेका छन् भने ३ करोड बराबरको कृषि बाली क्षति भएको छ । यस्तै ७ सय ५० जना विस्थापित भएका छन् ।

प्रकाशित : असार १६, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?