कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कोशीमा मध्यावधिको संकट टार्ने छलफलमा राप्रपा

देवनारायण साह

मोरङ — कोशी प्रदेशमा सत्ता समीकरणको अंकगणितले मध्यावधि चुनाव अवश्यम्भावी देखिएपछि राप्रपा छलफलमा जुटेको छ । निर्णायकमध्येको दल मानिएको राप्रपाले यसपटक प्रदेशमा मध्यावधि चुनाव रोक्नका लागि छलफल सुरु गरेको हो ।

कोशीमा मध्यावधिको संकट टार्ने छलफलमा राप्रपा

राप्रपाका प्रमुख सचेतक अम्बरबहादुर विष्टले राप्रपा अहिले पनि एमाले नेतृत्वको कामचलाउ सरकारमा रहेकाले प्रदेशसभामा शुक्रबार विश्वसको मत लिने प्रस्तावको पक्षमा मत हालेर सरकार टिकाउने धर्म निर्वाह गरेको बताए ।

‘एमाले नेतृत्वको सरकार टिक्न सकेन जसले गठबन्धन दललाई सरकार बनाउने अवसर प्राप्त भएको छ,’ उनले भने, ‘गठबन्धन दलले सरकार बनाउन सक्नुभयो भने शुभकामना र बधाइ छ ।’ परिस्थिति अनुसार एमालेसँगको सहकार्यमा नै अहिलेसम्म राप्रपा रहेको हुँदा अहिले गठबन्धनलाई सघाउने नसघाउने र सरकारमा जाने नजाने छलफल नभएको विष्टको भनाइ थियो । उनले यो विषयमा पार्टीले छलफल गरेर नीति तय गर्ने बताए ।

प्रमुख सचेतक विष्टले सरकारमा सहभागी हुने नहुने भन्दा पनि प्रदेशलाई मध्यावधि चुनावमा जान नदिने राप्रपाको चाहना रहेको बताए । ‘मध्यावधि चुनावको संकट कसरी टर्छ भन्ने छलफलमा राप्रपा अहिले व्यस्त छ,’ उनले भने, ‘किनकि मध्यावधि चुनावमा जान नहुने राप्रपाको चाहना छ ।’ गठबन्धनको सरकारमा जाने वा समर्थन मात्रै गर्ने वा यो दुवै नगर्ने सम्भावना छँदैछ तर मध्यावधि रोक्नु पर्ने चाहना पूरा गर्न राप्रपाले अग्रसरता लिने विष्ट बताउँछन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको समय सीमाभित्र यी सबै छलफल भएर निष्कर्षमा पुग्ने उनले बताए ।

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा शुक्रबार एक मतको अभावमा विश्वासको मत नपाएपछि सरकार ढलेकाले गठबन्धन दल नयाँ सरकार बनाउने तयारीमा जुटेका छन् । गठबन्धन दललाई पनि स्थिर सरकार निर्माण सहज नभएकाले राप्रपाको साथ र समर्थन खोजेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीको एक गरी ४७, एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन् ।

गठबन्धन दलमध्येको जनता समाजवादीकी प्रदेश सांसद निर्मला लिम्बूले पहिचान पक्षधरको माग सम्बोधनमा प्रदेश सरकारले बेवास्ता गरेको भन्दै हिक्मतकुमार कार्की नेतृत्वको सरकारको स्वास्थ्यमन्त्रीबाट राजीनामा दिनुका साथै सरकारको समर्थनसमेत फिर्ता लिएकी थिइन् । पहिचान पक्षधरको आन्दोलन प्रतिको दृष्टिकोण कांग्रेस र माओवादीको पनि विश्वसनीय नभएको भन्दै विश्वासको मत लिने प्रस्तावमा जनता समाजवादी पार्टीले तटस्थ बस्ने नीति लिएको थियो ।

जसले प्रदेशसभामा शुक्रबार भएको मत विभाजन प्रक्रियामा अनुपस्थित भएकी जनता समाजवादीकी प्रदेश सांसद निर्मला गठबन्धन सरकारमा सहभागिताका लागि सर्त तेर्साएकी छन् । उनले आफूले उठाएका समस्या समाधानको ग्यारेन्टी नभएसम्म सरकारमा सहभागी हुने र समर्थनको औचित्य नभएको बताइन् । प्रदेश पुनः नामकरणको विषय वार्ता गरेर टुंग्याएपछि मात्रै गठबन्धन सरकारलाई समर्थन गर्ने उनको भनाइ थियो ।

जनता समाजवादीको समर्थनबिना गठबन्धन दलले सरकार गठनका लागि दाबीसमेत पेस गर्ने अवस्था छैन । सरकार गठनका लागि दाबी पेस गर्न आवश्यक ४७ प्रदेश सांसदको समर्थनका लागि जनता समाजवादीको साथ अपरिहार्य छ । तर राप्रपा गठबन्धनसँग आएपछि जनता समाजवादीले समर्थन नगरेको अवस्थामा पनि स्थिर सरकार गठन हुने एक प्रदेश सांसदको भनाइ छ ।

गठबन्धन दल कांग्रेसका नेता उद्धव थापाले जनता समाजवादी पार्टी गठबन्धन बाहिर नजाने र राप्रपालाई पनि गठबन्धनमा ल्याउन केन्द्रीय नेताहरुको तहबाट पहल भइरहेको बताए । ‘प्रदेश प्रमुख पर्शुराम खापुङ्ले सरकार गठनका लागि आह्वान गरेको समय सीमाभित्र नै स्थिर सरकार गठनका लागि गठबन्धन दल सामर्थ्यवान हुन्छ,’ उनले भने, ‘यस प्रदेशमा कसैले पनि मध्यावधि चुनाव नचाहेकाले गठबन्धन सरकारलाई मजबुत बनाएर प्रदेशको आवश्यकता अनुसार अघि बढ्छौं ।’

प्रदेशसभाबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेको सूचनाको पत्र प्राप्त भइसकेकाले सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख खापुङ्ले छलफल गरिरहेको प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले बताए । प्रदेश प्रमुख संवैधानिक र कानुनी व्यवस्था अनुसार उचित समयमा सरकार गठनका लागि आह्वान गर्ने तयारीमा रहेको पनि उनले बताए ।

प्रकाशित : असार १६, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?